
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछाने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमाथि खनिएका छन्। आइतबार प्रतिनिधि सभामा आफूमाथिका आरोपको जवाफ दिन उभिएका मन्त्री लामिछाने कांग्रेसमाथि खनिएका हुन्।
आरोपबारे बोल्न रोष्ट्रम पुगेका रवि अधिकांश समय प्रतिपक्ष दलका नेता केन्द्रित आरोपमै सीमित भए। आफ्ना कमजोरी छोप्न रविले अरूमाथि व्यक्तिगत आक्षेपको सहारा लिए।
आफूमाथि मिडिया ट्रायल भएको भएको र समाचारकै आधारमा छानबिन समिति बन्न नसक्ने जिकिर गर्दै लामिछानेले समाचार वाचन गरेरै अन्य सांसदको हुर्मत लिए। संसद्को रोष्ट्रममा उभिएर बहालवाला गृहमन्त्री रहेका उनले विपक्षी दलका सांसदमाथि विदेशी एजेन्टको आरोप लगाए।
लामिछानेले कांग्रेसका विभिन्न नेताहरू विभिन्न काण्डमा मुछिए पनि संसदीय समिति नबनेको तर्क गर्दै यी विषयमा समिति बने आफू सहकारी प्रकरणमा समिति बनाउन तयार रहेको तर्क पेस गरे। ‘रास्वपालाई हटाएर तपाईंहरु बसेर समिति बनाए हुन्छ,’ लामिछानेले भने।

लामिछाने नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सांसद रामहरि खतिवडा र टेकबहादुर गुरुङमाथि खनिएका थिए। चारमध्ये लामिछानेले महामन्त्री थापालाई निशाना साँधे। समाचारमै आधारित भएर आफूमाथि अनुसन्धान हुन लागेको तर्क गर्दै यस्तो अवस्थामा कांग्रेसका नेताहरूबारे आएका समाचार हेरेर उनीहरूमाथि पनि अनुसन्धान हुनुपर्ने लामिछानेको मत थियो।
‘समाचारअनुसार सांसदले नै बेचे रातो पासपोर्ट भन्ने थियो, रातो पासपोर्टमा सजिलै भिसा लाग्ने भएकाले सभासद्को पासपोर्टमा अन्य व्यक्तिको फोटो टाँसेर मानव तस्करी गर्ने गिरोह सक्रिय भयो। सांसदहरू प्रलोभनमा परेर रातो पासपोर्ट खरिद बिक्री भएको देखिन्छ,’ लामिछानेले कांग्रेस उपसभापति गुरुङ लक्षित टिप्पणी गर्दै भने, ‘गृहमन्त्रीमा नेपाली कांग्रेसकै तनहुँका गोविन्दराज जोशी थिए। रेग्मीको समितिले रातो पासपोर्टमा केही आर्थिक लाभ लिएका नेपाली कांग्रेसका नेताहरूको नाम भएको प्रतिवेदन पेस गरेको थियो।’
लामिछानेले कांग्रेस महामन्त्री थापाले विभिन्न समयमा घोटाला गरेको भन्दै निशाना साँधे। ‘२०५५ सालमा स्ववियु सभापति हुँदा त्रिचन्द्र कलेजको पार्क निर्माणमा भ्रष्टाचार भएको, ३० लाखभन्दा बढी बेरुजु महालेखा परीक्षकको प्रतिवेदनमै रहेको एउटा समाचार आएको थियो। त्रिवि परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट बनाउँछु भनेर पाँच लाख पेस्की लिएर वेबसाइट नबनाएको समाचार आएको थियो,’ लामिछानेले भने।
लामिछानेले कांग्रेस महामन्त्री थापाले बाख्रा पालनका नाममा प्याक्टबाट अनुदान लिएर दुरुपयोग गरेको प्रसंग पनि कोट्याए। ‘व्यावसायिक कृषि तथा व्यापार आयोजना प्याक्टबाट सुनखानी एकीकृत कृषि केन्द्रको नाममा १५ करोड रुपैयाँ लिएर नुवाकोटमा बाख्रा फार्म र काठमाडौंको गोल्फुटारमा मासु पसल खोलेको, २०६८ सालमा अनुदान लिएको र बन्द गरेको समाचार आएको थियो,’ लामिछानेले भने, ”१५ वर्षदेखि संसद्को लास्ट सिटदेखि फ्रन्ट सिटसम्म आइपुग्दा भ्रष्टाचारका सबै काण्डको साक्षी बसेर ठूलो स्वर गर्नेहरूलाई हेक्का होस्, यो देश अब तपाईँहरूको गनगनले मात्र चल्दैन।’

लामिछानेले थापामाथि विदेशीलाई सूचना बेचेको आरोपसमेत लगाए। ‘सहकारी ठगी गर्नेलाई मात्र होइन, कृषि अनुदानको रकम हिनामिना गरेर कुखुरा, माछा, खसी बोका, बाख्रा पाल्नेलाई पनि बाहिर पठाऔं। दुई-तीन वटा नागरिकता बोक्नेलाई मात्र होइन, एउटै नागरिकता र पासपोर्ट बोक्ने, तर देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेट्सलाई पनि बाहिर पठाऔं, संसदबाट हटाऔं। जतिसुकै शक्तिशाली होस्, देशको मन्त्री होस् वा पार्टीको महामन्त्री किन नहोस्,’ लामिछानेले भने।
गृहमन्त्री लामिछानेले सांसद रामहरि खतिवडाको ‘रोलेक्स घडी’ प्रकरणसमेत कोट्याएका थिए। २०७३ सालमा पूर्वसेनापति छत्रमानसिंह गुरुङको छोराको रोलेक्स घडी चोरी भएको प्रसंगमा खतिवडाको नाम मुछिएको थियो। यसै गरी लामिछानेले कांग्रेस सांसद टेकबहादुर गुरुङमाथि पनि प्रश्न उठाए। ‘भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा कांग्रेसका सांसद, मैले नाम नै लिनुपर्छ, किनभने प्रमाणित भइसकेको छ। कांग्रेसका सांसद टेकबहादुर गुरूङ निलम्बनमा परेका थिए। तर, २०८० चैत १९ गते निलम्बन फुकुवा भए,’ उनले भने।
लामिछानेले आफू कायर नभएकोले मुद्दासँग नडराउनेसमेत बताए। ‘रास्वपा कायरहरूको पार्टी होइन। रवि लामिछाने कायर होइन। मिडिया ट्रायल हामीसँग चल्दैन। मलाई खेल्न र हार्न समस्या छैन। तर खेल फेयर हुनुपर्छ। झुटा मुद्दासँग म डराउँदिन,’ लामिछानेले भने।

समिति बनाउन आफू पुनः सदन छाड्न तयार रहेकोसमेत बताए। ‘व्यक्ति केन्द्रित बनाउने कि कस्तो बनाउने हो? तपाईंहरु मिलेर बनाउनुस्। म सदन छाड्न तयार छु। फेरि जिरो हुन तयार छु। तपाईँहरूले चाहे देशै छाड्न तयार छु,’ लामिछानेले भने।
लामिछानेले सदनमा बोल्नै नदिने र छानबिनसँग किन डराएको भन्दै प्रश्न गर्दा कांग्रेसले व्यक्ति केन्द्रित राजनीतिक दमन गरेको समेत तर्क गरे। रास्वपामाथि ठूला दलहरूले राजनीतिक दादागिरी गरेकोसमेत उनको भनाइ थियो।
उनले अन्य दलहरूलाई लोकतान्त्रिक बनिदिन समेत आग्रह गरे।