भुक्तानी नपाएपछि आयो ब्याण्डविथ काट्ने पत्र, मुद्रा सटहीको सिफारिस नरोक्न आइस्पानको आग्रह

बिजमाण्डू
२०८१ बैशाख १३ गते १७:४२ | Apr 25, 2024
भुक्तानी नपाएपछि आयो ब्याण्डविथ काट्ने पत्र, मुद्रा सटहीको सिफारिस नरोक्न आइस्पानको आग्रह

काठमाडौं। इन्टरनेट सेवा प्रदायकहरुको संस्था आइस्पानले सरकारले विदेशी मुद्रा सटहीको सिफारिस रोकिरहे सेवा ठप्प हुने चेतावनी दिएको छ।

Tata
GBIME
Nepal Life

आइस्पानले बिहिबार पत्रकार सम्मेलन गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सिफारिस रोकेका कारण ब्याण्डविथको रकम भुक्तानी गर्न नपाएको भन्दै इन्टरनेट सेवा ठप्प हुने चेतावनी दिएको हो।

आइस्पानले भुक्तानी रोकिएका कारण एयरटेलले यसै साता ब्याण्डविथ उपलब्ध नगराउने पत्र काटेको जानकारी दिएको छ।

‘भारती एयरटेलले ब्याण्डविथको रकम भुक्तानी नगरे इन्टरनेट सेवा अवरुद्ध हुने भनि यसै साता पत्र काटेको छ। त्यसैले मन्त्रालयले अविलम्ब विदेशी मुद्रा सटहीको सिफारिस गर्नु पर्छ,’ आइस्पानका अध्यक्ष सुधीर पराजुलीले भने।

ब्यान्डविथ प्रयोग गरेबापत इन्टरनेट सेवा प्रदायक कम्पनीले भारतीय कम्पनीलाई करिब ३ अर्ब रुपैयाँ तिर्न बाँकी छ। यो एक वर्षदेखिको रकम हो।

‘प्रक्रियाले गर्दा ३ महिनाको पहिला पनि बाँकी हुन्थ्यो। हामीले बैंक ग्यारेन्टी दिएर भएपनि अहिलेसम्म इन्टरनेट काटिन दिएका थिएनौं। अब राष्ट्र बैंक यसमा पनि नियामक प्राधिकरणको स्वीकृति चाहिन्छ भन्न थालेपछि अहिले अर्को बैंक ग्यारेन्टी खडा गर्न सक्ने अवस्था छैन,’ पराजुलीले भने।

मर्मत सम्भारमा ग्रामिण दूरसञ्चार विकास कोष (आरटीडीएफ) र रोयल्टी नतिरेको भन्दै मन्त्रालयले इन्टरनेट सेवा प्रदायक निजी कम्पनीलाई विदेशी मुद्रा सटहीको सिफारिस गर्न मानेको छैन। मन्त्रालयको सिफारिसविना नेपाल राष्ट्र बैंकले स्वीकृति दिंदैन।

आइस्पानले मर्मत सम्भारमा आरटीडीएफ र रोयल्टी लिन खोजिनु दूरसञ्चार ऐन र नियमावली तथा संसदीय समितिको निर्णयर अदालतको आदेश विपरीत भएको दाबी गरेको छ।

उसले मर्मत सम्भारमा आरटीडीएफ र रोयल्टी लिनका लागि दूरसञ्चार ऐन २०५३ को दफा २ (घ) र दूरसञ्चार नियमावली २०५४ को अनुसुची ६ (क) मा संशोधन गरेर देखाउन चुनौती दिएको छ।

इन्टरनेट सेवा प्रदायकहरुले दूरसञ्चार सेवाबापत प्राप्त गरेको आम्दानीबाट आरटीडीएफ र रोयल्टी बुझाउँदै आएका छन्। मर्मत सम्भार दूरसञ्चार नभएको आइस्पानको भनाइ छ। दूरसञ्चार सेवाबाट प्राप्त गरेको वार्षिक आयको २ प्रतिशत आरटीडीएफ तिर्नुपर्ने व्यवस्था छ।