
काठमाडौं। मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले आउँदो वैशाखबाट आँबुखैरेनीस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट संचालनमा ल्याउने भएको छ।
कम्पनीले वैशाख २ गतेबाट मोटरबोट संचालनमा ल्याउने तयारी गरेको कम्पनीका संचालक विष्णु ढकालले बताए।
उनका अनुसार ६ देखि ८ मिनेटसम्मको सयरका लागि २५० रुपैयाँ, १० देखि १२ मिनेटसम्मको लागि प्रति व्यक्ति ५०० रुपैयाँ र १५ देखि २० मिनेटसम्म सयर गर्नका लागि प्रति व्यक्ति एक हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
कम्पनीले थप ३ करोड रुपैयाँ लगानी गरेर जलाशय किनारमा ‘बिच रेस्टुरेन्ट’, फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टरसहितको संरचनाहरू बनाउने तयारी रहेको पनि उनले जानकारी दिए।
आँबुखैरेनी गाउँपालिकाले गत पुस ९ गते बोलपत्र आह्वान गरे पछि प्रतिस्पर्धाका आधारमा बोटेबोराले यो सेवा संचालनको स्वीकृति पाएको उनले बताए।
एक करोड रुपैयाँ लगानीमा संचालनमा ल्याउन लागिएको मोटरबोटमा ‘नेपाल सिप एन्ड बोट बिल्डिङ’ले उत्पादन गरेको बोट प्रयोग गरिने उनले बताए। यसका लागि दुईवटा बोटलाई अग्नि र फिस्टेल नाम दिइएको छ।
मोटरबोट सञ्चालनले मर्स्याङ्दीलाई आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यको रुपमा विकास गर्न सक्ने उनको विश्वास छ।
आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले जलाशय नजिक प्रसिद्ध धार्मिक स्थल अकलादेवी पनि रहेकाले धार्मिक पर्यटकहरुलाई समेत मोटरबोटमा आकर्षित गर्न सकिने बताए।
यसअघि नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकहरुलाई मोटरबोट सेवा दिँदै आएको बोटेबोराले छिटै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट संचालनमा ल्याउने तयारी गरिरहेको छ।