एटीएम मेसिनका भावी मार्गचित्र : भुक्तानीका सहज विकल्पसँगै नगद झिक्नु नपरे के हुन्छ?

बिजमाण्डू
२०८१ बैशाख १२ गते ०६:५५ | Apr 24, 2024
एटीएम मेसिनका भावी मार्गचित्र : भुक्तानीका सहज विकल्पसँगै नगद झिक्नु नपरे के हुन्छ?

पाँच-सात वर्ष अघिसम्म हामी महिनामा कति पटक एटीएममा पैसा निकाल्न जान्थ्यौं ? आजकाल महिनामा कति पटक पुगेर पैसा निकाल्छौं ? यसै हिसाबले हेर्दा एटीएमका आगामी दिनहरु कस्ता रहलान् त ! विकासक्रम रोचक छ।

Tata
GBIME
Nepal Life

विश्वमा पहिलो एटीएम सञ्चालन सुरुवात आजभन्दा करिब ५७ वर्षअघि अर्थात् सन् १९६७ जुन २७ मा बेलायतको वाक्लेज् बैंकबाट एन्फिल्ड सहरमा गरिएको मानिन्छ। नगद भुक्तानी कारोबारमा यो सहज विकल्पलाई धेरै बैंक तथा वित्तीय संस्थाले उपयोग गर्दै गए। एटीएम इन्डष्ट्री एसोसिएसनका अनुसार सन् २०१५ सम्म आइपुग्दा विश्वभर एटीएम मेसिनको संख्या ३५ लाख पुगेको थियो। त्यसयता ‘कार्डलेस पेमेन्ट’ का विकल्प विकास भयो। जसको विकास तीव्रत्तर भइरहेको छ।

नेपालमा एटीएम सञ्चालन सुरुवात हिमालयन बैंकले गरेको हो। सन् १९९५ मा हिमालयन बैंकले ठमेलस्थित आफ्नो प्रधान कार्यालय परिसरमा सञ्चालनमा ल्याएको एटीएम नेपालको पहिलो थियो।

वास्तवमा त्यो सुरुवाती पहल बैंक भित्रको नगद काउन्टरमा पर्ने चापलाई नगद भुक्तानी मेसिनबाट गरिदिई भीडलाई केही हदसम्म व्यवस्थापन गर्ने साधनका रूपमा थियो। त्यसैले यसको नाम पनि ‘अटोमेटेड टेलर मेसिन’ रहन गएको हो, जबकि कसै कसैले यसलाई व्यवहारिक अर्थमा ‘एनी टाइम मनी मेसिन’ पनि भन्छन्, चाहेको बखत पैसा निकाल्न सकिने भएर।

विदेशमा यसैलाई कहीँ कहीँ क्यास मेसिन, क्यास कर्नर वा क्यास डिस्पेन्सर पनि भनिने चलन छ। सुरुका दिनहरुमा एटीएम सेवा बैंकका आफ्ना ग्राहकका लागि, त्यो पनि सम्बन्धित शाखा विशेषकालाई मात्र लक्षित हुने गर्दथ्यो। समयक्रममा सेवा विविधीकरण र विशिष्टिकरण हुँदै गई सम्बन्धित शाखा, बैंकका सेवाग्राही ग्राहकलाई मात्र नभई अन्य बैंक तथा वित्तीय संस्थाका एटीएम कार्डधारक ग्राहकहरुलाई पनि पैसा निकाल्ने लगायतका सुविधा उपलब्ध हुन थालेको हो।

कार्डको नामको हकमा चाहिँ वास्तवमा अहिले चलनचल्तीमा रहेको एटीएम मेसिनमा समेत प्रयोग हुने कार्डलाई डेविट कार्ड भन्नुपर्ने हो, तर जनजीब्रोमा अझै ‘एटीएम कार्ड’ नै भन्ने चलन छ।

विश्व घटनाक्रएक उदाहरण

अनलाइन प्रकाशन ‘द कन्भर्सेसन’ मा यही अप्रिल २०२४ मा प्रकाशित एक खबरका अनुसार अष्ट्रेलियामा एटीएमहरु समेतका लागि आवश्यक नगद ढुवानी गर्ने अर्थात् नगद व्यवस्थापन सेवा प्रदायक कम्पनी ‘आर्मागार्ड’ले (जसले अष्ट्रेलियामा यस व्यवसायको ९० प्रतिशत हिस्सा ओगटेको छ) हाल आएर आफ्नो व्यवसायिक अस्तित्वका लागि संघर्ष गरिरहेको छ, – कारण निरन्तर घट्दो बैंक शाखा संख्या र साथमा घट्दो एटीएम कारोबार। सोही पत्रिका लेख्दछ कि अष्ट्रेलियामा सन् २०१७ मा बैंकको स्वमित्वमा रहेका एटीएम १३ हजार ८ सय १४ वटा रहेकोमा सन् २०२३ मा आइपुग्दा ५ हजार ६ सय ९३ मात्र रहेका छन्।

सबै मुलुकमा ठ्याक्कै यसै स्थिति पक्कै नहोला तर, यसले सम्भावित परिदृष्यको पूर्वसंकेत भने पक्कै गर्छ। विज्ञ जानकारहरु भन्दछन्, विश्वभर नै एटीएमको चाहना र आवश्यकतामा क्रमशः सोच बदलिँदो छ। यो भनाइ अत्यन्त तर्कपूर्ण पनि छ किनकि विद्युतीय भुक्तानीका विकल्पहरु बढ्दै र नगदको प्रचलन कम हुँदै जाँदा एटीएम तर्फको दौडमा स्वभावतः कमी आउने नै भयो। यसका साथै अन्य केही विषयहरु पनि छन् जसले एटीएम व्यवसायलाई प्रभावित पार्ने काम गरिरहेका छन्।

एटएम एक नवन व्यवसायिक पहल

भनिन्छ, एटीएम मेसिनको सुरुवातसँगै बैंकिङ क्षेत्रको व्यवसायिक ढाँचामा नवीन परिवर्तनहरु देखा पर्न थालेको हो। हुन पनि बैंकका तर्फबाट हेर्दा नगद काउन्टर सञ्चालन खर्चमा प्रत्यक्षतः बचत हुने, चाहेका बखत नगद रकम पाइने भएका कारण ग्राहकले आफूलाई आवश्यक न्यूनतम नगद रकममात्र निकाल्ने हुँदा संस्थाको निक्षेप मौज्दातमा सहयोग पुग्ने, संस्थाको समग्र ख्याति/प्रतिष्ठामा अभिवृद्धि हुने आदि भएकाले एटीएम सञ्चालनमा जोडबल थपिँदै गयो।

सेवाग्राहीले पनि हप्ताका सातै दिन चौबिसै घण्टा एटीएम रहेका स्थान, जहाँ कहीँबाट सेवा पाउने, आफ्नै खाताको पैसा निकाल्नकै लागि भनि घण्टौं लाइन बस्न नपर्ने, ठूलो रकम आफूसँग रहँदाको जोखिमबाट मुक्ति पाइने साथै सोही रकम बैंकमा रहिरहँदा ब्याज आर्जन समेत भइरहने भएपछि एटीएम सञ्चालनको माग बढ्दै गयो।

बदलिँदो परिवेश

विद्युतीय भुक्तानीका अन्य सहज विकल्पहरु देखा परेसँगै पछिल्लो एक दशकदेखि भने परिवेश बदलिन थाल्यो। नेपालको परिप्रेक्षमा चर्चा गरौं। विद्युतीय कार्डबाट सिधै भुक्तानी कारोबार गर्न सकिने र विशेषतः मोबाइल बैंकिङ, वालेट लगायतका सुविधाको उपलब्धतापश्चात् नगद लेनदेनको आवश्यकतामा आएको कमीका कारण एटीएमसम्म जाने काममा पनि न्यूनता आयो। यसैबीच एटीएम सम्बन्धि भएका केही ठगी तथा आपराधिक घटनाले पनि बैंक तथा वित्तीय संस्थाहरुलाई थप सावधान बनायो।

प्रतिरुप (ल्कोन) कार्डहरु बनाई २०७६ भदौमा चिनियाँ आपराधिक समूहले संगठित ढंगबाट काठमाडौंको ठमेल तथा दरबारमार्ग क्षेत्रमा एटीएमबाट करोडौं रकम नगद निकालिएको विषय अद्यापि चर्चा हुने गर्दछ। यदाकदा देखिन आउने प्राविधिक कमजोरीहरुलाई सम्बन्धित पक्षले बेलैमा सम्बोधन नगरिदिएका कारण भनेको बेलामा पैसा ननिस्किँदा पनि एटीएमप्रति ग्राहकको भरोसामा आँच पुग्ने अवस्था भयो।

यसरी क्रमशः कारोबार संख्यामा गिरावट आउँदै गएपछि संस्थापन र सञ्चालन खर्चको तुलनामा आम्दानी शुल्क नउठ्दा अधिकांश एटीएम घाटाको व्यापार हुन पुग्यो र पर्यटकहरुको बढी चहलपहल हुने क्षेत्रमा रहेका एटीएममा विदेशी कार्डहरु मार्फत हुने कारोबारबाट मात्र केही भरथेग हुने अवस्था भयो। बैंक तथा वित्तीय संस्थामा नगद भित्रिनेभन्दा पनि बजारमा नगद बाहिरिने भएपछि वित्तीय प्रणालीका दृष्टिबाट पनि एटीएमप्रति चासो राखिनुपर्ने स्थिति भयो।

तथ्यांकीय हिसाबले हेर्दा, नेपालमा भने गत चार वर्षमा एटीएमको संख्यामा औसतमा ५.८२ प्रतिशतले वृद्धि भएको देखिन्छ। नेपालको अवस्था यसरी केही भिन्न देखिनु स्वाभाविक पनि छ। अन्य विकासोन्मुख मुलुकझैँ यहाँ पनि वित्तीय पहुँच क्रमशः बढ्दो अवस्थामा नै छ। नेपाल राष्ट्र बैंकको पछिल्लो एक अध्ययन अनुसार मुलुकको समग्र वित्तीय साक्षरता ५७.९ प्रतिशत मात्र रहेको र १८ वर्ष नाघेका वयस्क जनसंख्यामध्ये पनि लगभग दुई तिहाइले मात्र वित्तीय उपकरणहरुका बारेमा जानकारी राख्दछन् भन्ने पाइएबाट नगद कारोबार प्रतिको आवश्यकतापूर्ण झुकाव स्पष्ट हुन्छ।

मूलरूपमा भन्नुपर्दा विद्युतीय भुक्तानीका लागि आवश्यक वस्तुतन्त्र (इकोसिस्टम) नबनिसकेका कारण अझै एटीएमबाट पैसा निकालिनु पर्ने बाध्यात्मक अवस्था पनि छ। उदाहरणका लागि, निर्माणकर्ताले ठेकेदारलाई एकमुस्ट रकम विद्युतीय माध्यमबाट रकमान्तर गरिदिए पनि श्रमिकलाई भुक्तानी गर्न भने नगद रकम निकाल्नुपर्ने अवस्था छ। विज्ञहरुका अनुसार, यो स्थिति नेपालमा अझै २/४ वर्ष चल्न सक्छ र अर्थ व्यवस्थामा विद्युतीय भुक्तानीको उपस्थिति बढ्दै गएपछि स्वभावतः एटीएमको संख्या र कारोबारमा न्यूनता आउन थाल्दछ।

आगामी दिनहरु

यस हिसाबले हेर्दा यथास्थिति चल्ने हो भने त एटीएमको भविष्य सुरक्षित र प्रतिफलपूर्ण देखिन्न। अन्य प्राविधिक क्षेत्रमा जस्तै यसमा पनि नित नवीन प्रयोग आवश्यक छ र व्यवहारमा, कतिपय विदेशी मुलुकहरुमा सो लागु भइरहेको पनि छ। उदाहरणका लागि हाल प्रचलनमा रहेका एटीएमहरुमा नगद निकाल्ने र मौज्दात हेर्न मिल्नेका अलावा नगद जम्मा गर्ने, खातामा रकम रकमान्तर गर्ने, बिल रकमको भुक्तानी गर्ने, मुद्रा सटही गर्ने, विनाकार्ड पनि रकम निकाल्न सकिने सुविधाहरु उपलब्ध नै छन्।

हामीकहाँ यो फलानो बैंकको एटीएम भनेर चिनिने प्रचलन छ। सोही बमोजिम एटीएम काउन्टरहरु पनि यथासम्भव बैंक परिसरको ढोकानजिकै पारेर राख्ने चलन छ। तर, विदेशतिर भने सोका अलावा सपिङमल, मेट्रो स्टेसन, एअरपोर्ट जस्ता चहलपहल हुने क्षेत्रमा कुनै बैंक विशेषका भन्दा पनि स्वतन्त्र स्वरुपका एटीएम (ह्वाइट लेबल एटीएम) पनि देखिन्छन् र तिनले जुनसुकै बैंकका ग्राहक भए पनि सेवा दिन सक्दछन्। सम्बन्धित विज्ञहरुबाट यसतर्फ पनि सरोकार राखिदिँदा सबैको भलो नै होला।

(कँडेल नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्)