
काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ति प्रक्रिया अघि बढाएको छ। बैंकले शुक्रबार सूचना जारी गर्दै सीइओ नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो।
आगामी २१ दिनभित्र योग्यता पुगेकाले सीइओका लागि आवेदन दिन पाउने छन्। सीइओका लागि बैंकले व्यवस्थापन, बैंकिङ, कानुन, अर्थशास्त्र, लेखा/तथ्यांक शास्त्रलगायतका विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने न्यूनतम शैक्षिक योग्यता तोकेको छ। चार्टर्ड एकाउन्टेन्सी, व्यवस्थापन, बैंकिङलगायतका विषयमा स्नातक तह हासिल गरेकाको हकमा भने अधिकृत तह वा सोभन्दा माथिल्लो पदमा कम्तीमा १० वर्षभन्दा बढी कार्यअनुभव हुनुपर्ने सर्त बैंकले राखेको छ। इच्छुकले व्यावसायिक कार्ययोजना पेस गर्नुपर्नेछ।
बैंकका सीइओ किरणकुमार श्रेष्ठ दुई कार्यकाल पूरा गरि चैत अन्तिम साता बिदा भएका थिए। २०७२ चैत २९ गते खुला प्रतिस्पर्धाबाट बैंकको सीइओ बनेका श्रेष्ठ दोस्रो कार्यकालका लागि २०७६ चैत २९ गते नियुक्त भएका थिए।
श्रेष्ठ बैंकबाट बाहिरिएसँगै सञ्चालक समितिले नायव सीइओ देवेन्द्ररमण खनाललाई चैत २९ गतेदेखि कामु सीइओको जिम्मेवारी दिएको थियो।