‘व्यवस्थापनकै चाहनाअनुसार नेपालमा लगानी गर्न खोज्दैछौं,’ अडानी समूहका उपाध्यक्ष पुनिधनको अन्तर्वार्ता

बिजमाण्डू
२०८१ बैशाख १२ गते १५:३० | Apr 24, 2024
‘व्यवस्थापनकै चाहनाअनुसार नेपालमा लगानी गर्न खोज्दैछौं,’ अडानी समूहका उपाध्यक्ष पुनिधनको अन्तर्वार्ता

फोर्ब्सका अनुसार भारतीय धनाढ्य गौतम अडानी अर्बपतिहरुको सूचीमा १७औं स्थानमा छन्। भारतको पूर्वाधार र ऊर्जा क्षेत्रमा आक्रामक लगानी गरिरहेको अडानी समूह अहिले भारतीय बजारलाई हेरेर छिमेकमा पनि लगानी बढाउने अवस्थामा पुगेको छ।

Tata
GBIME
Nepal Life

जलविद्युतको ठूलो सम्भावना बोकेको नेपाल अडानी समूहको प्राथमिकतामा छ। लगानी गर्न सक्ने सम्भावित जलविद्युत परियोजनादेखि विमानस्थल क्षेत्रबारे अडानी समूहले  नेपालको उच्च तहसम्म छलफल गरिरहेको छ।

नेपाल सरकारले आगामी आइतबार र सोमबार काठमाडौंमा लगानी सम्मेलन गर्दैछ। तर, अडानी समूह सहभागी नहुने निश्चित भइसकेपनि समूहका एक महत्त्वपूर्ण पात्र काठमाडौंमा छन्। अडानी समूहको जलविद्युत क्षेत्र हेर्ने उपाध्यक्ष जयरमन पुनिधनलाई बिजमाण्डूका विज्ञान अधिकारी उन्नत सापकोटाले सोधे- प्रतिष्ठित घराना अडानी समूहले भारतसँगै विभिन्न देशहरुमा अर्बौं लगानी गरिरहेको छ। पछिल्लो समय अडानी समूहले नेपाललाई लगानीको दृष्टिले प्राथमिकतामा राख्न थालेको पाएका छौं। किन अडानी समूहले नेपालको विभिन्न क्षेत्रमा लगानीका लागि हात बढाउन खोजेको हो?  

तपाईंले सही भन्नु भयो। अडानी समूह ग्लोबल कन्ङ्लोमरेट हो। हामीले विभिन्न क्षेत्रमा लगानी गर्ने गरेका छौं।

अहिले मसहितको टिम स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)ले आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पो २०२४ का लागि उपस्थित भएका हौं। सो अवसरमा हाइड्रोमा पम्प स्टोरेज प्रविधिको विषयमा केन्द्रित हुँदैछौं। ऊर्जा व्यापारको कुरा गर्दा हाम्रो मुख्य ध्यान भारत नै हो। त्यहाँ पम्प स्टोरेज प्रविधिबाट करिब ३० गिगावाट ऊर्जा उत्पादन गर्ने लक्ष्य हाम्रो छ। 

भारतमा नवीकरणीय स्रोतहरुको पहुँचका कारण सोलार र वायु ऊर्जाको प्रयोगलाई न्यूनीकरण गर्दै पम्प स्टोरेजलाई अघि बढाइरहेका छौं। भारत सरकारले पनि यसको प्रयोगलाई बढाउनुपर्ने नीति लिएको छ। भारतमा त छँदैछ बाहिरको बजार पनि अध्ययन थालेका छौं। छिमेकी बजारको रुपमा नेपाल, भुटानलगायतका क्षेत्रमा अध्ययन थालेका छौं। अहिलेको परिस्थितिमा हामी निकै सुरुआती चरणमा छौं, अध्ययन गरिरहेका छौं। बजारको सम्भाव्यता अध्ययन गरिरहेका छौं त्यसमा प्रवेश गरिसकेका छैनौं। 

सम्भावना बोकेका क्षेत्रहरु पहिचान गर्ने प्रयास गरिरहेका छौं। नेपालमा चौधरी समूह हाम्रो एक्सक्लुसिभ साझेदारकोरुपमा उभिएको छ। सिमेन्ट उत्पादनमा हामी नेपालमा सँगै छौं। जलविद्युत र पम्प स्टोरेजको सवालमा हामी अध्ययनकै क्रममा छौं। 

अडानी समूहका अध्यक्ष गौतम अडानीको व्यक्तिगत चाहना र इच्छाअनुसार नै तपाईंहरुले नेपालमा काम गरिरहनु भएको हो कि समूहकै योजना मुताबिक लगानीको बाटो हेरिरहनु भएको हो?

अहिले नै लगानी गर्ने निधो गरिरहेका छैनौं। बजारबारे अध्ययन भइरहेको छ। नेपाली बजार र सम्भाव्यताको विषयमा अध्ययनपछि हामी पक्कै पनि हाम्रो कम्पनी व्यवस्थापनमा प्रस्ताव पुर्‍याउँछौं। सञ्चालक तथा व्यवस्थापनले के गर्छ सोहीअनुसार हामी अघि बढ्ने हो। वहाँहरुकै चाहनाअनुसार हामीले लगानीका लागि अध्ययन गरिरहेका छौं। हामीले प्रस्ताव लैजान्छौं। सुरुवात मै छौं हामी। नेपालमा पम्प स्टोरेजको ठूलो सम्भाव्यता देखेका छौं। नेपाल जलविद्युतमा पनि धेरै सम्भावना भएको राष्ट्र हो। 

तर, ऊर्जासम्बन्धी परियोजना नेपालमा अघि बढाउन धेरै विषयमा विचार पुर्‍याउनुपर्ने हुन्छ। प्राविधिक विषयमा विशेष ध्यान दिनुपर्छ। उदाहरणका लागि जलविद्युत वा पम्प स्टोरेज परियोजना अघि बढाउँदा हिमताल फुटेर हुन सक्ने जोखिम, हाइड्रोलोजी, सेडिमेन्टेसन, निर्माण सामग्रीको उपलब्धता तथा पहुँच, प्राकृतिक टोपोग्राफीलगायतका चुनौती हुन्छन्। अहिले हामी यिनै विषयमा सोधीखोजी गर्दैछौं। 

पढ्नुस् : अडानी समूह ३२५ मेगावाटको माथिल्लो भेरी जलविद्युत आयोजनामा लगानी गर्न इच्छुक

प्राविधिक पाटोबाहेक नेपालमा लगानीका लागि विभिन्न चुनौती पनि छन्। भू-राजनीतिक मात्रै नभएर सरकारको पोजिसन, गठबन्धन फेरबदललगायतका चुनौती अझै छन्। यसले नेपालले लिने नीतिमा पनि प्रभाव पक्कै पार्छ। अडानी समूहको महत्त्वपूर्ण पदमा रहँदा र नेपालबारे बुझ्दा तपाईंले के पाउनुहुन्छ?

म प्राविधिक मान्छे हुँ भूराजनीतिमा प्रवेश गर्न चाहन्न। म जलविद्युत इन्जिनियर भएको नाताले नेपालमा चुनौती भनेको हाइड्रोलोजी, सेडिमेन्टेसन, टोपोग्राफीलगायत छन्। नेपालको नीति तथा कानूनी मामिलाको  विषयमा यदि नेपालले भारततर्फ बिजुली निर्यात गर्ने हो भने दुवै देशलाई ‘विन-विन’ स्थिति हुनुपर्छ। 

नेपाल र भारत सरकारले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली भारत निर्यात गर्ने समझदारी गरिसकेका छन्। यो हाम्रा लागि पनि राम्रो अवसर हो नेपालमा लगानी गर्न। यदि नेपालमा जलविद्युतसँगै पम्प स्टोरेज परियोजना निर्माणका लागि सहज वातावरण भयो भने भारतका धेरै निजी क्षेत्रले नेपालमा लगानी अघि बढाउँछन्। 

तपाईंलाई लाग्छ नेपालमा विदेशी लगानीका लागि सहज वातावरण छ?  

हो, त्यही स्थिति हामी अध्ययन र विश्लेषण गरिरहेका छौं। निष्कर्षमा पुगिसकेका छैनौं। हामी ड्यू डेलिजेन्स प्रतिवेदन निर्माण गर्दैछौं। परियोजनाको सबै पक्षका विषयमा गम्भीर ढंगले अध्ययन गरिरहेका छौं। छिट्टै हामी अध्ययन सकेर प्रतिवेदन तयार गर्छौं। हामी त्यस्ता परियोजनामा हात हाल्छौं जहाँ हामीले केही काम पूरा गर्न सक्छौं। 

प्रारम्भिक अध्ययन गर्नलाई अडानी समूहलाई नेपाल आउन केले आकर्षित गर्‍यो? तपाईंहरुले अपेक्षा के हो? नेपालमा के गर्न सकिन्छ भन्ने तपाईंहरुको आशा हो?   

अहिले यो विषयमा बोल्न धेरै हतारो हुन्छ जस्तो लाग्छ। लगानीको विषयमा अहिले नै केही भन्न सक्ने अवस्था छैन। त्यो हाम्रो अध्ययन व्यवस्थापनसम्म पुगेपछि उसले निर्णय लिने विषय भयो। हाम्रो काम भनेको बजार कस्तो हो यस्ता विषयमा अध्ययन गरिरहेका छौं। चौधरी समूहले त्यसमा सघाइरहेको छ। मुख्य कुरा बनेको मार्केट स्टडी गरिरहेका छौं।

हामीले त अडानी समूहले नेपालको मुगु कर्णाली जलविद्युत परियोजना निर्माण गर्न चाहेको सुनिरहेका छौं नि?  

होइन, हामीले त्यस्तो गर्न खोजेको जस्तो लाग्दैन। हामी निकै प्रारम्भिक चरणमा छौं। तर, केही विषयमा हामीले नन् डिस्क्लोजर एग्रिमेन्ट (एनडीए) गरेका पनि छौं। अहिले एकदमै प्रि-म्याच्योर अवस्थामा छौं। 

पढ्नुस् : लगानी सम्मेलनमा अडानी नआउने, लगानीकर्तामाथिको ह्यारेसमेन्ट र प्रोजेक्ट नदेखेपछि हच्किए

नेपालमा प्रसारणलाइन निर्माणबारे के छ अडानी समूहको योजना?

अडानी इनर्जी सोलुसन भारतको सबैभन्दा ठूलो निजी क्षेत्रको ट्रान्समिसन लाइनसम्बन्धी काम गर्ने प्लेयर हो।  नेपालमा अवसर सृजना भएर सम्भाव्यता अध्ययन सफल हुने किसिमका परियोजना आयो भने अडानी समूहका लागि त्यो आकर्षक क्षेत्र बन्न सक्छ।

अडानी समूह कतिसम्मको लगानी बोकेर नेपालको ऊर्जा क्षेत्रमा आउन सक्छ? नेपालले के कस्ता नीतिगत सुधार गर्नुपर्ने वा आवश्यक देख्नु हुन्छ? जसले तपाईंहरुलाई लगानी नेपाल डाइभर्ट गर्न सहज होस्। 

यो अडानी समूहको मात्रै कुरा होइन। हेर्नुस् कुनै पनि परियोजना डेभलपरले सुरुमा प्राविधिक सम्भाव्यता हेर्छ। प्राविधिकसँगै व्यावसायिक सम्भाव्यता हेर्छ। धेरै भारतीय डेभलपर वा लगानीकर्ता आकर्षित हुने भनेको निर्यात हुन वा गर्न सक्ने परियोजनामा हो। हामी पनि त्यही विषयमा अनुकूलता हेर्छौं।

अडानी समूहले विभिन्न देशहरुमा लगानी विस्तार गरिरहेको छ। भुटान पनि तपाईंहरुको सम्भावित लगानी हुन सक्ने डेस्टिनेसन देखिन्छ। भुटान र नेपालको तुलना गर्दा के पाउनुहुन्छ। हाम्रो नीति, कर्मचारीतन्त्रको सोचाईंमा के फरक पाउनु हुन्छ?  

भुटानमा अहिलेसम्म अडानी समूहले लगानी गरेको छैन। प्रारम्भिक भ्रमण मात्रै गरेका छौं। नेपाल आएजस्तै भुटान पनि भ्रमण गरेका हौं। लगानी गरिसकेका छैनौं। भुटानमा पनि हामी अध्ययन कै क्रममा छौं। यसमा कमेन्ट गर्न पनि एकदमै हतारो हुन्छ। पूर्णरुपमा अध्ययन गरेपछि के गर्छौं तब मात्रै भन्न सक्छौं। त्यसपछि भुटान र नेपालमा के रहेछ भन्न सक्छौं।