खाद्यान्न व्यापार घट्यो, तेलको मूल्य घट्दा चामलको स्थिर, ‘समग्र बजारको मागमै कमी आएको छ’

सरला सुवेदी
२०८१ जेठ ३ गते ०६:२० | May 16, 2024
खाद्यान्न व्यापार घट्यो, तेलको मूल्य घट्दा चामलको स्थिर, ‘समग्र बजारको मागमै कमी आएको छ’


काठमाडौं। मुलुकका बजारमा खाद्यान्‍न व्यापारमा कमी आएको छ। दैनिक रुपमा बजारमा माग हुने खाद्यान्‍नको खपत केही समयदेखि घट्दै गएको पाइएको छ। विगतमा मूल्य बढ्दा खपत घट्ने गरेको थियो। हिजोआज मूल्य स्थिर रहँदा पनि कारोबारको परिमाण नबढेको व्यवसायीले बताएका छन्।

Tata
GBIME
NLIC

उपभोग्य वस्तुको माग घटेको छ। थोक व्यवसायीहरूका अनुसार हाल बजारमा खानेतेल, चामल, आटा, मैदा, दाल लगायतको मूल्य विगतमा जसरी बढेको छैन। बोडी, चना, केराउ लगायत गेडागुडीमा भने मूल्यवृद्धि छ।

खाद्य किराना तथा थोक व्यवसायी संघका अनुसार खानेतेलको मूल्य कार्टुनमा ५० देखि १०० रुपैयाँसम्म घटबढ भएको छ। प्रति कार्टुन २००० रुपैयाँमा किनबेच भइरहेको सूर्यमुखी तेल घटेर १९०० देखि १९५० रुपैयाँ भएको छ। भटमासको तेलको मूल्य पनि यहि हाराहारीमा छ।

तोरीको तेल कार्टुनको १८ सय रुपैयाँमा उपभोक्ताले खरिद गर्दै आएका छन्। धारा तोरीको तेल कार्टुनमा २८०० रुपैयाँ छ। व्यवसायीहरूका अनुसार बजारमा ब्राण्डअनुसार मूल्य फरक-फरक पर्ने गरे पनि विगतमा जसरी तेलको मूल्य बढेको छैन।

गेडागुडीको मूल्य भने केजीमा ४० रुपैयाँसम्म बढेको छ। पहिले प्रतिकेजी १४० रुपैयाँ रहेको बोडी बढेर प्रतिकेजी १८० रुपैयाँ पुगेको छ। चना प्रतिकेजी १०८ रुपैयाँबाट १२० रुपैयाँमा बिक्री भइरहेको छ। हरियो केराउ आयात नहुँदा मूल्य बढेर प्रतिकेजी १६० रुपैयाँभन्दा बढी भएको छ। दालको मूल्यमा घटबढ छैन।

चिनी प्रतिकेजी १०५ रुपैयाँमा बिक्री भइरहेको छ। आटा र मैदाको मूल्य घट्ने क्रममा छ। हाल मैदा ५० केजीको ३००० हजार रुपैयाँ पर्छ। आटा पनि त्यति हाराहारीमा छ।

चामलको मूल्यमा छैन घटबढ

बजारमा चामलको मूल्य करिब दुई महिनादेखि स्थिर रहेको दिनेश खाद्य मिलका संचालक पशुपति डल्लाकोटीले बताए।

‘भारतबाट धान आइरहेको छ। उता धानको मूल्य बढेको छ,’ उनले भने, ‘स्वदेशी बजारमा चामलको माग नहुँदा मूल्य बढे पनि थोरै बढ्छ।’

बजारमा चामलको बिक्री पहिलेभन्दा कम भएको हुनाले भाउ बढ्न नसकेको उनले बताए।

त्यस्तै, खाद्य किराना तथा थोक व्यवसायी संघ अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ डेढ महिनायता चामलमा भाउ नबढेको बताउँछन्।

‘व्यापारीहरूसँग स्टक पर्याप्त छ तर, बजारमा खाद्यान्‍नको डिमान्ड नै कम छ,’ उनले भने, ‘स्टक पर्याप्त भएर डिमान्ड कम भाउ बढ्ने कुरै भएन।’

हाल जिरा मसिनो चामल प्रतिबोरा २१ सय देखि २२ सय २५ रुपैयाँसम्म छ। खाद्यान्‍नको कारोबारलाई आर्थिक मन्दी लागेको व्यवसायी बताउँछन्। कारोबार घट्दा उधारो उठाउन निकै मुस्किल भइरहेको उनीहरूको भनाइ छ।

बजारमा धेरै बिक्री हुने सोना मन्सुली र जिरा मसिनो चामलको भाउ खासै तलमाथि नभएको किराना व्यवसायी कृष्ण भट्टले बताए।

‘चामलमा सातामा दुई पल्टसम्म भाउ तलमाथि हुन्थ्यो, अहिले त्यस्तो छैन,’ उनले भने, ‘मूल्य घटबढ भइहाले पनि निकै थोरै हुन्छ।’

अपेक्षाअनुसार बजारमाग नबढेकाले ठूला आयातकर्ता र उद्योगहरूले भाउ नबढाएको हुन सक्ने उनले बताए।

‘विगतमा भारतले चामलमा २० प्रतिशत शुल्क लगाइदिएपछि चामल बोरामा ३ सय रुपैयाँसम्म बढेर आएको थियो,’ उनले भने, ‘गत मंसिरमा नयाँ धान आएपछि मूल्य केही घटेको हो। त्यसयता कारोबार नै घटेको छ।’