युथ कलेक्सनको मोबाइल एप: घरमै बसेर स्कुलका युनिफर्म अर्डर गर्दा होम डेलिभरी उपलब्ध

बिजमाण्डू
२०८१ बैशाख ११ गते १७:२९ | Apr 23, 2024
युथ कलेक्सनको मोबाइल एप: घरमै बसेर स्कुलका युनिफर्म अर्डर गर्दा होम डेलिभरी उपलब्ध

काठमाडौं। युथ कलेक्सन इन्टरप्राइजेजले नेपालमै पहिलोपटक युनिफर्म अर्डर गर्न मिल्ने मोबाइल एप लञ्च गरेको छ। स्कुल तथा कलेजको युनिफर्मसँगै कम्पनीले सबै किसिमका टेलरिङको सुविधा एपबाटै दिन सुरु गरेको हो।

Tata
GBIME
Nepal Life

नयाँ बानेश्वरमा आउटलेट रहेको युथ कलेक्सनले मोबाइल एपबाट घरमै बसेर स्कुलको युनिफर्म अर्डर गर्न मिल्न सुविधा ल्याएको छ। कम्पनीका सञ्चालक मनिष श्रेष्ठले उक्त एप नेपालमै नौलो अभ्यास भएको भन्दै यसको प्रयोग गर्न आग्रह गरेका छन्।

‘हामीलाई थाहा छ स्कुलको युनिफर्म किन्न जान कति झन्झटिलो र दु:ख हुन्छ। अझ शैक्षिक सत्रको सुरुमा त युनिफर्म लिने ठाउँमा मारामार भीड हुन्छ। त्यसैलाई सहज बनाउन हामीले यो एप ल्याएका हौं। एपबाटै उपभोक्ताहरुले स्कुलको युनिफर्म जस्तै सर्ट, ट्राउजर, स्कर्ट, ब्लेजरलगायत अर्डर गर्न सकिन्छ,’ श्रेष्ठले भने, ‘एपबाटै टाइ, बेल्ट, मोजा, ब्यागसमेत आवश्यकताअनुसार छान्न सकिन्छ।’

जो बालबच्चाहरुले पहिल्यै युथ कलेक्सनबाट रेडिमेड साइजको लुगा लिएका छन् उनीहरुले त्यसैलाई आधार मानेरसमेत नयाँ युनिफर्मका लागि अर्डर दिन सक्छन्। एपमा आफ्नो बालबच्चालाई आवश्यक पर्ने साइजका युनिफर्म उपलब्ध छन्।

‘एपमा हामीले भिडियो टुलको प्रयोग गरेका छौं। त्यसको सहायताबाट तपाईंहरुले बालबच्चालाई कत्रो साइज आवश्यक पर्छ (कस्टमाइज) सजिलै नाप्न सक्नु हुन्छ। धेरै गाह्रो हुँदैन,’ श्रेष्ठले भने।

एपबाट अर्डर गरिएका युनिफर्म काठमाडौं उपत्यकाभित्र १०० रुपैयाँमा होम डेलिभरी गर्न सकिने कम्पनीले जनाएको छ।

यस्तै, काठमाडौं उपत्यकामा उपयुक्त पार्किङ नहुँदा युनिफर्म लिन जाँदा सवारीसाधान कहाँ रोक्ने भन्ने झन्झट व्यहोर्नुपर्ने बाध्यतालाई समेत एपले समाधान गर्ने विश्वास कम्पनीको छ। बालबच्चाको लुगा सिलाउन वा अर्डर गर्न अफिसको समय मिलाउन गाह्रो पर्ने अभिभावकहरुलाई एपले निकै सजिलो बनाउने श्रेष्ठ बताउँछन्।   

कम्पनीले भविष्यमा यही एपमार्फत युनिफर्मका साथै विद्यार्थीहरुलाई आवश्यक पर्ने स्टेसनरी, पानीको बोटल, टिफिन बक्स, जाडोमा लगाउने थर्मकोटलगायत सामग्री सुपथ मूल्यमा उपलब्ध गराउने जनाएको छ। यसका साथै, केही समय भित्रै सरकारी कर्मचारीको पोशाक, विदेशिएका साथै स्वदेशमै रहेका नेपालीलाई आवश्यक पर्ने पोशाक (दाउरा सुरुवाल, कोट पाइन्ट इत्यादि) एपबाटै अर्डर गरेर आवश्यक पर्ने समयमा डेलिभरी लिन सकिने कम्पनीले जनाएको छ।

युरो स्कुल, काठमाडौं गुरुकुल, कान्जिरोवालगायतका विद्यालय युथ कलेक्सनको एपमा आबद्ध भइसकेका छन्।