मेटाको सेयरमा गिरावट, अपेक्षा गरेभन्दा राम्रो आम्दानीका बाबजुद लगानीकर्ता किन हच्किए ?

बिजमाण्डू
२०८१ बैशाख १३ गते ०८:३८ | Apr 25, 2024
मेटाको सेयरमा गिरावट, अपेक्षा गरेभन्दा राम्रो आम्दानीका बाबजुद लगानीकर्ता किन हच्किए ?

अमेरिकी टेक जायन्ट मेटाको सेयरमा गिरावट आएको छ। अपेक्षा गरेभन्दा राम्रो आम्दानीको बाबजुद मेटाको सेयर यूएस आफ्टर-अवर ट्रेडिङमा घटेको हो

Tata
GBIME
Nepal Life

फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा धेरै लगानी गर्ने योजना बनाएसँगै उसको यो वर्षको खर्च बढ्ने बताइएको छ। मेटाले २०२४ मा अनुमान गरिएको भन्दा अरबौं डलर बढी खर्च गर्ने अपेक्षा गरेपछि उसको सेयर १५ प्रतिशतभन्दा बढी घटेको हो।

मेटाले आम्दानी वृद्धि गर्न एआई टुलको सहायताले विज्ञापन-खरीद उत्पादनहरू अपडेट गरिरहेको छ। उसले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्महरूमा च्याट असिस्टेन्ट जस्ता विभिन्‍न थप एआई सुविधाहरू पनि जोड्दै आएको छ।

कम्पनीले २०२४ मा ३५ अर्ब डलरदेखि ४० अर्ब डलरको बीचमा खर्च गर्ने अपेक्षा गरेको छ। यसअघि मेटाले ३० देखि ३७ अर्ब डलर खर्च गर्ने अनुमान गरिएको थियो।

अपेक्षा गरिएभन्दा बढी आम्दानी गर्दापनि मेटाको सेयरमा गिरावट आएको हो।

पहिलो त्रैमासिक आम्दानी २७ प्रतिशतले बढेर ३६.४६ अर्ब डलर पुगेको छ, जबकी विश्लेषकहरूले ३६.१६ अर्बको अपेक्षा गरेका थिए।

हारग्रिभ्स लेन्सडाउनमा प्रमुख इक्विटी विश्लेषक रहेकी सोफी लुन्ड-येट्सले मेटाको लगानी योजना ‘आक्रामक’ रहेको बताइन्।

एआईमा मेटाको ‘पर्याप्त लगानी’ले मानिसहरूलाई उसको प्लेटफर्ममा समय बिताउन आकर्षित गरेको उनले बताइन्। त्यसैले ‘डिजिटल विज्ञापन अनिश्चितता व्याप्त भएको समयमा’ पनि विज्ञापनदाताहरू धेरै पैसा खर्च गर्न इच्छुक रहेको उनको भनाइ छ।

यस वर्ष ५० भन्दा बढी देशहरूमा चुनाव हुन लागेको छ। उनले भनिन्, ‘जसले अत्यधिक अनिश्चितता बढाउँछ र विज्ञापनदाताहरूमा भय पैदा गर्न सक्छ।’

अमेरिकामा टिकटकको अनिश्चित भविष्यले पनि मेटालाई फाइदा पुगेको उनको भनाइ छ।

मेटाको प्रतिद्वन्द्वी बाइटडान्सले टिकटकलाई अमेरिकामा बिक्री गर्न बाध्य पार्ने वा प्रतिबन्धित गर्न सक्ने ‘असंवैधानिक’ कानुनको विरूद्ध लड्ने बताएको छ।

राष्ट्रपति जो बाइडेनले उक्त विधेयकमा हस्ताक्षर गरेका छन्। उक्त विधेयकमा चिनियाँ कम्पनी बाइटडान्सलाई एप बेच्न ९ महिनाको समय दिइएको छ अन्यथा टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाइनेछ।