कामना सेवा विकास बैंकको वितरणयोग्य नाफा २५७.५४% बढ्यो, खुद निष्कृय कर्जा १.१३ प्रतिशत

बिजमाण्डू
२०८१ बैशाख ७ गते १५:५१ | Apr 19, 2024
कामना सेवा विकास बैंकको वितरणयोग्य नाफा २५७.५४% बढ्यो, खुद निष्कृय कर्जा १.१३ प्रतिशत

काठमाडौं। कामना सेवा विकास बैंकले ३३ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंक खुद निष्कृय कर्जा घटाएर नाफा बढाउन सफल भएको हो।

Tata
GBIME
Nepal Life

बैंकले गत वर्षको तुलनामा ८.४० प्रतिशतले नाफा बढाएको छ। पोहोर चैतसम्म यस बैंकले ३० करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चालु आर्थिक वर्ष तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको खुद निष्कृय कर्जा १.१३ प्रतिशतमा सीमित भएको छ। पोहोर तेस्रो त्रैमासम्म बैंकको खुद निष्कृय कर्जा १.४२ प्रतिशत थियो।

अहिले बैंकको कुल निष्कृय कर्जा भने ३.५५ प्रतिशत छ। पोहोर यही अवधिमा बैंकको कुल निष्कृय कर्जा ३.२७ प्रतिशत थियो।

पुनर्संरचना र पुनर्तालिकीकरण बाहेक बैंकको कुनै कर्जा निष्कृय वर्गमा वर्गीकरण भएमा कर्जाको भाखा नाघेको बक्यौता रकम भुक्तानी गरी लगातार ६ महिनासम्म कर्जाको किस्ता वा ब्याज नियमित भएको अवस्थामा मात्र असल वर्गमा राख्न सकिने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ।

सोहीअनुसार बैंकले नोक्सानी व्यवस्था कायम गर्नुपर्छ। त्यस्तै, निष्कृय वर्गमा वर्गीकरण भएका कर्जा सोही वर्गभित्र स्तरोन्नति हुनका लागि आवश्यक प्रावधान पूरा गरेको मितिले ६ महिना पश्चात मात्र स्तरोन्नति गरी सोही बमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने प्रावधान छ।

कुनै ऋणी संस्थाले एकभन्दा बढी शीर्षकमा कर्जा लिएको भए त्यस्तो कुनै एक कर्जा निष्कृय वर्गमा वर्गीकरण भएमा अन्य शीर्षकका कर्जा पनि सुक्ष्म निगरानीमा राख्नुपर्ने व्यवस्था छ।

राष्ट्र बैंकको यस प्रावधानले बैंकहरुको निष्कृय कर्जा घटाएको छ। निष्कृय कर्जा घट्दा कामनाको प्रोभिजनिङ रकम पनि घटेको छ।

यो वर्ष चैतसम्म बैंकले ३४ करोड ३५ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ। पोहोर ९ महिनामा बैंकको ३५ करोड ३७ लाख रुपैयाँ प्रोभिजनिङ गरेको थियो। बैंकको वितरणयोग्य नाफा २५७.५४ प्रतिशतले बढेको छ। उसको वितरणयोग्य नाफा २८ करोड ७३ लाख रुपैयाँ छ।