उपत्यकाका १०० स्थानमा ब्याट्री स्वापिङ सेन्टर बनाउने योजना, ६ सेकेन्डमा स्वाप गर्न सकिने

बिजमाण्डू
२०८१ बैशाख १४ गते १३:५२ | Apr 26, 2024
उपत्यकाका १०० स्थानमा ब्याट्री स्वापिङ सेन्टर बनाउने योजना, ६ सेकेन्डमा स्वाप गर्न सकिने

काठमाडौं । ताइवानको स्कुटर तथा ब्याट्री स्वापिङ कम्पनी गोगोरोको ब्याट्री स्वापिङ सेन्टर नेपालमा पनि संचालनमा आएको छ। शुक्रबारदेखि गोगारोको आधिकारिक बिक्रेता नेबुला इनर्जीले ब्याट्री स्वापिङ सेन्टर संचालनमा ल्याएको हो।

Tata
GBIME
Nepal Life

ब्याट्री स्वापिङ सेन्टरको नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले र इनर्जीका अध्यक्ष मनोज गोयलले उद्घाटन गरेका हुन। कम्पनीले अहिले लाजिम्पाटमा रहेको आनन्द भवनमा ब्याट्री स्वापिङ सेन्टर निर्माण गरेको छ।  

सो अवसरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गोगोरोको स्कुटरसमेत सार्वजनिक गरेका थिए।

उनले चार्जिङमा स्वाप प्रविधिको आगमनले नेपालमा विद्युतीय दुई पांग्रे बाइकको व्यापार बढ्ने विश्वास व्यक्त गरे। हाल नेपालमा चारपाङ्ग्रेको बजार हिस्सा ५० प्रतिशत बढी भए पनि दुई पांग्रेको ५ प्रतिशत मात्रै रहेको उनले बताए। ब्याट्री स्वापिङ प्रविधिले बजार हिस्सा ५० प्रतिशतसम्म पुर्‍याउन सहयोग पुग्ने उनले बताए।

‘ब्याट्री स्वाप टेक्नोलोजीले ५ प्रतिशतको बजार छिट्टै ५० प्रतिशत पुर्‍याउने छ। निजी क्षेत्रबाटै चार्जङ स्टेसन बनाउने क्रम बढ्दो छ,’ उनले भने, ‘स्टेसन बढे पनि लाइनमा बस्नुपर्ने अवस्था रहेको छ। ४ पाङ्ग्रेमा पनि स्वाप टेक्नोलोजी आवश्यक छ।’

पेट्रोलका दुई पाङ्ग्रेको तुलनामा विद्युतीय दुई पाङ्ग्रे साधन २० गुणाले सस्तो पर्ने र नेपालमा उत्पादन भएको ‘ग्रीन इनर्जी’ खपत बढाउन पनि यसले ठुलो सहयोग पुर्‍याउने उनको दाबी छ।

यस्तै, नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले नवीकरणीय ऊर्जा खपत गर्ने मुलुकमा नेपाल तल रहेको बताउँदै खपत बढाएर देशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए।

नेवुला इनर्जीका प्रबन्ध निर्देशक साहायु गोयलले नेपालमा दुई पाङ्ग्रे विद्युतीय सवारीको ५ प्रतिशत मात्रै बजार हिस्सा हुनु चार्जिङको समस्याको कारण रहेको सुनाए।

‘ब्याट्री स्वापिङ इनर्जी प्रविधिले समस्या समाधान गर्छ,’ उनले भने, ‘अब घरमा ५-६ घण्टा स्कुटर चार्ज गर्नु पर्दैन। चार्जिङ स्टेशनमा गई ६ सेकेन्डमै ब्याट्री स्वाप गर्न सकिन्छ।’

कम्पनीले उक्त ब्याट्री स्वापिङ प्रविधिलाई उपत्यकाको १०० स्थानमा विस्तार गर्ने योजना बनाएको छ। कम्पनीका अनुसार २ देखि ३ किलोमिटरमा एउटा ब्याट्री स्वापिङ स्टेसन निर्माण हुनेछ। अहिले सुरुमा रणनीतिक बिजनेस टु बिजनेस (बिटुबी) साझेदारहरुलाई ब्याट्री स्वापिङ सेवाहरु प्रदान गर्ने योजना कम्पनीको छ।

आज फुडमाण्डू, गल्ली म्याप, एलोई र जुमजुमसँग साझेदारीको घोषणा गरेको थियो।

कम्पनीले गोगोराको क्रसओभर स्मार्टस्कुटर जीएक्स२५० मोडल पनि आज लन्च गरेको छ। सो मोडलको ४० वटा स्कुटरहरु डेलिभरी गरिएको छ।