काठमाडौं उपत्यकाका निजी विद्यालयमा चन्दा आतंक, प्रहरीमा उजुरी दिनै डराउँछन् सञ्चालक

सविन ढकाल
२०८१ जेठ २ गते २०:५७ | May 15, 2024
काठमाडौं उपत्यकाका निजी विद्यालयमा चन्दा आतंक, प्रहरीमा उजुरी दिनै डराउँछन् सञ्चालक

काठमाडौं। नयाँ शैक्षिक सत्र सुरु भएसँगै काठमाडौं उपत्यकाभित्रका निजी विद्यालयमा चन्दा आतंक बढेको छ। खासगरी काठमाडौं र ललितपुरका ठूला विद्यालयमा चन्दा आतंक बढेको हो।

Tata
GBIME
Nepal Life

विद्यार्थीबाट चर्को शुल्क उठाएको भन्दै सुरुमा विरोधसहितको पत्र पठाउने तथा अन्तिममा पार्टी र संगठनलाई सहयोग चाहियो भनी चन्दा माग्ने गरेको देखिएको छ। पटक-पटक चन्दा माग्दा दिन नमान्ने विद्यालय सञ्चालकलाई धम्की दिने गरेको पाइएको प्रहरीले जनाएको छ।

‘चन्दा मागेको भन्दै केही जानकारी आएको छ। त्यसमा हामीले काम गरिरहेका छौं,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले भने।

नयाँ शैक्षिक सत्र वैशाख पहिलो साता सुरु भएको हो। नयाँ शैक्षिक सत्रमा अधिकांश विद्यालयले शुल्क बढाउने गरेका छन्। शुल्क बढाउन स्थानीय तहको अनुमति लिनुपर्छ। विद्यालयले शैक्षिक सत्रको सुरुमा भर्ना र वार्षिक शुल्कका नाममा राम्रै कमाइ गर्छन्।

निजी विद्यालयको कमाइ देखेरै विभिन्न राजनीतिक दलका संगठनले पनि मौका छोप्ने गरेका छन्। केही वर्षअघिसम्म सबैजसो राजनीतिक दल सम्बद्ध विद्यार्थी संगठनले विद्यालयलाई मागी खाने भाँडो बनाएका थिए।

दलैपिच्छेका संगठनले चन्दा मागेर हैरान पारेपछि सञ्चालकहरुले यो कुरा पार्टी नेतृत्वमा पुर्‍याएपछि निकै हदसम्म रोकिएकामा अहिले फेरि आतंक देखिएको हो।

काठमाडौं र ललितपुरका चलेका विद्यालयमा कतिपय दलका संगठनले चन्दा मागेको प्रहरीको अनुसन्धानमा खुलेको छ। तर यस्ता शैक्षिक संस्थालले उजुरी भने गरेका छैनन्।

विद्यार्थीबाट शुल्क उठाउन नसकेर घिटिघिटी चलिरहेका विद्यालयमा पनि चन्दा मागिएको पत्र पुगेको छ। शिक्षक कर्मचारीलाई तलब दिनै नसकेका विद्यालय सञ्चालकले चन्दा दिन नमान्दा धम्की सहनुपरेको भनेर प्रहरीमा खबर गरेका छन्।

त्यसैका आधारमा प्रहरीले चन्दा माग्ने सङ्घसंस्था/ दलका भ्रातृ संगठनका नेतालाई नियन्त्रणमा लिइ सम्झाई बुझाइ गर्न थालेको छ।

‘गोकर्णतिर एउटा सामान्य विद्यालय छ। त्योसँग पनि चन्दा मागेका रहेछन्। केही संगठनले ए क्लासका मात्र होइन भ्याएसम्म सबैसँग चन्दा मागेको देखिन्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले सुनाए।

माओवादी पार्टी भूमिगत अवस्थामा रहँदा उसको विद्यार्थी संगठनका कार्यकर्ता निजी विद्यालयले दिने चन्दाबाट पालिएका थिए। चन्दा नदिंदा असुरक्षित हुने डर थियो। माओवादीको विद्यार्थी संगठनले राम्रै रकम पाइरहेको जानकारी पाएपछि एमाले र कांग्रेसका विद्यार्थी संगठनले पनि निजी विद्यालयलाई दुहुनो गाई बनाए।

ठूला विद्यालय सञ्चालकहरु सकेसम्म चन्दा माग्ने संगठनबारे बोल्नै मान्दैनन्। सार्वजनिक रुपमा विरोध गर्दा कुनै पनि किसिमको आक्रमण हुने डरले उनीहरुले प्रहरीलाई भन्नुभन्दा केही रकम दिने गरेका छन्।

‘प्रहरीमा उजुरी गरेर चन्दा माग्ने संगठनका मानिस समातिएपछि त हामीलाई झन् थ्रेट हुन्छ। त्यसैले जे जति सकिन्छ त्यही अनुसारको चन्दा दिने गरेका छौं,’ नाम नबताउने सर्तमा एक विद्यालयका सञ्चालकले भने।

समातिए विद्यार्थी संगठनका संयोजक

ठूला विद्यालयका सञ्चालकले लुकाएर राखे पनि साना विद्यालय सञ्चालकबाट पाएको जानकारीका आधारमा अनुसन्धान गर्दा चन्दाको लेनदेन चलिरहेको प्रहरीले पत्ता लगाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले चन्दा आतंकले हैरान पारेको आरोपमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को विद्यार्थी संगठनका संयोजक मिलन राईलाई पक्राउ गरेको छ। उनले चन्दा दिन नमान्नेमाथि धम्की दिएको खुलेको छ। बालाजुबाट पक्राउ परेका राई मंगलबारदेखि प्रहरी हिरासतमा छन्।

प्रहरीले अभद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ। उनीमाथि काठमाडौं र ललितपुरका विद्यालयसँग जबर्जस्ती चन्दा उठाएको आरोप छ। केही विद्यालयले मोटो रकम दिएको खुलेको छ। ‘चन्दा माग्दा नपाएपछि धम्क्याएको सूचनाका आधारमा राईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,’ एसएसपी रजौरेले भने, ‘हामी यसरी धम्क्याउने अरु पनि छन् कि भनेर अनुसन्धान गरिरहेका छौं।’

राईलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनको सङ्गठनका केही कार्यकर्ताले विरोधमा बुधबार प्रदर्शन समेत गरेका थिए। उनीहरूले राईको तत्काल रिहाइको माग गरेका छन्।