झण्डै दुर्घटना निम्त्याएका क्याप्टेन डंगोल जसलाई गरिंदैछ ३ देखि ६ महिना ग्राउण्डेड

वसन्तराज उप्रेती
२०८१ बैशाख २८ गते १२:२६ | May 10, 2024
झण्डै दुर्घटना निम्त्याएका क्याप्टेन डंगोल जसलाई गरिंदैछ ३ देखि ६ महिना ग्राउण्डेड

काठमाडौं। सिम्रिक एयरका क्याप्टेन रानेश डंगोललाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कारबाहीको तयारी गरेको छ। हेलिकोप्टर उडानमा लापर्बाही गरेको पाइएपछि क्यानले उनलाई कारबाहीको तयारी गरेको हो।

Tata
GBIME
Nepal Life

क्यानका प्राविधिकहरुले गरेको छानबिनबाट क्याप्टेन डंगोलले उडानमा गम्भीर लापर्बाही गरेको देखिएको छ। उनले वैशाख १८ गते लुक्लाबाट काठमाडौं फर्किने क्रममा हेलिकोप्टर पूर्वतिरबाट ल्याउनुपर्नेमा दक्षिण पश्चिमबाट ल्याएका थिए। जसका कारण हेलिकोप्टरसँग कतार एयरवेजको जहाज झण्डै ठोक्किन पुगेको थियो।

त्रिभुवन विभानस्थलका प्राविधिकहरुका अनुसार डंगोलले पूर्वतर्फ नलिञ्चोक वा साँखुबाट हेलिकोप्टर ल्याउनुपर्नेमा दक्षिण पश्चिमबाट ल्याएकाले न्यूनतम १,००० फिट हुनुपर्ने दुई जहाजबीचको दूरी २०० फिट हुन पुगेको थियो।

जहाज कतारको दोहाबाट यात्रु लिएर आइरहेको थियो भने हेलिकोप्टरमा पनि ५ यात्रु थिए।

तर जहाजका क्याप्टेनको सतर्कताका कारण दुर्घटना टरेको थियो। जहाजको टिकासले सम्भावित दुर्घटनाको संकेत गरेपछि क्याप्टेनले सतर्कता अपनाएका थिए।

क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलले क्याप्टेन डंगोलले उडानमा लापर्बाही गरी ठूलो दुर्घटनाको जोखिम निम्त्याएको पाइएकाले कारबाही गर्ने तयारी गरिएको जानकारी दिए। उनका अनुसार डंगोललाई ३ देखि ६ महिना ग्राउण्डेड गर्न सिफारिस गरिएको छ।

‘जहाज र हेलिकोप्टर झण्डै ठोक्किने अवस्थामा पुग्नु निकै संवेदनशील विषय हो। यसमा क्याप्टेन डंगोल दोषी पाइएकाले कारबाहीको सिफारिस भएको हो। कारबाहीस्वरुप कति महिना ग्राउण्डेड गर्ने भन्ने निर्णय महानिर्देशकज्यूले गर्नुहुनेछ,’ भूलले भने।

यस विषयमा सिम्रिक एयरले पनि छानबिन गरी प्रतिवेदन क्यानमा बुझाएको छ। क्यानले उक्त प्रतिवेदन पनि अध्ययन गरिरहेको छ।

क्याप्टेन डंगोलले उडानमा लापर्बाही गरेको यो पहिलो पटक होइन। उनी यसअघि पनि उडानमा लापर्बाहीका कारण क्यानको कारबाहीमा परेका थिए।

कारबाहीमा परेको घटना यस्तो थियो

उनी प्रभु हेलिकोप्टरमा रहँदाको कुरा हो, २०७९ माघ पहिलो साता प्रभु हेलिकोप्टरको जहाज फुटबल प्रतियोगिता चलिरहेको मैदानमा अवतरण भयो। जहाजमा क्याप्टेन थिए, उनै डंगोल।

उनले पोखरा-स्याङजा उडानका क्रममा हेलिकोप्टर वालिङको फुटबल मैदानमा अवतरण गरे जहाँ वालिङ गोल्डकपको सेमिफाइनलमा एभिनियर एएफसी क्यामरुन र वालिङ एएफसी जुनियरबीच प्रतिस्पर्धा भइरहेको थियो।

फुटबल प्रतियोगिता भइरहेको मैदानमा विना जानकारी हेलिकोप्टर अवतरण गराइएका कारण खेल प्रभावित हुन पुग्यो, खेलाडी र दर्शक आफूहरुको ज्यानमाथि खेलवाड गरेको भन्दै डंगोलमाथि जाइलागे। उनले कुटाइ खानुपर्‍यो।

हेलिकोप्टर वालिङ नगरपालिका–९ का विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी र सुशील थापाले चार्टर्ड गरेकामा उनीहरुले पनि कुटाइ खाए। क्याप्टेन डंगोलले यात्रुको दबाबमा बाध्य भएर खेल मैदानमा हेलिकोप्टर अवतरण गरेको स्पष्टीकरण दिएकामा यो घटनामा क्यानले उनलाई निलम्बन गर्‍यो।

निलम्बनमा परेको करिब २ महिनामा उनी प्रभु हेलिकोप्टरबाट सिम्रिक एयरमा गए। त्यतिखेर क्यानले क्लास लिएर निलम्बन फुकुवा गरेको थियो।