पोखरा फाइनान्सको सेयर मूल्यमा लगातार उछाल किन? वित्तीय सूचक छैन राम्रो

बिजमाण्डू
२०८१ बैशाख १३ गते १५:२५ | Apr 25, 2024
पोखरा फाइनान्सको सेयर मूल्यमा लगातार उछाल किन? वित्तीय सूचक छैन राम्रो

काठमाडौं। पोखरा फाइनान्सको सेयर मूल्य लगातार दोस्रो दिन उछाल आएको छ।

Tata
GBIME
Nepal Life

नेप्से परिसूचक ३.२४ अंकले घटेको दिन बिहीबार पोखरा फाइनान्सको सेयर मूल्य ७.८९ प्रतिशत अर्थात प्रति कित्ता ४४.६० रुपैयाँ बढेर ६१० रुपैयाँ पुगेको छ।

यो कम्पनीको सेयर मूल्यमा बुधबार पोजेटिभ सर्किट लागेको थियो। पोखरा फाइनान्स बिहीबार सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनीको सूचीमा मल्टिपर्पोस फाइनान्सपछि दोस्रो नम्बरमा छ।

जबकि यो कम्पनीको सेयर मूल्य बढ्नु पर्ने कुनै कारण छैन। वित्तीय सूचक सेयरको भाउ घट्नुपर्ने खालको छ। एक साताअघि सार्वजनिक चालु वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनी १७ करोड २३ लाख रुपैयाँ घाटामा छ। प्रति सेयर आम्दानी २१.२३ रुपैयाँ ऋणात्मक छ भने खराब ऋण बढेर ७.९१ प्रतिशत पुगेको छ।

मृल्यवृद्धिका आधारमा दोस्रो नम्बरमा रहेको कम्पनी कारोबार रकमका आधारमा भने शीर्ष स्थानमा रह्‍यो। पोखरा फाइनान्सको ११ करोड २६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

नेप्से १९६५.९३ अंकमा झरेको दिन २ अर्ब ३६ करोड ६९ लाख रुपैयाँको सेयर किनबेच भएको छ। कारोबार धेरै हुने ५ कम्पनीको सूचीमा ३ वटा फाइनान्स छन्।

पोखरापछि मल्टिपर्पोस र गोर्खाज फाइनान्सको धेरै सेयर कारोबार भएको हो। सर्किट लागेर भाउ बढेको मल्टीपर्पोसको ९ करोड ४० लाख र गोर्खाज फाइनान्सको ८ करोड ६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

बिहीबार १४९ वटा कम्पनीको सेयर सस्तिँदा १५ वटै फाइनान्स कम्पनीको सेयर भाउ बढेको छ।