गर्मी सुरु भएसँगै दुग्धजन्य पदार्थको बिक्री बढ्यो, डीडीसीद्वारा किसानलाई ४८ करोड भुक्तानी

बिजमाण्डू
२०८१ बैशाख १४ गते ११:१५ | Apr 26, 2024
गर्मी सुरु भएसँगै दुग्धजन्य पदार्थको बिक्री बढ्यो, डीडीसीद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं। दुग्ध विकास संस्थान (डीडीसी)ले किसानलाई ४८ करोड भुक्तानी गरेको छ। डीडीसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री बढेसँगै १३ दिनमा ४८ करोड रुपैयाँ रकम भुक्तानी गरेको हो।

Tata
GBIME
Nepal Life

संस्थानका निमित्त महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले गर्मी याम प्रारम्भ भएसँगै दुग्धजन्य पदार्थ (दूध, दही, मोही, पनिर, लसी, आइसक्रिम)को बिक्री बढेकाले किसानको रकम भुक्तानी गर्न सहज भएको जानकारी दिए।

‘गर्मीमा दुग्धजन्य पदार्थको बिक्रीमा ५० प्रतिशतले बढेकाले नगद प्रवाह बढेको र कृषक भुक्तानीलगायत अन्य भुक्तानीमा क्रमिक रूपले सहज भएको छ,’ अधिकारीले भने।

डीडीसीले वैशाख लागेपछि विराटनगर क्षेत्रमा १० करोड रुपैयाँ, जनकपुर क्षेत्रमा १ करोड रुपैयाँ, हेटौँडा क्षेत्रमा ८ करोड रुपैयाँ, लुम्बिनी क्षेत्रमा ४ करोड २५ लाख रुपैयाँ, नेपालगञ्ज क्षेत्रमा २ करोड ७५ लाख रुपैयाँ, धनगढी क्षेत्रमा १ करोड ५० लाख रुपैयाँ र काठमाडौं क्षेत्रमा १३ करोड रुपैयाँ किसानको रकम भुक्तानी गरेको हो।

डीडीसीले हेटौँडामा संचालन गरेको डीडीसी पशु आहारा उद्योगबाट किसानले दाना खरिद गरी पैसा भुक्तानी गर्न बाँकी ६ करोड रुपैयाँ रकम कट्टासमेत गरेको निमित्त महाप्रबन्धक अधिकारीले बताए। डीडीसीको हेटौँडामा संचालित पशु आहारा उद्योगबाट मासिक ५ लाख किलो दाना उत्पादन हुँदै आएको छ। रासस