मेल्टिङ युनिट भएका स्टिल उद्योगको यस्तो छ मूल्य अभिवृद्धि, को-को लाभान्वित ?

अनन्तराज न्यौपाने
२०८१ बैशाख १३ गते ०९:२२ | Apr 25, 2024
मेल्टिङ युनिट भएका स्टिल उद्योगको यस्तो छ मूल्य अभिवृद्धि, को-को लाभान्वित ?

विराटनगर। मेल्टिङ युनिट भएका स्टिल उद्योगले बिलेटमा आधारित उद्योगको तुलनामा ३ गुणाभन्दा बढी मूल्य अभिवृद्धि गरिरहेको पाइएको छ। बिलेटमा आधारित उद्योगले १८ र मेल्टिङ उद्योगले ५५ प्रतिशत मूल्य अभिवृद्धि गरेको पाइएको हो।

Tata
GBIME
Nepal Life

पूर्वका स्टिल उद्योगले मेल्टिङ र बिलेट युनिटले डन्डी उत्पादन गर्दाको प्रक्रिया र लागत अध्ययन गरेका थिए।

अध्ययनका क्रममा फागुन दोस्रो साता स्पन्ज आइरन प्रति किलो ४८ रुपैयाँमा आयात भइरहेको थियो। त्यस्तै त्यस बेला उद्योगहरूले फलामका स्क्र्याप प्रति किलो ६० रुपैयाँमा खरिद गरेका थिए। मेल्टिङ युनिटले सामान्यतया स्पन्ज आइरन ७० र स्क्र्याप ३० प्रतिशत प्रयोग गरेर बिलेट उत्पादन गर्दै आएका छन्।

उक्त मूल्यअनुसार मेल्टिङ उद्योगले १ सय किलो कच्चा पदार्थ पगाल्नुपर्दा ७० किलो स्पन्जको ३ हजार ३६० रुपैयाँ र ३० किलो स्क्र्यापको १ हजार ८ सय रुपैयाँ गरी कुल ५ हजार १६० रुपैयाँ खर्च हुन्छ। यस हिसाबले १ किलोको ५१.६० रुपैयाँ लाग्छ। तर प्रशोधनका क्रममा १५ प्रतिशत कच्चा सामग्री खेर जान्छ। यसरी खेर जाँदा प्रति किलो कच्चा पदार्थको लागत ५९.३४ रुपैयाँ पुग्छ।

बिलेट युनिटले भने प्रति किलो ६८ रुपैयाँमा बिलेट खरिद वा आयात गर्छन्। बिलेटको प्रोसेसिङमा पनि १५ प्रतिशत ह्रास हुन्छ। यसअनुसार १ किलो बिलेटको वास्तविक मूल्य ७०.७२ रुपैयाँ पर्न आउँछ।

त्यस्तै मेल्टिङ युनिटले १ किलो डन्डी उत्पादन गर्न ९ रुपैयाँको बिजुली खर्च गर्छन्। स्पन्ज र स्क्र्याप गरी १ टन कच्चा पदार्थ भट्टीमा पगालेर बिलेट बनाउँदा ८५० र त्यसबाट डन्डी बनाउँदा १५० गरी १ हजार युनिट विद्युतको खपत हुन्छ। यसअनुसार १ किलोमा १ युनिटका दरले ९ रुपैयाँ भएको हो।

उता बिलेट युनिटले १ टन बिलेट प्रशोधन गर्दा १५० युनिट विद्युत् खपत गरेका हुन्छन्। यस हिसाबले १ किलो प्रशोधन गर्दा प्रति युनिट ९ का दरले १.३५ रुपैयाँ विद्युत् महसुल लाग्छ।

अध्ययनअनुसार प्रति किलो डन्डी उत्पादन गर्दा जनशक्तिमा मेल्टिङ युनिटतर्फ ३.५० रुपैयाँ र बिलेट युनिटतर्फ १ रुपैयाँ लाग्छ।

त्यस्तै मेल्टिङ युनिटमा औद्योगिक स्पेयरपार्टस् र अन्य सामग्री प्रति किलो ३ रुपैयाँ खर्च हुँदा बिलेट युनिटमा ५० पैसाभन्दा खर्च हुँदैन।

मेल्टिङ युनिटमा डन्डी उत्पादन गर्दा डिजलको आवश्यकता पर्दैन भने बिलेट युनिटमा प्रति किलो २ रुपैयाँको डिजल चाहिन्छ।

युनिट ठूलो भएकाले मेल्टिङतर्फ ऋण ठूलै हुन्छ। प्रति किलो डन्डीमा बैंकको ब्याज ५ रुपैयाँ तिर्नुपर्छ। बिलेट युनिटले ३ रुपैयाँ तिरेको हुन्छ। यसप्रकार एक किलो टीएमटी उत्पादन गर्दा मेल्टिङ युनिटले २०.५० रुपैयाँ र बिलेट युनिटले ७‍.८५ रुपैयाँ कुल खर्च गर्छन्।

माथि उल्लेख भएअनुसार मेल्टिङ युनिटमा १५ प्रतिशत ह्रास भएपछिको १ किलो कच्चा सामग्रीको मूल्य ५९.३४ रुपैयाँमा प्रशोधन लागत २०.५० रुपैयाँ जोड्दा ७९.८४ रुपैयाँ हुन आउँछ। फागुनमा मेल्टिङ युनिटले एक किलो फलामे डन्डी मूअकरबाहेक ८० देखि ८१ रुपैयाँमा बिक्री गरेका थिए।

उता बिलेट युनिटमा १५ प्रतिशत खेर गएपछिको एक किलो कच्चा पदार्थको मूल्य ७०.७२ रुपैयाँमा कुल उत्पादन लागत ७.८५ रुपैयाँ जोड्दा ७८.५७ रुपैयाँ हुन आउँछ। फागुनमा बिलेट युनिटले पनि एक किलो डन्डी मूअकरबाहेक ८० देखि ८१ रुपैयाँमै बिक्री गरेका थिए।

यस हिसाबले मेल्टिङले भन्दा बिलेट युनिटले प्रति किलो १.५० रुपैयाँ बढी आर्जन गरेको देखिन्छ। जबकि मेल्टिङ युनिटले ५५.४ र बिलेट युनिटले १७.६५ प्रतिशत मूल्य अभिवृद्धि गरेका छन्।