
काठमाडौं । नेपाली क्रिकेट टोलीले विश्वकपअघिको अफिसियल वार्मअप म्याचमा टेस्ट टोलीसँग खेल्न नपाउने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले जारी गरेको तालिका अनुसार नेपालले अमेरिका र क्यानडासँग खेल्ने पक्का भएको हो।
एसोसिएट टोलीहरुमा नेदरल्याण्ड्स, ओमन, अमेरिका, नामिबिया र स्कटल्याण्डले टेस्ट टोलीहरुसँग वार्मअफ खेल्ने अवसर पाउनेछन्। नेदरल्याण्ड्सले श्रीलंका, ओमनले अफगानिस्तान, अमेरिकाले बंगलादेश, नामिबियाले अस्ट्रेलिया तथा स्कटल्याण्डले अफगानिस्तानसँग खेल्नेछन्।
एसोसिएट्समा नेपालसहित पपुवा न्युगिनी र युगाण्डाले भने टेस्ट टोलीसँग खेल्न पाउने छैनन्।
वार्मअप खेल अन्तर्गत नेपालले मे २७ मा क्यानडाविरुद्ध टेक्ससमा खेल्नेछ। दोस्रो खेलमा मे ३० मा अमेरिकाविरुद्ध सोही स्थानमा खेल्नेछ।
टी-२० विश्वकप जुन १ बाट २९ सम्म अमेरिका र वेस्ट इण्डिजमा हुँदैछ। यो प्रतियोगितामा नेपालसहितका २० टोलीले ९ शहरहरुमा ५५ खेल खेल्नेछन्। विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। यो समूहमा नेपालसहित नेदरल्याण्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन्।
विश्वकपमा नेपालले पहिलो खेल जुन ४ मा नेदरल्याण्ड्सविरुद्ध, जुन १२ मा श्रीलंकाविरुद्ध, जुन १५ मा दक्षिण अफ्रिकाविरुद्ध र जुन १७ मा बंगलादेशविरुद्ध खेल्नेछ।
नेपाली टोलीले हाल वेस्ट इण्डिजमा स्थानीय टोलीसँग अभ्यास खेल खेलिरहेको छ। त्यहाँको विनवार्डस् क्रिकेट टोलीसँग भोली तेस्रो अभ्यास खेल खेलेर नेपाल १९ तारिख ह्युस्टन प्रस्थान गर्नेछ। त्यहाँ पनि नेपालले ह्युस्टन हुरिकेन्ससँग अभ्यास खेल खेलेपछि नेपालले वार्मअप म्याच खेल्नेछ।