इन्डियन बोर्डबाट सजिलै पास हुने भएपछि भारतमा सीए पढ्नेको लर्को, नेपालमा भने खाली

नेत्र तामाङ
२०८१ जेठ १ गते ०९:३१ | May 14, 2024
इन्डियन बोर्डबाट सजिलै पास हुने भएपछि भारतमा सीए पढ्नेको लर्को, नेपालमा भने खाली

काठमाडौं। नेपालमा चार्टर्ड एकाउन्ट(सीए) बन्न विद्यार्थीका लागि वैकल्पिक कोर्स छन्। कक्षा १२ पुरा गरेकाले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था(आइक्यान)मार्फत मान्यता पाएका संस्थामा पढ्न पाउँछन्। आइक्यानको अलावा भारतीय बोर्ड-आइसीए र बेलायतको एसीसीए पनि अर्को विकल्प हो।

Tata
GBIME

नेपाली कोर्स हुँदा पनि धेरै विद्यार्थीको रोजाइ भने आइसीएतर्फ भएको दाबी गर्छन् एकेडेमी अफ कमर्सका प्रबन्ध निर्देशक सुनिल पौडेल। ‘हामीसँगै आइक्यान र आइसीए दुवै कोर्स छन्। तर, आइसीए पढ्ने विद्यार्थीको चाप ह्‍वात्तै बढेको छ,’ उनले भने।

आइसीएको कोर्स आइक्यानको भन्दा सस्तो र समकक्षता पनि राम्रो भएकाले त्यसतर्फ आकर्षण बढेको उनको दाबी छ। उनका अनुसार आइक्यानको कोर्स पुरा गर्न साढे तीन लाख रुपैयाँ लाग्छ भने आएसीएको पढाइ तीन लाखमै गर्न सकिन्छ।

आइसीए कक्षामा सहभागी एओसीका विद्यार्थीहरु।

यतिमात्र होइन यसपटक १ हजार १ सय ९४ जनाले आइक्यानमार्फत परीक्षा दिँदा ४ जनामात्र उत्तीर्ण भएका छन्। जबकि हजार जनाले परीक्षा दिँदा आइसीएबाट २७ जनाले उतीर्ण गरेका छन्। यसैकारण पनि विद्यार्थी भारतीय कोर्सतर्फ आकर्षित भएका हुन्।

नेपालको कोर्स अपडेट नहुँदा विद्यार्थीको आकर्षण आइसीएतर्फ बढेको पौडेल बताउँछन्। ‘नेपालको सिलेबस पुरानो भयो। भारतले पाँच-पाँच वर्षमा अपडेटेड गर्छ, अर्को इन्डियन बोर्डमा फ्याटफ्याट पास हुन्छ। नेपाल सरकारले चासो नदिँदा इन्डियन बोर्डमा आकर्षण बढेको हो,’ उनले भने।

आइक्यानअन्तर्गत नेपाली कक्षामात्र सञ्चालन गरिरहेको गुरुकुलले भने नेपाली कोर्स नै राम्रो रहेको दाबी गरेको छ। आइसीए गर्नेले कानुन र कर थप पढ्नुपर्ने हुँदा आइक्यान नेपाली विद्यार्थीका लागि उत्तम हुने गुरुकुलका मार्केटिङ प्रमुख सुवोध पौडेल बताउँछन्। ‘आइसीए गर्नेले कानुन र ट्याक्स पनि पढ्नुपर्छ। यसैले आइक्यान नै राम्रो हो,’ उनले भने। गुरुकुलमा अहिले पनि एक हजार जनाले नेपाली कोर्स पढिरहेको उनी बताउँछन्।

यसो त उनले आइक्यान कोर्सबारे फाट्टफुट्ट सोध्नेहरु पनि आउने बताए।

गुरुकुलमा सीए कक्षामा विद्यार्थीहरु।

लामो समयदेखि नेपाली बोर्डको सीए पढाइरहेको प्राइम सीएका अध्यक्ष नवराज बुर्लाकोटी नेपालमा काम गर्न नेपालकै कोर्स सान्दर्भिक हुने बताउँछन्। ‘भारतमै काम गर्ने हो भने आइसीए पढेको राम्रो होला तर नेपालमै नेपाली विषयवस्तु बुझ्न आइक्यान नै ठीक। मैले आफ्नो बच्चाहरुलाई पनि आइक्यान नै पढाएको छु,’ उनले भने।

नेपाली कोर्स पढ्नेले बीबीएस पढ्दा थप राम्रो हुने उनी बताउँछन्। नेपालमा सीए पढाई चार्टर्ड एकाउन्टेन्ट ऐन २०५३ अनुसार भइरहेको छ। यसैकारण पनि केही चुनौती भए पनि अवसर आइक्यानमै भएको उनले बताए। ‘आइक्यानको बारेमा सरकारको नीति नभएकै हो। तर हिम्मत गरेर काम गरे आइक्यानमा अवसर प्रशस्त छन्। उद्यमशीलतामा हामीले ध्यान दिनुपर्छ,’ उनले भने।

आइक्यानका कार्यकारी निर्देशक सञ्जयकुमार सिंह पनि नेपाली बोर्डको पढाइ नै राम्रो हुने बताउँछन्। भारतीय बोर्डतर्फ आकर्षण बढेको दाबी उनले ठाडै अस्वीकार गरे। ‘नेपालमा २५ वर्ष पढाइ हुन थालिसक्यो। त्यसैले यहाँको पढाइ नै राम्रो हो। भारतीय बोर्डमा विद्यार्थी बढेको कुरा गलत हो। विदेश जाने ट्रेन्ड सेटले केही विद्यार्थी घटेको मात्र हो,’ उनले भने।

आफू आइसीए नै पढेर आएको उल्लेख गर्दै उनले कोर्स र सिलेबसका कुरामा विद्यार्थी लाग्न नहुने बताए। ‘अहिलेको जमाना नै इन्टरनेटको छ। त्यसैले सिलेबसका कुरा गरेर अल्झिनु बेकार हो,’ सिंहले भने, ‘भारत र बेलायतको कोर्स गरेर नेपालमा काम पाउन मुस्किल हुन्छ।’

प्राइम सीएमा विदार्थीहरु।

सीए किन, कति छन् नेपालमा?

नेपालमा हाल ३ हजार ५०० भन्दा बढी सीए छन्। तर आइक्यानमा भने यो वर्ष २ हजार २ सय ८० मात्र दर्ता छन्। भारतीय बोर्डको परीक्षा पास गरेकाले कानुन र कर पढेपछि आइक्यानमा दर्ता हुनुपर्छ।

वित्तीय संस्थामा सीए अति आवश्यक हुने बताउँछन् प्राइम सीएका अध्यक्ष बुर्लाकोटी। सीएविनै धेरै हिसाबकिताब राफसाफ गरिने भएकोले देशमा सुशासन नभएको उनको तर्क छ। ‘हरेक रेभिन्यु हुने सरकारी र गैरसरकारी संस्थामा सीए राख्नुपर्छ। यसले आर्थिक स्वच्छता कायम हुन्छ। तर सरकारले यसप्रति खासै वास्ता राखेको छैन,’ उनले भने।

यसो भन्दै गर्दा सीए बेरोजगार बस्नुपर्ने अवस्था भने नरहेको उनी बताउँछन्। ‘हामी उद्यमशीलता सिकाउने हो, जागिरे मानसिकताको पढाइले हामी कतै पुग्दैनौ,’ उनी भन्छन्, ‘सीएका लागि नेपालमा अवसरै अवसर छन्। काम भ्याइनभ्याई हुन्छ।’

नेपालमा बहुराष्ट्रिय कम्पनी, बैंक तथा वित्तिय संस्थाहरुले सीएलाई अवसर दिइरहेका छन्। तर स्थानीय तहसम्मै उनीहरुले अवसर पाएमा आर्थिक पारदर्शिता कायम हुने आइक्यानको सुझाव छ।