बोनम्यारो प्रत्यारोपण र मानव संशाधनमा नेपाललाई चीनको साथ, सहायता बढाउन अर्थमन्त्रीको आग्रह

बिजमाण्डू
२०८१ बैशाख १४ गते १३:२५ | Apr 26, 2024
बोनम्यारो प्रत्यारोपण र मानव संशाधनमा नेपाललाई चीनको साथ, सहायता बढाउन अर्थमन्त्रीको आग्रह
सम्झौता गर्दै अर्थसचिव मधुकुमार मरासिनी र चाइना इन्टरनेसनल डेभलेपमेन्ट को-अपरेन एजेन्सीका प्रमुख लियु झाओ हुई

काठमाडौं। नेपालले चीनसँग बोनम्यारो प्रत्यारोपण र मानव संशाधन विकास सम्बन्धी सम्झौता गरेको छ। अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा शुक्रबार दुई देशले दुई वटा सम्झौतामा हस्ताक्षर गरे।

Tata
GBIME
Nepal Life

अर्थ मन्त्रालयमा आयोजित समारोहमा मानव संशाधन विकास सम्बन्धी सम्झौतामा अर्थसचिव मधुकुमार मरासिनी र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेसनल डेभलेपमेन्ट को-अपरेन एजेन्सी) का प्रमुख लियु झाओ हुईले हस्ताक्षर गरे।

यस्तै बोनम्यारो प्रत्यारोपण सम्बन्धी सम्झौतामा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल र हुईले हस्ताक्षर गरे। सम्झौताअनुसार चीनले वीपी कोइराला मेमोरियल क्यान्स अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्नेछ। त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि चीनले आर्थिक सहायता उपलब्ध गराउने छ।

सम्झौता साटासाट गर्दै स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल र चाइना इन्टरनेसनल डेभलेपमेन्ट को-अपरेन एजेन्सीका प्रमुख लियु झाओ हुई

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत असोजमा गरेको चीन भ्रमणका क्रममा चीनले नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो।

कार्यक्रममा अर्थमन्त्री पुनले आगामी दिनमा नेपालमा सहायता र लगानी बढाउन हुईसँग आग्रह गरे। हुईले चीनको असल मित्र भएकाले नेपालको विकासमा सधैं साथ दिने उल्लेख गर्दै चिनियाँ लगानी आउनेमा ढुक्क हुन आग्रह गरे।