दुर्गा प्रसाइँले सर्वोच्चको फैसलापछि पनि तिरेनन् कलेजको ऋण, ३ करोड तिरेर क्यान्सर हस्पिटलको पुनर्संरचना

बिजमाण्डू
२०८१ बैशाख १३ गते १५:०१ | Apr 25, 2024
दुर्गा प्रसाइँले सर्वोच्चको फैसलापछि पनि तिरेनन् कलेजको ऋण, ३ करोड तिरेर क्यान्सर हस्पिटलको पुनर्संरचना
दुर्गा प्रसाइँ

काठमाडौं। व्यवसायी दुर्गा प्रसाइँले सर्वोच्च अदालतबाट आफ्नो पक्षमा आदेश आए पनि बी एण्ड सी मेडिकल कलेजको ऋणलाई नियमित नगरेपछि बैंकहरु असुली प्रक्रियामा जाने भएका छन्।

Tata
GBIME
Nepal Life

मेडिकल कलेजको ऋणलाई नियमित बनाउन चैत मसान्तमा पुनर्संरचना/पुनर्तालिकीकरण गर्नु पर्नेमा उनले पाकेको ब्याजको १० प्रतिशत पैसा नबुझाएपछि बैंकहरु असुली प्रक्रियामा जाने भएका हुन्।

उनले क्यान्सर हस्पिटलको ऋण भने नियमित गरेका छन्। उनले मसान्तअघि नै साढे ३ करोड रुपैयाँ बुझाएर ऋण नियमित गरेका हुन्।

सर्वोच्च अदालतले गत चैत १२ गते आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश गरेपछि प्रसाइँ बैंकहरुको सम्पर्कमा पुगेका थिए।

बैंकरहरुसँग दुई/तीन चरण कुरा हुँदा उनी ऋण तिर्न तयार देखिएका थिए। तर, उनले क्यान्सर हस्पिटलको ऋण नियमित गराए पनि बी एण्ड सीको भने भुक्तानी गरेनन्। ब्याज नतिरेका कारण त्यो ऋणको पुनर्संरचना/पुनर्तालिकीकरण भएन।

‘बी एण्ड सीबाट पैसा आएको छैन। त्यो ऋण खराब कर्जामा गणना भइसकेको छ। क्रमिक रुपमा नोक्सानी व्यवस्थापनको रकम पनि छुट्याइरहेका छौं,’ बी एण्ड सीको सहवित्तीयकरणमा नेतृत्व गरेको ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले भने।

प्रसाइँले क्यान्सर हस्पिटलका लागि भने कुमारी बैंकको नेतृत्वमा ऋण लिएका छन्। त्यो ऋण भने नियमित भएको छ।
‘राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार पैसा आएपछि हामीले पुनर्संरचना/पुनर्तालिकीकरण गरिदिएका छौं,’ कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले भने।

बी एण्ड सीमा ग्लोबल आइएमई, नबिल, कुमारी, लुम्बिनी विकास बैंक र गुडविल फाइनान्सको ऋण लगानी छ। क्यान्सर हस्पिटलमा भएको ऋण लगानीमा कुमारी बैंकको नेतृत्व छ। यसमा उल्लेखितबाहेक प्रभु बैंकको पनि ऋण लगानी छ।

प्रसाइँको बी एण्ड सी कलेजलाई सम्बन्धन दिन आदेश आए पनि त्यसको पूर्णपाठ भने आइसकेको छैन। त्यही भएर बैंकहरु पनि बी एण्ड सीको विषयमा अन्योलमै छन्।

मेडिकल कलेजका लागि बैंकहरुले डेढ अर्ब रुपैयाँ ऋण दिएका थिए। प्रसाइँले मेडिकल कलेज चलाउन अर्को डेढ अर्ब चाहिने बताउँदै आएका छन्। उनको क्यान्सर हस्पिटलका लागि अर्को २० करोड रुपैयाँ चाहिन्छ।

शिक्षा मन्त्रालयले एमबीबीएस कार्यक्रम सञ्चालका लागि कलेजलाई २०६८ माघ २४ गते मनसाय पत्र प्रदान गरेको थियो। त्यसपछि बैंकहरुले कलेजमा लगानी गरेका थिए। कलेजले पूर्वाधार तयार गरी सम्बन्धनका लागि २०७३ फागुन १५ गते काठमाडौं विश्वविद्यालयसमक्ष निवेदन दिएको थियो।

निवेदन दिएको ठ्याक्कै ४ वर्षपछि अर्थात् २०७७ फागुन १२ मा काठमाडौं विश्वविद्यालयले छलफल गरी सम्बन्धन प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।

मेडिकल कलेज सञ्चालनका लागि कम्तीमा १६ बिघा जमिन, ३०० शय्याको अस्पताल, उपकरण, दैनिक बिरामीको परीक्षण, शल्यक्रिया, पुस्तकालय, विभागीय जनशक्तिलगायत पूर्वाधार आवश्यक मानिन्छ। मापदण्ड पूरा गर्न प्रसाइँले लगानी गरिसकेका थिए।

झापाको बिर्तामोडमा १८ बिघा जग्गा किनेका उनले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट साढे ५ अर्ब रुपैयाँ ऋण चलाएका थिए।

मेडिकल कलेजका लागि अहिलेसम्म करिब साढे तीन सय करोड रुपैयाँ खर्च भइसकेको प्रसाइँको दाबी छ। उनले थप ऋणका लागि आफूसँग धितो नभएको बताएका छन्।

कलेजका लागि आवश्यक पर्ने प्रोफेसर, प्रिन्सिपल र म्यानेजमेन्ट टिमको भने तयारी भइरहेको छ। व्यवस्थापन हाँक्न आफ्ना छोरालाई अगाडि सार्ने उनको योजना छ। सर्वोच्चको फैसलाको पूर्ण पाठ आएपछि तयारी तीव्र बनाउने योजनामा उनी छन्।