
काठामाडौं। गत फागुन २९ मा नेप्से परिसूचक २१११ अंकमा पुग्यो। त्यो डेढ महिनापछिको उच्च विन्दु थियो। त्यसयता नेप्से निरन्तर ओरालो लागिरहेको छ।
सेयर बजार परिसूचक बिहीबार १९.५६ अंकले घट्यो। नेप्से अहिले १९७२.१४ अंकमा छ। चैत २८ देखि वैशाख ६ सम्म पाँच कारोबार दिनमा एक दिन पनि नेप्से बढेन।
फागुन २९ लाई आधार मान्ने हो भने बजार पछिल्लो ३८ दिनमा १३८.८६ अंकले ओरालो लागिसकेको छ।
सत्ता गठबन्धन फेरिएपछि फागुनमा बजारले सकारात्मक लय समात्ने संकेत देखाएको थियो। अर्थमन्त्री वर्षमान पुनले मन्त्रालय प्रवेश गरेकै दिन सेयर बजारमा सुधारका लागि योजना मागेर नीतिगत कदम चाल्ने बताए। त्यसले लगानीकर्तामा आशा जगायो।
पुनले नेपाल धितोपत्र बोर्ड (सेबोन), नेप्से, सीडीएससी लगायत सरोकारवाला निकायसँग कार्ययोजना मागे। तर उनले सुझाव कार्यान्वयनमा चासो नै दिएनन्। अर्कातिर उनले राष्ट्र बैंकसँग सुमधुर सम्बन्ध राखेर काम गर्ने अभिव्यक्ति दिइरहे। तर लगानीकर्ताको मुख्य चासोका रुपमा रहेको सेयर धितो कर्जाको सीमा हटाउने विषयमा राष्ट्र बैंकसँग छलफल नै गरेनन्।
यिनै कारण बजार माथि जान सकेन। बजारले बियरिस ट्रेन्ड समात्यो।
सूचकहरु हेर्ने हो भने अहिले नेप्से ओरालो लाग्नुपर्ने कारण देखिंदैन। अधिकांश कम्पनीको सेयर निकै सस्तो मूल्यमा उपलब्ध छ। बैंकको ब्याजदर निरन्तर घटेर एकल अंकमा छ। बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएर बसेको छ।
ब्याजदर घट्दा नेप्से बढ्ने गरेको विगतको ट्रेन्ड थियो। यस पटक भने अनुकूल सूचक र स्थिति नै सेयर बजारका लागि प्रतिकूल बनेको छ।
वित्तीय क्षेत्रका जानकार अनलराज भट्टराई शिथिल अर्थतन्त्र र लगानीकर्ताको खस्किएको मनोबलका कारण बजारले सकारात्मक लय समात्न नसकेको विश्लेषण गर्छन्।
‘समग्रमा पुँजी चलायमान नै भएको छैन। सबै क्षेत्रमा डिमान्ड घटेको छ। आर्थिक गतिविधि सुस्त छ। उपभोग गर्ने मान्छे विदेश गएरहेका छन्। त्यसको असर सेयर बजारमा देखिएको हो,’ उनले भने, ‘अर्थमन्त्रीले प्रतिबद्धता जनाए अनुसार लगानीकर्ताको मनोबल बढाउने काम नै भएन। जसले गर्दा बैंकहरुको सेयर मूल्य अहिलेसम्मकै सस्तो भएको छ।’
उनी बजार घट्नुको अर्को पनि कारण देख्छन् ।
‘कोभिडको बेला बजारमा ह्वार्ह्वार्ती नयाँ लगानीकर्ता आए। सानो परिमाणमा सेयर किनेका उनीहरुले मूल्य घटेपछि बेचेनन्। होल्ड गरिरहे। उनीहरुसँग थप सेयर किन्न पुँजी भएन। अहिले नयाँ लगानीकर्ताको पनि प्रवेश भएन। ठूला लगानीकर्ता पनि पर्ख र हेरको नीतिमा बसे। यसले गर्दा नेप्से माथि जानुको साटो घटिरह्यो,’ उनले भने।
नयाँ लगानीकर्ताको प्रवेश रोकिंदा र ठूला लगानीकर्ता चुप लागेर बसेका बेला आइपीओमा मुनाफा गरेको रकम बजारबाट बाहिरिनुले पनि नेप्से ओरालो लागेको हो।
‘कम्पनी नै पिच्छे आइपीओमा नाफा गरेको रकम बजारबाट बाहिरिइरहेको छ। सरकारले लगानीकर्ताको मनोबल बढाउने कुनै कदम चालेको छैन। अनि कहाँबाट नेप्से बढ्छ?,’ बजारका एक विश्लेषकले प्रश्न गरे।

हुन पनि पछिल्लोपटक सेयर बजारमा प्रवेश गरेका हिमालयन रि इन्स्योरेन्स र सर्वोत्तम सिमेन्टको आइपीओमा बिक्री गरी ठूलो रकम बाहिरिएको छ। हिमालयन रि इन्स्योरेन्सले गत पुसमा र सर्वोत्तम सिमेन्टले फागुनमा आइपीओ निष्कासन गरेका थिए।
हिमालयन रि इन्स्योरेन्सको सेयर मूल्य ७३१ रुपैयाँ पुगेर अहिले ६०० रुपैयाँमा झरेको छ। यस्तै सर्वोत्तम सिमेन्टको सेयर मूल्य १०८३ पुगेर ७६७ रुपैयाँमा झरेको छ।
स्टक ब्रोकर एसोसियसन अफ नेपालका महासचिव फणिन्द्र ढकाल कम्पनीको मूल्य निकै सस्तिएका कारण सेयरमा लगानी गर्न उपयुक्त अवसर भए पनि लगानीकर्तामा पोजेटिभ सेन्टिमेन्ट नभएकाले बजार बढ्न नसकेको बताउँछन्। ‘सूचकहरु अनुकूल छन। कम्पनीको मूल्य निकै घटेको छ। त्यसैले लगानी गर्ने अवसर छ,’ उनले भने, ‘तर बजार लगानीकर्ताको सेन्टिमेन्टसँग जोडिएको हुन्छ। अहिले पोजेटिभ सेन्टिमेन्ट नै छैन।’
लगानीकर्ताले सेयर मूल्य सस्तिए पनि लगानी गर्न हिच्किचाउनुको कारण आर्थिक शिथिलताको असर बैंक तथा वित्तीय संस्थाको वासलातमा पर्नु पनि हो। उपभोगदेखि कर्जाको माग बढ्न नसकेका कारण यसपालि सबैजसो कम्पनीको व्यवसाय खस्किएको छ। जसले गर्दा कम्पनीहरु लगानीकर्तालाई विगतमा जस्तो लाभांश दिन सक्ने अवस्थामा छैनन्।
‘आर्थिक शिथिलताले कम्पनीहरुको व्यापार बिग्रिन पुगेको छ। यसले गर्दा पनि लगानीकर्ताले सेयरमा लगानी गर्न रुची देखाएका छैनन्,’ विश्लेषक भट्टराईले भने, ‘अर्थतन्त्रमा सुधार भइ व्यापार व्यवसाय नफस्टाएसम्म नेप्सेले उकालो यात्रा तय गर्न सजिलो छैन।’