वित्तीय अपराध अनुसन्धानमा थप शक्तिशाली बन्दै प्रहरीः जनशक्ति अभावमा फितलो अनुसन्धान, थपिँदै बदनामी

सविन ढकाल
२०८१ बैशाख १३ गते २१:३९ | Apr 25, 2024
वित्तीय अपराध अनुसन्धानमा थप शक्तिशाली बन्दै प्रहरीः जनशक्ति अभावमा फितलो अनुसन्धान, थपिँदै बदनामी

काठमाडौं। धितोपत्र बोर्ड र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको क्षेत्राधिकारमा रहेका विषयमा पनि अनुसन्धानको जिम्मेवारी पाएसँगै नेपाल प्रहरी शक्तिशाली बन्दै गएको छ। तर कामको चाप र दक्ष जनशक्तिको तालमेल नमिल्दा अनुसन्धानमा प्रश्न पनि थपिँदै गएका छन्।

Tata
GBIME
Nepal Life

अधिकार क्षेत्र थपिए पनि अनुसन्धानका लागि पर्याप्त र दक्ष जनशक्ति नहुँदा प्रहरीमाथि प्रश्न उठ्न थालेको हो। नेपाल राष्ट्र बैकसँग समन्वय गरेर बैंकिङ कसुरका अनुसन्धान गर्दै आएको प्रहरीले अहिले धितोपत्रसँग सम्बन्धित अपराधको पनि अनुसन्धान अधिकार पाएको हो।

धितोपत्र ऐन २०६३ मा केही दफा संशोधन गरेपछि प्रहरीलाई अनुसन्धान गर्ने थप जिम्मेवारी दिइएको हो। चैत ३० गते संशोधनसहितको ऐन राजपत्रमा प्रकाशित भइसकेको छ। अनुसन्धानमा प्रहरीले बोर्डको सहयोग लिन सक्नेछ।

बोर्डमा परेको उजुरी वा जानकारीपछि आरोपीसँग कागजपत्र माग वा सोधपुछ गर्न सकिने छ। कसुर गरेको देखिएमा उजुरीको ३० दिनभित्र प्रमाणसहितको मिसिल प्रहरीलाई पठाउनुपर्ने छ।

मुद्दा चल्ने भए ३५ दिनभित्र जिल्ला अदालतमा मुद्दा दायर गर्नुपर्ने छ।

कानुनले शक्तिशाली बनाए पनि दक्ष जनशक्ति र प्राविधिक पक्षमा भने प्रहरीमा सुधार हुन सकेको छैन। प्रविधिको विकास र अपराधको शैली फेरिए पनि प्रहरीको अनुसन्धानको संरचनामा परिवर्तित छैन। प्राविधिकबाहेक विषय विज्ञताका आधारमा प्रहरीमा भर्नाको प्रक्रिया पनि छैन।

पछिल्लो समय बैंकिङ कसुर, सहकारी ठगी, अनलाइन ठगी जस्ता अनुसन्धानमा प्रहरीको क्षमतामा प्रश्न उठ्ने गरेको छ। यही अवस्थामा विशुद्ध आर्थिक पाटो जोडिएको धितोपत्रसम्बन्धी अपराधमा प्रहरीले अनुसन्धान गर्नुपर्ने छ। यसको लागि थप र तालिम प्राप्त जनशक्ति भने छैनन्।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी भीमप्रसाद ढकाल भने अनुसन्धानको लागि प्रहरीलाई ट्रेन गरिरहेको बताउँछन्। ‘हामी ट्रेनिङ गरेर सक्षम प्रहरी उत्पादन गर्दैछौं। प्रहरीले यस्तो जिम्मेवारी निभाउन सक्छ,’ डिआइजी ढकालले भने।

ठूला वित्तीय अपराध जोडिएका घटनामा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले अनुसन्धान गर्दै आएको छ। ठूला ठूला बैंकिङ घोटालादेखि जग्गा ठगीसम्म सीआइबीबाट अनुसन्धान भइरहेको छ। तर पछिल्लो समय यस्ता घटनामा सीआइबीले प्राविधिक पक्ष नबुझेको आरोप लाग्ने गरेको छ।

धितोपत्रको अनुसन्धान पनि सीआइबीलाई नै सुम्पिने नेपाल प्रहरीका उच्च अधिकारी बताउँछन्।

हण्डी, सुन तस्करी, राजस्व छलीलगायतका घटनामा समेत कतिपयमा अनुसन्धान गरिरहेको प्रहरीले बदनामी कमाइरहँदा धितोपत्र सम्बन्धित अनुसन्धान कसरी गर्छ भन्ने चासो बढेको छ।