ब्याट्री स्वापिङ प्रविधि नेपाल भित्रियो, गोगोरोको स्वापिङ सेन्टर शुक्रबारदेखि सुरु हुँदै

बिजमाण्डू
२०८१ बैशाख १२ गते १०:४४ | Apr 24, 2024
ब्याट्री स्वापिङ प्रविधि नेपाल भित्रियो, गोगोरोको स्वापिङ सेन्टर शुक्रबारदेखि सुरु हुँदै

काठमाडौं। विद्युतीय सवारीका लागि चार्जिङमा बस्ने समय नहुँदा वा ब्याट्री नै फेर्नुपर्ने विकल्पमा झट्ट सेवा दिने ब्याट्री स्वापिङ प्रविधि नेपालमा पनि भित्रिएको छ। गोगोरोको नेपालका लागि आधिकारिक बिक्रेता एमजी ग्रुप अन्तर्गतको नेबुला इनर्जीले उक्त प्रविधिको सेवा भित्र्याएको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले आगामी शुक्रबारदेखि उपत्यकामा ब्याट्री स्वापिङ सेन्टर संचालनमा ल्याउने तयारी गरेको छ। यसका साथै कम्पनीले गोगोरोको स्कुटर पनि नेपाली बजारमा शुक्रबार सार्वजनिक गर्ने योजना छ।

कम्पनीका अनुसार हाललाई पहिलो चरणमा फुडमाण्डू, दराज जस्ता बीटुबी प्लेटफर्मका लागि काम गर्ने योजना छ। ताइवानको कम्पनी गोगोरो इंक ब्याट्री स्वापिङ टेक्नलोजीको ग्लोबल लिडर हो।

यसले केही समयअघि मात्रै भारतमा आफ्ना दुई वटा इलेक्ट्रिक स्कुटरसहित ब्याट्री स्वापिङ प्रविधि सार्वजनिक गरेको थियो। पछिल्लो समय भारतमा यसको सञ्जाल बढाउन गोगोरो र हिरो मोटोकर्पबीच सहकार्य पनि भएको छ।

कम्पनीले पहिलो चरणमा क्रसओभर स्कुटर पनि ल्याएको छ। उक्त स्कुटर प्राय बीटुबी प्लेटफर्म अर्थात डेलिभरी कम्पनीहरुका लागि उत्तम मानिन्छ।

ब्याट्री स्वापिङ प्रविधि भनेको कहाँ चार्ज गर्ने र चार्जिङ स्टेसनमा बस्न समय छैन भने हतारमा के गर्ने भन्दा यसको विकल्प हो ब्याट्री स्वापिङ अर्थात ब्याट्री नै तुरुन्त अर्को राख्ने।

नेपालमा पनि पछिल्लो समय विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ। तर बिक्री भइसकेका इभीको संख्याका अनुपातमा पर्याप्त चार्जिङ स्टेसन निर्माण भइसकेको छैनन्। यस्तो अवस्थामा ब्याट्री स्वापिङको विकल्पले काम गर्छ।