
काठमाडौं। साहसिक खेल सेवा प्रदायक कम्पनी हाइ ग्राउण्ड एड्भेन्चरले मुलुकमै पहिलोपटक सावर बन्जी सञ्चालनमा ल्याउने भएको छ।
कास्कीको हेम्जामा बन्जी, जिपलाइन लगायत विभिन्न खेल सेवा दिंदै आएको कम्पनीले करिब ५० लाख रुपैयाँको थप लगानीमा सावर बञ्जी संचालनमा ल्याउन लागेको हो।
कम्पनीका प्रबन्ध निर्देशक दिनेश महर्जनले सावर बञ्जी भोलिदेखि सञ्चालनमा ल्याउन लागेको जानकारी दिए।
‘नेपालमै पहिलोपटक सावर बञ्जी सुरु गर्न लागेका छौं। यसबाट हामी एकदमै उत्साहित छौं। सावर बञ्जी विश्वमै अनौठो प्रडक्ट हो,’ उनले भने।
कम्पनीमा महर्जनका अलावा शरद गोल्छा, भरत गोल्छा, अभिनव चुरिवालको लगानी छ।
सावर बन्जी गर्न चाहनेले ६ हजार ५ सय रुपैयाँ शुल्क तिर्नुपर्छ। यसमा लेकसाइडदेखि हेम्जासम्मको दुईतर्फी यातायात सुविधा पनि समावेश छ। कम्पनीले फोटो, भिडियो र टिसर्ट पनि उपलब्ध गराउनेछ।