खस्किंदो ब्यालेन्स सिटको असर बैंकको सेयर मूल्यमा, लगानीकर्ताले नरुचाउँदा थप सस्तिंदै

सुनिल कुँवर
२०८१ बैशाख ९ गते २१:१६ | Apr 21, 2024
खस्किंदो ब्यालेन्स सिटको असर बैंकको सेयर मूल्यमा, लगानीकर्ताले नरुचाउँदा थप सस्तिंदै

काठमाडौं। लगातार ओरालो लागेको सेयर बजार परिसूचक आइतबार १२.२९ अंकले बढ्दा वाणिज्य बैंकका लगानीकर्ताले भने गुमाए।

Tata
GBIME
Nepal Life

वाणिज्य बैंक उपसमूहको सूचक ०.३४ प्रतिशतले घट्यो। सूचीकृत १९ बैंकमध्ये १३ वटाको सेयर मूल्य ओरालो लाग्यो। सानिमा बैंकको मूल्य स्थिर रहँदा ५ वटाको मात्रै सामान्य अंकले बढ्यो। सबैभन्दा धेरै नाफा कमाएको नबिल बैंककै सेयर प्रति कित्ता १.९० रुपैयाँ सस्तिएको छ।

एनआईसी एसियाको सबैभन्दा धेरै ३.१२, हिमालयनको २, माछापुच्छ्रेको १.९९ र नेपाल बैंकको १.९० प्रतिशतले सेयर भाउ घटेको छ।

नेप्से बढ्दा पनि बैंकिङ उपसमूहको सूचक घट्नुको मुख्य कारण हो, शुक्रबार सार्वजनिक चालु वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण। बैंकहरुले नाफा १३.४७ प्रतिशतले घटेको वित्तीय विवरण सार्वजनिक गरेका छन्।

वित्तीय विवरण अनुसार १० वटा बैंक लगानीकर्तालाई लाभांश दिन सक्ने अवस्थामा छैनन्। उनीहरुको वितरणयोग्य मुनाफा ऋणात्मक छ। हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, कुमारी, एनआईसी एसिया, लक्ष्मी सनराइज, नेपाल, एनएमबि, ग्लोबल आइएमई र माछापुच्छ्रे बैंक लाभांश वितरण गर्न नसक्ने अवस्थामा छन्। थप ५ बैंकको वितरणयोग्य मुनाफामा पनि गिरावट आएको छ।

बैंकहरुको वित्तीय विवरण पोहोर नै राम्रो नरहेकाले अपेक्षित लाभांश पाउन नसकेका लगानीकर्ता यसपाली अवस्था झनै नाजुक देखिएपछि निराश हुँदा त्यसको असर आइतबारको सेयर बजारमा परेको हो।

वित्तीय क्षेत्रका जानकारहरु अर्थतन्त्रमा आएको शिथिलताले व्यवसाय र प्रतिफल घट्दा बैंकको सेयर लगानीकर्ताको रोजाइमा नपर्नुलाई स्वाभाविक भन्छन्।

सेयर बजारका विश्ललेषक मुक्ति अर्यालले बैंकहरुको बिग्रंदो व्यवसायको असर सेयरमा देखिएको बताए। ‘बैंकहरुको लोनलस प्रोभिजनिङ बढेको छ। प्रोफिटाबिलिटी घटेको छ। त्यही असर सेयरमा देखिएको हो,’ उनले भने, ‘अर्को कारण भनेको अर्थतन्त्रमा देखिएको समस्या हो। अर्थतन्त्र नै राम्रो अवस्थामा नभएपछि त्यसको इफेक्ट बैंकिङमा पर्ने नै भयो।’

बैंकहरुको नाफा पोहोर ९ महिनाको तुलनामा चालु वर्ष सोही अवधिमा ६ अर्ब ३३ करोड रुपैयाँले घटेको छ। यो वर्ष चैतसम्म बैंकहरुले ४० अर्ब ६८ करोड खुद नाफा कमाएका छन्। जबकि पोहोर चैतसम्म ४७ अर्ब १ करोड रुपैयाँ आर्जन गरेका थिए।

चालु आर्थिक वर्ष सुरुदेखि नै बैंकहरुको वित्तीय अवस्था बिग्रिरहेको छ। कर्जा लगानी बढाउन नसक्दा बैंकहरुको नाफा खुम्चिँदो क्रममा छ। निक्षेप थुपारेका बैंकले पुरानो ऋण पनि उठाउन सकिरहेका छैनन्। यसले खराब कर्जा बढिरहेको छ। जसका कारण प्रोभिजिङ रकम धेरै राख्नु परेकाले वितरणयोग्य नाफा निरन्तर घट्दो छ।

स्टक ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटा लगानीकर्तामा कन्फिडेन्स नदेखिएका बेला वित्तीय विवरण समेत खराब खालको आएकाले सेयर मूल्य घटेको बताउँछन्।

‘बैंकहरुको यत्ति धेरै अन्डरप्राइसिङ नहुनु पर्ने हो। त्यो रिकभर हुन सकेको छैन। खासगरी लगानीकर्तामा कन्फिडेन्स बढ्न सकेको छैन,’ उनले भने, ‘बैंकहरुको पुँजी धेरै हुँदा पनि सेयर मूल्यमा त्यसको असर देखियो। पुँजी अनुसारको पर्फर्म नै देखिएन।’

पोहोरको तुलनामा अधिकांश बैंकको प्रति सेयर आम्दानी घटेको छ। कुनैको त प्रति सेयर आम्दानी १ रुपैयाँसम्म झरेको छ। नेपाल बैंकको पोहोर चैतमा प्रति सेयर आम्दानी १६.१७ रुपैयाँ रहेकोमा यो वर्ष चैतसम्म आइपुग्दा १.१८ रुपैयाँमा झरेको हो।

नेपाल बैंकको खुद नाफा ९२.६८ प्रतिशत घटेर १३ करोड रुपैयाँमा सीमित भएको छ। खराब कर्जा ४.८५ प्रतिशत पुगेको बैंकको सेयर मूल्य आइतबार २०१ रुपैयाँमा झरेको छ।

प्रति सेयर आम्दानी ५.३५ रुपैयाँ रहेको कुमारी बैंकको सेयर मूल्य १३३ रुपैयाँमा झरेको छ। कुमारी, प्रभु र लक्ष्मी सनराइज बैंकको सेयर मूल्य १५० रुपैयाँभन्दा तल आइपुगेको छ।

बैंकका अन्य सूचकहरु पनि खस्किएका छन्। बैंकको प्रतिफल घट्दै गएको छ। पोहोरको मुनाफाबाट ९ बैंकले लाभांश दिन नसकेकामा यसपालि त्यो संख्या अझै बढ्ने देखिएको छ।

बैंकहरुको खराब कर्जा ३.४५ प्रतिशत पुगेको छ। पोहोर तेस्रो त्रैमाससम्म एनपीए २.८५ प्रतिशत थियो। ९ वटा वाणिज्य बैंकको खराब कर्जा ४ प्रतिशतभन्दा माथि पुगेको छ। ऋण लगानी गरेको रकम रिकभरि गर्न नसक्दा बैंकहरुले ३९ अर्ब ८७ करोड रुपैयाँ प्रोभिजनिङ गर्नुपरेको छ।

दश वटा बैंकको सेयर मूल्य २०० रुपैयाँभन्दा तल छ। प्रति सेयर आम्दानी ३४.६ रुपैयाँ रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य सबैभन्दा धेरै ५१७ रुपैयाँ छ। एभरेष्ट बैंकको प्रति सेयर आम्दानी २९.५५ रुपैयाँ हुँदा सेयर मूल्य ५०६ रुपैयाँ छ।