गुरु मानेका शंकर अग्रवालका छोरा सुलभबाट तिमिल्सिनाले पाएको धोका, ३५ करोडको लफडा के हो?

सुदर्शन सापकोटा
२०८१ बैशाख १२ गते ०८:५५ | Apr 24, 2024
गुरु मानेका शंकर अग्रवालका छोरा सुलभबाट तिमिल्सिनाले पाएको धोका, ३५ करोडको लफडा के हो?

काठमाडौं। दुई पुराना कारोबारी मित्रबीच ‘प्रिमियम’ मूल्यमा सेयर खरिद बिक्रीको विषयले कर्पोरेट क्षेत्र गर्माएको छ। त्यो विषय व्यावसायिक घराना, व्यावसायिक संस्था, प्रशासन, प्रहरी हुँदै अड्डा अदालतको तहसम्म पुग्न थालेको छ।

Tata
GBIME
Nepal Life

यो मामिला यति धेरै चर्किएको छ कि कर्पोरेट क्षेत्रका विभिन्न भोजभतेर, सार्वजनिक समारोहमा समेत चर्चाको विषय बन्न थालेको छ।

दुई कारोबारी मित्रबीचको विवादको विषय हो, हिमालयन रि इन्स्योरेन्सको सेयर प्रिमियम मूल्यमा बिक्री। विवाद गर्ने दुई पात्र हुन्, जगदम्बा होल्डिङका अध्यक्ष सुलभ अग्रवाल र सम्राट सिमेन्टको सेयर बेचेर सूर्यतारा सिमेन्ट उद्योग सञ्चालनको तयारीमा रहेका मुकुन्दप्रसाद तिमिल्सिना।

जगदम्बा होल्डिङका अध्यक्ष सुलभका पिता शंकर अग्रवाल (शंकर समूहका अध्यक्ष) र तिमिल्सिना लामो समयदेखिका कारोबारी मित्र हुन्। तिमिल्सिनाका गुरु समेत हुन् शंकर। २२ वर्षअघि अम्बे सिमेन्ट स्थापनाका लागि ब्रेक थ्रु हुँदा हरि न्यौपाने र तिमिल्सिनाले शंकरलाई गुरु मानेर १ लाख १ हजार रुपैयाँ गुरुदक्षिणा दिएका थिए।

दुई उद्योगीबीच के हो विवाद ?

नेपाल बीमा प्राधिकरणले २०७८ जेठ २३ गते हिमालयन रि इन्स्योरेन्सलाई पुनर्बीमा व्यवसाय सञ्चालनको अनुमति दियो।कम्पनी सञ्चालनका लागि १० अर्ब रुपैयाँ पुँजी जुटाउन आवश्यक थियो।

कम्पनीको ३० प्रतिशत सेयर सर्वसाधारणका लागि छाडेर ७ अर्ब रुपैयाँ पुँजी जुटाउने जिम्मा जगदम्बा समूहले लियो। ठूलो पुँजी जुटाउनु पर्ने भएकाले यो सेयरमा लगानी गर्न थुप्रै घराना जोडिए।

तिमिल्सिनाले पनि हिमालयन रि इन्स्योरेन्सको सेयरमा जोडिने चाहना सुलभसँग राखे। सुलभले तिमिल्सिनालाई भने, ‘मैले एउटा व्यावसायिक घरानाका लागि छुट्टाएको सेयर छ, उसले एक कित्ताको हजार रुपैयाँका दरले हाल्छु भनेको छ। उसलाई सेयर दिनेबित्तिकै कम्पनीमा पसेर बखेडा खडा गर्छ, तपाईंले लिने हो भने केही मिलाएर दिन्छु।’

तिमिल्सिनाले सुलभको आश्वासनका विषयमा बिजमाण्डूलाई सुनाए, ‘कम्पनी सञ्चालन गर्न बित्तिकै ३०० रुपैयाँ प्रिमियममा सर्वसाधारणलाई सेयर जारी गर्छौं, त्यसबाट आएको ६ अर्ब रुपैयाँले हामी २०७८/७९ मा ५० प्रतिशत बोनस सेयर दिन्छौं। अर्को वर्ष २०७९/८० मा व्यापारबाट हुने नाफाले फेरि ५० प्रतिशत बोनस दिन्छौं, अनि आर्थिक वर्ष २०८०/८१ मा २७ प्रतिशत प्रमोटर सेयर कन्भर्ट गरेर पब्लिकमा लैजान्छौं। पब्लिकमा त्यतिबेला यो सेयर हजार रुपैयाँभन्दा माथि कारोबार हुन्छ।’

सुलभको गफमा तिमिल्सिनाले विश्वास गरे।

साथमा सुलभले तिमिल्सिनाका छोरा प्रज्ञातलाई हिमालयन रि इन्स्योरेन्सको सञ्चालक समिति सदस्य बनाउने एउटा लिखित कागजात समेत गरे। त्यसपछि तिमिल्सिनाले पहिलो चार वर्षे कार्यकालमा हिमालयन रि इन्स्योरेन्सको सञ्चालक समितिमा आफैं जाने र दोस्रो चार वर्षे कार्यकालका लागि प्रज्ञातलाई सञ्चालक बनाउने योजना बनाए।

तिमिल्सिनाले केही समयअघि मात्रै कांग्रेस नेता अनिल रुँगटासँग साझेदारीमा चलाइरहेको सम्राट सिमेन्टको ३० प्रतिशत सेयर चौधरी समूहलाई बिक्री गरेर क्यास रिजर्भ राखेका थिए। उनले त्यो क्यास रिजर्भबाट विभिन्न मितिमा आफ्नो र छोरा प्रज्ञातको बैंक खाताबाट शुलभकी श्रीमती सुभी अग्रवाललाई ३२ करोड रुपैयाँ दिए भने कामाख्या फिनकोर्पमा २ करोड ८० लाख रुपैयाँ हाले। यसरी तिमिल्सिनाले ३४ करोड ८० लाख रुपैयाँ खर्च गरे।

एक महिनाभन्दा कम समयको अन्तरालमा सातवटा चेकमार्फत ३४ करोड ८० लाख रुपैयाँ भुक्तानी गरेपछि तिमिल्सिनाले कामाख्या फिनकोर्प नामको एउटा कम्पनी प्राप्त गरे। जुन कम्पनीसँग हिमालयन रि इन्स्योरेन्सको ६ लाख ७५ हजार कित्ता सेयर छ। र यसको जम्मा लागत हो, ६ करोड ७५ लाख रुपैयाँ।

तिमिल्सिनाले दिएको ३४ करोड ८० लाख रुपैयाँमध्ये अर्को ५ लाख रुपैयाँ कामाख्याको खातामा गएर त्यहींबाट खर्च भएको छ। तिमिल्सिनाले जिल्ला प्रशासन कार्यालयमा बुझाएको र बिजमाण्डूलाई प्राप्त कागजातअनुसार सुलभले शुन्य लागतको कम्पनीका लागि २८ करोड रुपैयाँ लिएका छन्। त्यो पनि व्यक्तिगत खाताबाट व्याक्तिगत खातामा पैसा लगेर।

‘उद्योगी व्यवसायीबीचको विश्वास कागजको खोस्टो मात्रै होइन, बोली (प्रतिवद्धता)पनि हो। पुरानो मित्रको छोरा, मलाई पिता समान भनेर आदर गर्ने व्याक्ति, अर्बौं सम्पत्ति र उद्योगधन्दाका मालिकले हामीजस्ता व्याक्तिको करोडौं रुपैयाँ ठग्नु त भएन नि?,’ तिमिल्सिनाले बिजमाण्डूसँग भने।

सुलभले आफूलाई प्रतिबद्धता बमोजिम हिमालयन रि इन्स्योरेन्सको सेयर नदिएको गुनासो तिमिल्सिनाले गरे।

कसरी ट्रान्सफर भयो कामाख्या ?

बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीका लागि एउटा लाइसेन्स वितरण गर्ने चर्चा लामो समयदेखि चलिरहेको थियो। त्यसका लागि चार वटा कम्पनीको आवेदन प्राधिकरणमा थियो। चारवटै आवेदन खारेज गरेर प्राधिकरणका नवनियुक्त अध्यक्ष सुर्य सिलवालले २०७८ वैशाखमा २१ दिने प्रस्ताव आव्हान गरे।

हिमालयन रि इन्स्योरेन्सले त्यो लाइसेन्स पाउने लगभग पक्कापक्की थियो। त्यही भएर त्यसका लागि जगदम्बा समूहले पूर्वतयारी गरिरहेको थियो। समूहले हिमालयन रि इन्स्योरेन्समै प्रमोटर सेयर हाल्नका लागि दर्जनौं कम्पनी बनाएको थियो।

त्यसैमध्ये एउटा कामाख्या फिनकोर्प नामक कम्पनी प्राधिकरणले पुनर्बीमा कम्पनीका लागि आवेदन आव्हान गरेको १० दिनपछि २०७८ वैशाख ३१ गते कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भयो। कम्पनीको एकल सेयरधनी थियो जगदम्बा समूहको स्वामित्वमा रहेको जगदम्बा फ्लोर एण्ड एग्रो प्रालि।

यो कम्पनी कामाख्यामा १० लाख कित्ता अर्थात १० करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धतासहित कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको थियो। नयाँ कम्पनीका संस्थापक सेयरधनीको बैठक २०७८ जेठ १८ गते ११ बजे सुलभको अध्यक्षतामा बस्यो। बैठकमा कम्पनीमा ३० दिनभित्र कम्तिमा ४० प्रतिशत रकम जम्मा गर्ने प्रस्ताव पारित भयो।

तर सुलभको त्यो प्रस्ताव तीन घण्टा पनि टिकेन। त्यही दिन २ बजे फेरि बैठक बसेर व्यावसायिक कारणले कम्पनीले पुँजी लगानी गर्न नसक्ने भन्दै सेयर जफत गर्ने निर्णय गर्‍यो।

त्यो निर्णयपछि जगदम्बा फ्लोर मिलका सुलभले कामाख्या फिनकोर्पका सुलभ (आफैंले आफैं) लाई पत्र लेखेर आफूले सेयरको हक छाडेको र त्यो हक अरु कुनै लगानीकर्तालाई बिक्री गरेमा आफ्नो मञ्जुरी रहेको निर्णय दिए।

यसरी जगदम्बा फ्लोर मिलले कामाख्या फिनकोर्पमा छाडेको १० लाख कित्ताको हकमध्ये सुलभकी श्रीमती सुभी अग्रवालले ४ लाख कित्ता खरिद गर्ने प्रस्ताव गरियो। त्यसैगरी ३ लाख ५० हजार कित्ता तिमिल्सिना र साढे दुई लाख कित्ता उनका छोरा प्रज्ञातले खरिद गर्न चाहेको माइन्युट जेठ १८ गते नै तयार भयो।

त्यसको भोलिपल्ट कामाख्याले प्रस्ताव बमोजिम जगदम्बा फ्लोर एण्ड एग्रोको सम्पूर्ण सेयर जफत गर्‍यो भने नयाँ सेयरधनी सुभी, तिमिल्सिना र प्रज्ञातको नाममा बाँडफाँड गर्ने निर्णय गर्‍यो। त्यही दिन सुभीलाई नयाँ कम्पनीको सञ्चालक समिति अध्यक्ष समेत बनाएको कम्पनीको कागजात पत्र केलाउँदा देखिन्छ।

जेठ १९ गते कामाख्याको सेयर बाँडफाँड गरेर सेयर लगत समेत तयार गरियो। त्यसको केही दिनपछि जेठ २३ गते हिमालयन रि इन्स्योरेन्स कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भयो। कम्पनी दर्ता भएको दुई दिनपछि जेठ २५ गते सुभी अध्यक्ष रहेको कामाख्या फिनकोर्पले हिमालयन रि इन्स्योरेन्समा कबोल गरेको ९ लाख कित्तामध्ये २ लाख २५ हजार कित्ता जफत गर्न निवेदन दिने निर्णय गर्‍यो।

यो निर्णयपछि कामाख्या फिनकोर्पसँग हिमालय रि इन्स्योरेन्सको जम्मा ६ लाख ७५ हजार कित्ता मात्रै सेयर रह्यो।

उता सँगसँगै सुले कामाख्या फिनकोर्पमा भएको आफ्नो ४ लाख कित्ता सेयर प्रति कित्ता ८०० रुपैयाँका दरले तिमिल्सिना र प्रज्ञातलाई बेच्ने निर्णय गरिन्।

जुन सेयरको लगत सुभीको नाममा कम्पनी रजिष्ट्रार कार्यालयमा पनि थिएन।

तिमिल्सिनाले २०७८ असार ११ र १४ गते गरेर ६ करोड २५ लाख रुपैयाँ सुभीको खातामा हालिदिए। त्यही पैसाबाट सुभीले असार १४ गते ४ करोड रुपैयाँ कामाख्या फिनकोर्पको खातामा ट्रान्सफर गरेकी थिइन्।

यसरी सुलभले शुन्य लगानीको कम्पनीलाई २८ करोड रुपैयाँमा बिक्री गरे। जुन कुनै पनि दृष्टिकोणबाट जायज देखिंदैन।

तर सुलभले भनेजस्तो हिमालयन रि इन्स्योरेन्सले तत्कालै प्रिमियममा सेयर जारी गर्न पाएन। तीन वर्षपछि सेयर बजारमा सूचीकरण भयो। लाभांश पनि भने अनुसार दिन सकेन। कम्पनीको सर्वसाधारण सेयर अहिले प्रति कित्ता ६०० रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ।

सुलभले आफूसँग प्रतिबद्धता जनाए बमोजिम हिमालयन रि इन्स्योरेन्सको सेयर पनि नदिएको र ठूलो पैसा ठगी गरेको आरोप तिमिल्सनाले लगाउँदै आएका छन्।

‘मैले प्रतिबद्धता बमोजिम सेयर नपाएपछि सुलभलाई यो विषयमा पटक पटक भनेको हुँ। तर उसले सुरुमा मिलाउँछु, मिलाउँछु भन्यो। पछि मसँग संवाद पनि गर्न छाड्यो,’ तिमिल्सिनाले भने, ‘मैले दु:ख गरेर कमाएको पैसा हो। त्यो पैसा तीन वर्षदेखि होल्ड भएको छ। सुदूरपश्चिमको विकट ठाउँमा सिमेन्ट उद्योग लगाउँदै छु। त्यसका लागि पैसा चाहिएको छ। तर उसले फिर्ता दिंदैन।’

तिमिल्सिनाले आफू ठगिएको भन्दै सुलभका परिवारका सदस्य र साथीभाईलाई पनि हिसाब मिलाइदिन आग्रह गरे। सबैले मिल्छ, मिल्छ भनेको तर पछि धम्क्याउन थालेको उनको आरोप छ।

‘सुलभसँग निकट एक साथीले तपाईंको कम्पनी एक महिनामा किन्दिन्छु भनेका थिए। पछि उनैले धम्काउन थाले। म ज्यादै अफ्ठ्यारोमा छु,’ उनले भने, ‘तर म पनि हार मान्नेवाला छैन। प्रहरी, अड्डा अदालत सबैको ढोका ढक्ढकाउँछु। मसँग सबै कागजात छन्। न्याय पाउने विश्वास छ।’

ठगिएका भनिएका तिमिल्सिनालाई अफ्ठ्यारो पार्न थालिएका संकेत पनि देखा पर्न थालेका छन्। केही दिनअघि अचानक सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पत्र लेखेर उनीसँग कागजातहरु मागेको छ।

सुलभले भने सेयरको भाउ घटेपछि तिमिल्सिनाले पैसा माग्न थालेको बताए। ‘सेयरको भाउ सोचे अनुसार माथि गएन। भाउ घटेपछि उहाँले पैसा माग्न थाल्नुभएको हो। मैले कुनै बद्‍मासी गरेको छैन,’ सुलभले भने।