
काठमाडौं। थाइल्यान्डकाे नेपाली मन्दिरमा राम नवमीकाे अवसरमा भगवान राम र सीताकाे मूर्ति प्राणप्रतिष्ठा गरिएकाे छ।
राजधानी बैंकककाे सुकुम्बित ८१ सिरिफाेटस्थित श्री त्रिनाथ देवालय धाम मन्दिरमा बुधबार बिहान ८ बजेर ४५ मिनेटकाे शुभ साइतमा पण्डित पदमप्रसाद भट्टराईले भगवान राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति प्राण प्रतिष्ठा गराएका हुन्।
त्रिनाथ मन्दिरमा पहिलाेपटक भगवान रामकाे प्राण प्रतिष्ठा गरिएकाे मन्दिर सञ्चालक समितिका महासचिव राजु बलामीले जानकारी दिए। प्राण प्रतिष्ठामा थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली सहभागी भएर पूजा पाठ गरेका थिए।
राजदूत वलीले नेपाली मन्दिर नेपालीमात्र नभई नेपाल भाषीकाे पनि आस्थाकाे केन्द्र रहेकाे भन्दै संरक्षण तथा प्रवर्द्धनमा सघाउने बताए। प्राण प्रतिष्ठासँगै मन्दिरमा रामनवमीका अवसरमा पूजा सत्संघ भजन कीर्तन पनि गरिएकाे थियाे।
त्रिनाथ देवालय धाम थाइल्यान्डबासी नेपालीकाे एकमात्र धार्मिक स्थल हाे। ३२ वर्षअघि स्थापना भएकाे मन्दिरमा थाइल्यान्डमा बस्ने नेपालीहरूले विभिन्न चाडपर्व मनाउने, पूजा पाठ गर्दै आएका छन्।