
काठमाडौं। साउनयता वाणिज्य बैंकहरुमा निक्षेप ३ खर्ब ८२ अर्ब १६ करोड रुपैयाँले बढेको छ। ऋण भने २ खर्ब ३ अर्ब ६९ करोड रुपैयाँ मात्र विस्तार भएको छ।
निक्षेपको तुलनामा ऋण विस्तार १ खर्ब ७८ अर्ब ४७ करोड रुपैयाँले कम छ। नेपाल राष्ट्र बैंकले चालु वर्ष ११ प्रतिशतले ऋण विस्तार गर्ने लक्ष्य राखे पनि वैशाख मसान्तसम्म जम्मा ४.७१ प्रतिशत मात्र ऋण बढेको छ।
तीन वटा वाणिज्य बैंकहरुको ऋण लगानी घटेको छ। त्यसबाहेक सात बैंकको ऋण विस्तार १० अर्ब रुपैयाँभन्दा कम छ।
स्ट्यान्डर्ड चार्टर्ड, प्रभु र लक्ष्मी सनराइज बैंकले ऋण घटाएका छन्। नबिल बैंक भने ऋण विस्तारमा आक्रामक देखिएको छ।
चालु वर्ष जति ऋण विस्तार भएको छ त्यसको २० प्रतिशत हिस्सा नबिल बैंक एक्लैको छ। नबिल बैंकले ४२ अर्ब २६ करोडले ऋण बढाएर ३ खर्ब ८३ अर्ब ६९ करोड रुपैयाँ पुर्याएको छ। यसपछि प्राइम बैंकले साढे २७ अर्बले ऋण बढाएको छ।
कृषि विकास, एनआईसी एसिया, एभरेष्ट, ग्लोबल आइएमई र नेपाल बैंकले पनि ऋण बढाएका छन्।

चालु वर्ष तीन बैंकको निक्षेप घटेको छ। बजारमा तरलता फालाफाल हुँदा पनि प्रभु, स्ट्यान्डर्ड चार्टर्ड र माछापुच्छ्रे बैंकको निक्षेप घटेको छ। पुँजी कोषको दबाबले ऋण विस्तार रोक्नुपर्ने भएपछि प्रभु र माछापुच्छ्रेले लागत बढ्न नदिन निक्षेप पनि घटाएका हुन्।
स्ट्यान्डर्ड चार्टर्डले ऋण र निक्षेप दुवै कम गर्दै गएको छ। ब्याज दर तुलनात्मक रुपमा कम भएकाले बैंकको निक्षेप घटेको हो।
एनएमबि, सानिमा र सिद्धार्थ बैंकको निक्षेप सामान्य मात्र बढेको छ।
सबैभन्दा बढी निक्षेप सरकारको पूर्व स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको बढेको छ। बैंकको निक्षेप ६५ अर्ब ९ करोड रुपैयाँले बढेको छ। यो भनेको चालु वर्ष बढेको कुल निक्षेपको १७ प्रतिशत हो।

निक्षेप धेरै बढाउनेमा नबिल बैंक दोस्रो नम्बरमा छ। नबिलले ५१ अर्ब ७१ करोडले निक्षेप बढाएको छ। चालु वर्ष बढेको कुल निक्षेपमा नबिलको हिस्सा साढे १३ प्रतिशत हुन आउँछ।
ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, कृषि विकास र प्राइम कमर्सियल बैंकले पनि निक्षेप बढाएका छन्।