कर्जा लगानी नबढेपछि राष्ट्र बैंक लचिलो, हायर पर्चेजको जोखिम भार घटाइयो, घरजग्गामा पनि खुकुलो

बिजमाण्डू
२०८१ जेठ ४ गते ११:०७ | May 17, 2024
कर्जा लगानी नबढेपछि राष्ट्र बैंक लचिलो, हायर पर्चेजको जोखिम भार घटाइयो, घरजग्गामा पनि खुकुलो


काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष तेस्रो त्रैमासको समीक्षामार्फत मौद्रिक नीतिमा थप लचकता अपनाएको छ।

Tata
GBIME
NLIC

राष्ट्र बैंकले ऋण लगानी बढाउन खुकुलो नीति लिएको छ। हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार १०० प्रतिशतमा झारिएको छ। यसअघि त्यस्तो जोखिम भार १२५ प्रतिशत थियो।

लक्ष्यको तुलनामा निकै कम कर्जा विस्तार भएपछि राष्ट्र बैंकले लचकता अपनाएको हो। उसले ११.५ प्रतिशले कर्जा विस्तारको लक्ष्य लिएकामा साढे ४ प्रतिशतभन्दा बढ्न सकेको छैन।

राष्ट्र बैंकले घरजग्गामा प्रवाह हुने ऋणमा पनि खुकुलो नीति लिएको छ। घर जग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेस गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने राष्ट्र बैंकले जनाएको छ।

यसबाट घरजग्गाको कारोबार बढ्ने विश्वास छ।

बैंक तथा वित्तीय संस्थाहरुको पुँजीकोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरु प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गरिने राष्ट्र बैंकले समीक्षामार्फत बताएको छ। यो व्यवस्थाले पुँजीकोषको दबाबमा रहेका बैंकलाई ऋण लगानी गर्न सहज हुने छ।

असल वर्गमा वर्गीकरण भएका कर्जाका लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट १.२० प्रतिशतमा झारिएको छ।

ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा पनि पुनरावलोकन गरिने भएको छ।

समीक्षामा आन्तरिक तथा वाह्य आर्थिक स्थिति र परिदृश्य समेतका आधारमा विद्यमान ५.५ प्रतिशतको नीतिगत दर, ब्याजदर करिडोर अन्तर्गतको ३ प्रतिशतको निक्षेप संकलन दर र ७ प्रतिशतको बैंक दरलाई यथावत राखिएको छ।

यस्तै विद्यमान अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई पनि यथावत राखिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतित भइसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था गरिएको छ।