बुढानीलकण्ठमा पाँचतारे होटल लेमन ट्री प्रिमियर, सफ्ट ओपनिङमै एलिटहरुको भिड

भावना शर्मा
२०८१ बैशाख १४ गते ०९:०५ | Apr 26, 2024
बुढानीलकण्ठमा पाँचतारे होटल लेमन ट्री प्रिमियर, सफ्ट ओपनिङमै एलिटहरुको भिड

काठमाडौं । पाँच वर्ष अघि जतिबेला उनीहरुले बुढानीलकण्ठमा पाँचतारे होटल खोल्ने तयारी गरिरहेका थिए, उत्साह यस्तो थियो कि उनीहरु भन्थे : होटल त सन् २०२१ बाटै संचालनमा ल्याइनेछ।

Tata
GBIME
Nepal Life

त्यसै अनुसार तीब्र गतिमा निर्माण चल्दै पनि थियो। सुरुवातमा सानो टिमले ड्रिम प्रोजेक्टका रुपमा थालेको यो भेन्चरलाई अवरोध गरिदियो कोभिड-१९ महामारीले। महामारी सुरु भएपछि प्रोजेक्ट बनाउनै समय लाग्यो। लागत र अवधि लम्बिँदै गए पनि टिमको ‘स्पिरिट’ उस्तै थियो। त्यसैले लगानीकर्ताहरु थपिँदै गए। प्रा.लिबाट पब्लिक कम्पनीमा परिणत गरेपछि अझ ठूलो र बलियो टिम बन्यो।

पुराना सबै दु:ख बिर्साउने गरि उनीहरुको सपनाले आकार लिएको छ अहिले, बुढानीलकण्ठ हेरिटेजको ‘होटल लेमन ट्री प्रिमियर’ का रुपमा।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रको फेदीमा निर्माण भएको शानदार बिल्डिङमा लेमन ट्री प्रिमियर केही अघिमात्र पूर्ण संचालनमा आएको हो। यद्यपि, होटलको औपचारिक उद्घाटन हुन भने बाँकी नै छ। तर, संचालनमा आउनासाथ बजारबाट पाएको ‘रेस्पोन्स’ले आफूहरुलाई निकै उत्साहित बनाएको होटलका प्रबन्ध संचालक बाबुकाजी कार्की बताउँछन्। यही उत्साहले चाँडै अर्को ठाउँमा होटल खोल्ने योजना समेत टिमले बनाइसकेको कार्कीले सुनाए।

भारतको ठूलोमध्येको एक चेन होटल ब्राण्ड लेमन ट्रि प्रिमियरले यस होटल संचालनको जिम्मा लिएसँगै आन्तरिकसँगै बाह्रय पर्यटन बजारको बृहत् सञ्जालसँग होटल जोडिएको छ। प्रबन्ध संचालक कार्कीका अनुसार अन्तर्राष्ट्रिय पर्यटकहरुको ‘फुटफल’ बढाउन उपयुक्त ब्राण्डका रुपमा भारतमा स्थापित ब्राण्ड लेमन ट्री प्रिमियरलाई व्यवस्थापनको जिम्मा दिइएको हो।

बुढानीलकण्ठ मन्दिरबाट करिब ५०० मिटरको दुरीमा पर्ने यो पाँचतारे होटल करिब १२ रोपनीमा फैलिएको छ।

ध्यान केन्द्र, स्वीमिड पुल र हेल्थ क्लबको सुविधासहित संचालन भएको यो होटलमा प्रेसिडेन्सियल, इक्जेक्युटिभ र डिलक्स क्याटेगोरीका १०२ कोठाहरु छन्। कोठाको मूल्य ९ हजार ९९९ रुपैयाँदेखि सुरु हुन्छ। यहाँ बैंक्वेट र क्यासिनो समेत संचालन हुने प्रबन्ध संचालक कार्कीले बताए।   

होटल वा रिसोर्ट सम्झँदा हामी सबैभन्दा पहिले त्यहाँको एम्बियन्स, हस्पिटालिटी वा खाना नै सम्झन्छौं। पक्कै पनि यी सबैको संयोजनले मात्रै कुनै पनि होटल वा रिसोर्टलाई सुन्दर बनाउने हो। लेमन ट्री प्रिमियरमा यी सबै तत्वहरुको लोभलाग्दो संयोजन छ। त्यसमाथि बुढानीलकण्ठ क्षेत्रमा सबैको आँखा पर्ने गरि डाडाँमा बनेको यो बिल्डिङले जो कोहीलाई सजिलै तान्छ। यहाँको रेष्टुरेन्टमा पाइने परिकारहरु त गज्जबका छँदैछन्, सेफहरुको उत्साह पनि हेर्न लायकको छ। 

लेमन ट्री प्रिमियर होटल संचालन गर्ने बुढानीलकण्ठ हेरिटेज कम्पनीमा संस्थापकहरुको ८५ करोड लगानी रहेको प्रबन्ध संचालक कार्कीले जानकारी दिए। प्राथमिक सेयर निष्कासनपछि चुक्ता पुँजी १ अर्ब पुग्नेछ। उनका अनुसार होटलले १५ लाख किता साधारण सेयर बिक्रीमा ल्याउन प्रक्रियामा गइसकेको छ।

प्रबन्ध संचालक बाबुकाजी कार्की

यो होटल शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट करिब १ किलोमीटर पूर्वमा पर्छ। नजिकैका वन क्षेत्रहरुको प्राकृतिक वातावरणले यस क्षेत्रको तापक्रम काठमाडौं सहरभित्रको भन्दा केही कम नै भइरहन्छ। गर्मी मौसममा बाक्लो सहरको तातो छल्न कम्तीमा दुई घण्टाको दूरीमा पर्ने धुलिखेल वा नगरकोट जानुभन्दा काठमाडौंको चक्रपथबाट फुत्त निस्केर ५ किलोमिटर परको लेमन ट्रीमा आउने गरि बजार तान्ने प्रयास होटलले गर्ने प्रबन्ध संचालक कार्कीले बताए।

खासमा काठमाडौंबाट कम ट्राफिक र सजिलो रोड कनेक्टिभिटीको लाभ यस होटलले लिन सक्ने देखिन्छ।

होटल नजिकै हिन्दू तथा बौद्ध धर्मावलम्बीका पवित्र स्थलहरु पनि छन्। नजिकै रहेको खप्तड स्वामी समाधिस्थल, नासल देवी लक्ष्मी देवी डाँडा र धोबी ढुंगा, नागी गुम्बा र न्हेडुप सेडुप फन्चोलिङ गुम्बाको छोटो यात्रा पनि यहाँको बसाईको विशेषता हो। होटलदेखि करिब डेढ किलोमीटरको दुरीमा विपश्यना ध्यान केन्द्र पनि छ।

यहाँ पुग्नेले होटलबाट परसम्म फिँजिएको सहर र वरपरको जंगल एकैसाथ नियाल्न सक्छन्। आन्तरिक पर्यटकहरुका लागि डे-केसन, स्टे-केसन, अल डे डाइनिङ रेष्टुरेन्ट अनि बारको विशेष प्याकेजहरु ल्याउने तयारी गरिरहेको लेमन ट्रि प्रिमियरका महाप्रबन्धक मोहन थापाले बताए।

उनका अनुसार भारतमा लामो समयदेखिको हस्पिटालिटी अनुभवका कारण लेमन ट्री प्रिमियरले नेपालमा पर्यटकहरुका लागि उत्कृष्ट सेवा दिने छ।

होटलमा वर्क डेस्कसहितको फराकिलो कोठाहरु र प्रत्येक कोठाको आफ्नै बाल्कोनी छ। सिट्रस क्याफे, बार, ब्यांकेट हल र बिजनेसका लागि मिटिङ रुमहरु पनि यहाँ छुट्याइएका छन्।  बिजनेस र लिजर ट्राभलर दुवैका लागि उपयुक्त हुने गरि होटल तयार पारिएको हो।

महाप्रबन्धक मोहन थापा

मल्टिकुजिन रेष्टुरेन्टका रुपमा संचालनमा रहेको सिट्रस क्याफेमा बुफे, आलाकार्ट वा कन्टिनेन्टल खानाको स्वाद लिन सकिने प्रमुख सेफ बैभव कौसिकले बताए। 

यहाँको रुचाइएको परिकारमध्ये दही कवाफ अत्यधिक रुचाइएको स्टार्टर हो।

लेमन ट्री प्रिमियरको किचनमा हेड सेफ बैभव कौसिक

यहाँको मेन कोर्स मध्ये ग्रिल चिकेन ब्रेस्ट, सिजर सलाद, तन्दुरी चिकेनका साथै दाल मखानी जस्ता भारतीय ‘अथेन्टिक’ खानाका परिकार ग्राहकले मन पराएका छन्। डिजर्टका रुपमा सर्भ गरिने ब्राउनी काठमाडौंकै ‘उत्कृष्ट’ भएको दाबी सेफ कौसिकले गरे।

भारतीय सेफले नै तयार पार्ने मिठाइका परिकारहरु पनि उत्तिकै लोभलाग्दो सजावटका साथ टेबलसम्म ल्याइन्छ।

लेमन ट्री प्रिमियर भारतमा ‘मिड प्राइस’ होटलहरुमध्ये सबैभन्दा ठूलो चेन संचालन गरिरहेको लेमन ट्री होटल लिमिटेडको प्रिमियर ब्राण्ड हो।

दिल्ली बेस्ड लेमन ट्री होटल्स सन् २००२ मा स्थापना भएको हो जसले २० वर्षमा १२० भन्दा बढी होटलहरु संचालनमा ल्याइसकेको छ। कम्पनीले सातवटा विभिन्न क्याटोगोरी र ब्राण्डमा फरक फरक वर्गका ग्राहकलाई लक्षित गर्दै सेवामा विविधिकरण गरेको छ। कम्पनीले अपस्केल, अपर मिड स्केल, मिड स्केल र इकोनोमी सेगमेन्टलाई सेवा दिन्छ। सो ‍कम्पनीले नेपालमा व्यवस्थापन गरेको लेमन ट्री प्रिमियर अपर मिड स्केलको होटल हो।

औरिका होटल्स एण्ड रिसोर्ट्स, लेमन ट्री प्रिमियर, लेमन ट्री होटल्स, रेड फक्स होटल्स, किज प्रिमा, किज सेलेक्ट, किज लाइट ब्राण्डमा कम्पनीले होटलहरुको संचालन व्यवस्थापन र फ्रेन्चाइजी उपलब्ध गराउँदै समेत आएको छ।

हाल कम्पनीको भारत र बाहिर गरि १६० भन्दा बढी होटलहरु छन्। जसमध्ये १२० भन्दा बढी होटल संचालनमा आइसकेका छन् भने ४० भन्दा बढी होटल भारत र अन्य देशमा खुल्ने क्रममा छ।

कोठा संचालनका हिसाबले लेमन ट्री भारतकै सबैभन्दा ठूलो चेन होटल हो। भारतको मिड मार्केट होटल स्पेसलाई ब्राण्डेड होटलहरु दिएर आफ्नो हिस्सा विस्तार गरिरहेको होटलले नेपालमा बुढानीलकण्ठको यही प्रोपर्टीबाट आफ्नो ब्राण्ड स्थापित गर्दै देशका अन्य सहरमा समेत विस्तार गर्ने लक्ष्य राखेको महाप्रबन्धक थापाले बताए।

लेमन ट्रि आफ्नो हस्पिटालिटी र स्टाफहरुलाई ग्रुमिङ र केयर गर्ने विषयमा अब्बल रहेको थापाको दाबी छ। उनले होटलमा कार्यरत स्टाफहरुलाई सन्तुष्ट बनाएर ग्राहकहरुलाई उत्कृष्ट हस्पिटालिटी दिने नीतिले भारतमा सफल भएकोले नेपालमा पनि सोही अनुसारको रणनीति लिएर काम गर्ने बताए।

उनले बाह्रय पर्यटकलाई मात्र नभई स्थानीय मानिसलाई नियमित रुपमा होटलमा आउन सक्ने किसिमका प्याकेज दिनेतर्फ पनि योजना बनाएको बताए।

‘हामी आन्तरिक ग्राहकहरुलाई राम्रा अफर दिएर होटलमा ल्याउन चाहन्छौं। कर्पोरेट वर्गको लागि मिटिङ, रिट्रिट र सभा सम्मेलन गर्ने स्थलका रुपमा पनि ब्राण्डिङ गर्ने योजना छ। बैंक्वेट हलले यहाँको स्थानीयलाई आकर्षित गर्ने प्याकेज बनाउनेछौं। यो लोकेसनका कारण डेस्टिनेसन वेडिङका लागि भारतबाट पर्यटक ल्याउन सकिन्छ भन्नेमा म विश्वस्त छु,’ महाप्रबन्धक थापाले भने।