Bizmandu
www.bizmandu.com

नाफा घटेपछि धमाधम ग्यास बोटलिङ प्लान्ट बिक्री, एक महिनामै नारायणी र लुम्बिनी ग्यास बिक्री

नाफा घटेपछि धमाधम ग्यास बोटलिङ प्लान्ट बिक्री, एक महिनामै नारायणी र लुम्बिनी ग्यास बिक्री


काठमाडौं। पछिल्लो एक महिनामा पूराना दुर्इवटा ग्यास बोटलिङ प्लान्ट बिक्री भएका छन्। एक महिनाकै अवधिमा चितवनमा रहेको नारायणी र नवलपरासीमा रहेको लुम्बिनी ग्यास बिक्री भइसकेको छ।
 
 


नारायणी ग्यास नेपालको सबैभन्दा पूरानो ग्यास कम्पनी नेपाल ग्यासले १५ करोडमा किन्यो भने लुम्बिनीलाई बाबा ग्यासले साढे ९ करोड रुपैयाँमा किनेको छ। नेपाल ग्यासले नारायणीको सबै व्यवस्थापन लिएर कारोबार थालिसकेको छ। लुम्बिनी किन्ने सम्झौंता बाबा ग्यास उद्योगले गरिसकेको छ। 
 
कुनै समय आकर्षक मानिएको ग्यास बोटलिङ प्लान्टबाट अहिले एकाएक उद्योगी एक्जिट हुन थालेका छन्। केही वर्ष अघिसम्म नाफा सुरक्षित रहेको क्षेत्र भन्दै हात हालेका कतिपय उद्योगीले अहिले प्लान्ट बिक्रीका लागि राखेका छन्। स्रोतका अनुसार, अहिले चलिरहेका पूराना कम्पनी पनि बिक्रीमा छन्।
 
केही वर्षअघि स्थापना भएका सबैजसो कम्पनी बिक्रीका लागि राखिएको छ।‘पहिला लहडमा ग्यास बोटलिङ प्लान्ट खोले। तर अहिले नोक्सानी हुन थालेपछि धेरैजसो प्लान्ट बिक्रीमा राखिएका छन्’ एक उद्योगीले बिजमाण्डूसँग भने, ‘पूँजी थप्नसक्ने ठूला उद्योगीलार्इ बोटलिङ प्लान्ट किन्न ती उद्योगीले आग्रह गरिरहेका छन्।‘
 
राम्रै ब्यवसायिक घरानाले समेत ग्यास बोटलिङ प्लान्ट बिक्रीका लागि राखेका छन्। ‘ग्यासमा नाफा छैन। तर उपभोक्ताको भान्छासम्म पुग्ने भएकाले सुरक्षामा बढी ध्यान दिनुपर्ने भएकाले सामान्य त्रुटीमा समेत ठूलो जोखिमको भार ब्योहोर्नुपर्ने भएकाले ठूला घरानासमेत ग्यास उद्योगबाट वाहिरिन चाहेका हुन्’ ती उद्योगीले भने, ‘नाफा नहुने तर अपजशको भारी बोक्नुभन्दा सस्तै मूल्यमा भए पनि वाहिरिन चाहेका हौं।‘ 
 
स्रोतका अनुसार, खेतान समूहले पनि एचपी ग्यास बिक्री गर्न चाहेको छ।
 
अहिले मुलुकभर ५३ वटा ग्यास बोटलिङ प्लान्ट छन्। तीमध्ये धेरै उद्योगको क्षमता साढे तीन सय टनको हाराहारीमा छ।
 
‘साढे तीन सय ग्यास बिक्री गर्ने धेरैजसो प्लान्ट नोक्सानमै छन्। नोक्सानीमा बस्नुभन्दा राम्रो उद्योगी पाएमा बिक्री गर्ने मुडमा उद्योगी छन्’ती उद्योगीले भने,त्यही भएर अहिले प्लान्ट मात्रै बिक्री गरेर भएपनि उद्योगीहरु वाहिरिरहेका छन्।‘ 
 
नारायणी र लुम्बिनी ग्यासले जग्गा वाहेक प्लान्ट र सिलिण्डर मात्रै बिक्री गरेका हुन्। दर्जनभन्दा बढी उद्योग बिक्रीमा छन्। स्रोतका अनुसार, ऋण लिएर बोटलिङ प्लान्ट लगाएका उद्योगीलार्इ किस्ता तिर्न हम्मे परिरहेको छ। कतिपयले एभरग्रिनिङ गरेर भएपनि बोटलिङ प्लान्टको क्षमता बढाउने भन्दै थेगिरहेका छन्।
 
किन आकर्षण घट्यो ग्यासमा?
कुनै समय लगानी सुरक्षित रहेको र आकर्षक प्रतिफल पाइने ग्यास बोटलिङ प्लान्ट अहिले धेरैका लागि घाँडो भएको छ।
 
‘नाफा देखेर ग्यासमा हात हालियो। तर अहिले निल्नु न ओकल्नु भएको छ’ चार वर्षअघि उद्योग राखेका एक उद्योगीले भने, ’चार वर्षदेखि कमिशन यथावत छ। तर सबै खर्च दोब्बर बढिसकेको छ। अब जति राख्यो उति नोक्सानीको ब्ययभारले थिज्दै जाने देखिएको छ।’
नेपाल ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले चार वर्षदेखि कमिशन नबढ्दा धेरै उद्योग नोक्सानीमा गएको बताउँदै धेरै उद्योगी टाट पल्टिने अवस्थामा पुगेको बताए।
 
‘विगत चार वर्षदेखि कमिशन बढेको छैन। खिलराज रेग्मीका पालामा कमिशन बढाउन सहमति भएपनि कार्यान्वयनमा आएन’ उनले बिजमाण्डूसँग भने, तर यो अवधिमा खर्च धेरै बढेको छ। यसले धेरै उद्योग घाटामा गएका छन्।‘
 
नेपाल आयल निगमले उद्योगीलार्इ  प्रतिसिलिण्डर ८७ रुपैयाँ बरौनीदेखि काठमाडौंसम्मको ढुवानी भाडा, स्थानीय ढुवानी २९ रुपैयाँ २ पैसा, डिलर कमिशन ३२ रुपैयाँ, उद्योगको संचालन खर्च ५२ रुपैयाँ ५४ पैसा, उद्योगको कमिशन ३० रुपैयाँ ५७ पैसा र प्राविधिक नोक्सानी १ रुपैयाँ ३९ पैसा गरेर २ सय ३२ रुपैयाँ ५० पैसा दिन्छ।
 
उद्योगलार्इ दिएकोमध्ये ढुवानी भाडा भारतीय ढुवानीकर्ता, डिलर कमिशन ग्यास बिक्री गर्ने डिलरले पाउँछन्। प्राविधिक नोक्सानी, उद्योग संचालन खर्च र कमिशन वापतको रकम उद्योगीले पाउँछन्।
 
२०७० सालमा अर्थशास्त्री डा.पुष्कर बर्जाचार्यको संयोजकत्वमा बनेको अध्ययन समितिले मुद्रास्फिर्ती लगायतका सबै अध्ययन गरेर उद्योगको कमिशन लगायत गरेर ५८ रुपैयाँ थप दिनुपर्ने प्रतिवेदन दिएको थियो।खिलराज रेग्मीको चुनाबी सरकार भएकाले प्रतिसिलिण्डर १९ रुपैयाँ बढाएर २ सय ३२ रुपैयाँ पुर्याइएको थियो।
 
भण्डारीले चार वर्षअघिकै आधारमा प्रतिसिलिण्डर ३९ रुपैयाँ कम हुँदा धेरै उद्योग संकटमा परेको बताए।
 
‘चुनाबी सरकार भएकाले हामीले जोडबल गरेनौ तर चार वर्षसम्म पनि कुनै निर्णय नभएपछि धेरै उद्योग संकटमा परे।क्षमता हुनेले ऋण गरेर उद्योग चलिरहेका छन्’उनले भने।