नेपाली चिया निर्यातमा भारतले हटायो अवरोध, काँकडभिट्टापारि रोकिएका ट्रक छुटे

अनन्तराज न्यौपाने
२०८१ बैशाख १२ गते १४:१५ | Apr 24, 2024
नेपाली चिया निर्यातमा भारतले हटायो अवरोध, काँकडभिट्टापारि रोकिएका ट्रक छुटे
चिया टिप्दै श्रमिक। फाइल तस्वीर

विराटनगर। गुणस्तर परीक्षणको कारण देखाउँदै भारतीय भन्सारले काँकडभिट्टा भन्सारपारि पानीटंकीमा रोकेर राखेका नेपाली चियाका ट्रक मंगलबार राति छाडिदिएको छ।

Tata
GBIME
Nepal Life

भारतीय भन्सारले मंगलबार राति अचानक गुणस्तर परीक्षण प्रतिवेदन तत्काल नचाहिने भन्दै २८ वटै ट्रकको जाँचपास गरेको हो। उसले चियाको गुणस्तर कोलकातास्थित प्रयोगशालामा परीक्षण गर्नुपर्ने भन्दै शुक्रबारदेखि ट्रक रोकेको थियो।

काँकडभिट्टा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले पानीटंकी भन्सार अगाडि रोकिएका नेपाली चियाका ट्रक मंगलबार राति गन्तव्यतर्फ गएको बताए।

नेपाली राजदूत शंकर शर्माले भारतीय वाणिज्यमन्त्री पीयूष गोयललगायतलाई भेटेर नेपाली चियालाई अवरोध नगर्न आग्रह गरेपछि भारतले अवरोध हटाएको स्रोतले बतायो। कोलकातास्थित महावाणिज्यदूत ईश्वरराज पौडेलले पनि भारतीय अवरोध हटाउन पहल गरेका थिए।

यता पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा चिया उद्योगीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ज्ञापनपत्र बुझाउँदै पानीटंकीमा भएको भारतीय अवरोध हटाउनका लागि पहल गर्न आग्रह गरेका थिए। यसपछि सरकारले भारतीय दूतावासलाई यो समस्या समाधान गर्न अनुरोध गरेको थियो।

काँकडभिट्टा भन्सारका प्रमुख रेग्मीले पनि भारतीय भन्सारका अधिकारीसँग बैठक राखेर नेपाली चियाको परीक्षण प्रतिवेदन कहिल्यै नराम्रो नआएको जिकिर गर्दै निर्यात रोक्नु पर्ने कारण नभएको बताएका थिए।

त्यसपछि भारतीय भन्सारका अधिकारीले कोलकातास्थित प्रयोगशालाले गरेको नेपाली चियाको २ वर्षयताको परीक्षण प्रतिवेदन अध्ययन गरेका थिए। प्रतिवेदनमा कैफियत नदेखिएपछि भारतीय अधिकारी अवरोध हटाउन तयार भएका हुन्।

मंगलबार दिउँसो भारतीय चिया विकास निगम र भारतीय भन्सारका अधिकारीको बैठकले तत्कालका लागि नेपालको चियालाई अवरोध नगर्ने निर्णय गरेपछि पानीटंकीमा रोकिएका ट्रकहरू छुटेका हुन्।

हिमालयन अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका पूर्वअध्यक्ष उदय चापागाईंले सरकारलगायत सबै पक्षको सहयोगका कारण चियाको निर्यात खुलाउन सम्भव भएको बताए। उनले चियाको गुणस्तर परीक्षणका लागि सरकारले अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला निर्माण गर्नुपर्नेमा जोड दिए।

‘भारतीय पक्षले समेत स्वीकार गर्ने प्रकारको अत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला सरकारले बनाउनुपर्छ। यसपछि चिया परीक्षणको समस्या सधैंका लागि समाधान हुन्छ,’ उनले भने।

उद्योगीका अनुसार भारतीय पक्षको कुनै लिखित निर्देशन वा परिपत्रले नभई मौखिक आदेशबाट ट्रक छुटेका हुन्। भारतीय लोकसभाको निर्वाचनका कारणले बुधबारदेखि शुक्रबारसम्म सीमा नाका सिल गरिएको छ। शनिबार दुवैतर्फका भन्सार कार्यालय बन्द हुन्छन्।

त्यसैले चियाको निर्यात सुचारु भएको हो कि रोकिएका ट्रक मात्र छुटेका हुन् भन्ने आइतबार मात्र स्पष्ट हुन्छ। ‘अहिले रोकिएका गाडी पास भएका छन्। यसका लागि कुनै लिखित निर्देशन वा परिपत्र छैन भन्ने सुनियो। सबै कुरा अब आइतबार मात्र थाहा हुन्छ,’ नेपाल चिया उत्पादक संघका निवर्तमान अध्यक्ष सुरेश मित्तलले बिजमाण्डूसँग भने।