
काठमाडौं। नेपाली आकाशमा मंगलबार बिहान ठूलो दुर्घटना टर्यो। कतार एयरवेजको जहाज र सिम्रिक एयरको हेलिकोप्टर आपसमा ठोक्किने अवस्थाबाट जोगिए।
कतार एयरवेजको जहाज दोहाबाट आइरहेको थियो। सिम्रिक एयरको हेलिकोप्टर लुक्लाबाट फर्किरहेको थियो। हेलिकोप्टरका पाइलट रानेश डंगोलले विमानस्थलको एयर ट्राफिक कन्ट्रोलरलाई बिहान ९:५५ बजे आफू आइरहेको जानकारी गराउँदै १०:१५ बजे पूर्वतिरबाट अवतरण गर्ने बताएका थिए।
बिहानै काठमाडौं-लुक्ला उडान गरेको हेलिकोप्टरमा यात्रु पनि सवार थिए। हेलिकोप्टर काठमाडौंबाट लुक्लामा दोस्रो उडान गरेर फर्किरहेको थियो।
कतार एयरवेजको जहाज नियमित मार्ग हुँदै भट्टेडाँडातिरबाट आइरहेको थियो। तर सिम्रिक एयरका पाइलट डंगोलले एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएभन्दा फरक ठाउँमा हेलिकोप्टर लगे। हेलिकोप्टर पनि भट्टेडाँडाकै आकाशमा पुग्यो।
‘सिम्रिकका पाइलटले लापरबाही गर्दै हेलिकोप्टर पूर्व दक्षिण च्यापेर भट्टेडाँडाको आकाशतिर लगेको देखियो,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाले भने, ‘पाइलट डंगोलको खेलाँचीले झण्डै दुर्घटना निम्तिएको थियो।’
जहाज र हेलिकोप्टर २ नटिकल माइलको दूरीमा थिए। यो भनेको ठोक्किने अवस्थाको नजिक हो। जहाजमा रहेको टिकासले यसको संकेत दियो। त्यसपछि कतार एयरवेजका क्याप्टेनले सतर्कता अपनाए। उनले सतर्कता अपनाएका कारण जहाज हेलिकोप्टरमा ठोक्किनबाट जोगियो।
‘धन्न दुर्घटना टर्यो। तर हामीले यसलाई गम्भीर लापरबाहीका रूपमा लिएका छौं,’ विमानस्थल कार्यालयका एक उच्च अधिकृतले भने, ‘हामीले छानबिन समिति बनाइसकेका छौं।’
स्रोतका अनुसार प्राधिकरणले पाइलटलाई कारबाही गर्दै ग्राउण्डेड समेत गरिसकेको छ।
यस विषयमा कतार एयरवेजका पाइलटले नेपाल नागरिक उड्डयन प्राधिकरणमा रिपोर्ट गरेका छन्। रिपोर्टपछि यसबारे जहाजका क्याप्टेन र हेलिकोप्टरका पाइलटको बयानसहित सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउन विमानस्थल कार्यालयलाई निर्देशन दिइएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए।
‘कतार एयरवेजका पाइलटले रिपोर्ट गरेपछि हामीले यसबारे विस्तृतमा छानबिन गरेर प्रतिवेदन पेस गर्न विमानस्थल कार्यालयलाई निर्देशन दिएका छौं,’ भूलले भने।
यो प्रकरणमा कतिपयले कतार एयरवेजका क्याप्टेन र एयर ट्राफिक कन्ट्रोलरलाई पनि दोषी भनेका छन्। ‘एयर ट्राफिक कन्ट्रोलरले कतार एयरवेजको जहाज आउँदैछ भन्ने जानकारी हेलिकोप्टरका पाइलटलाई नदिएको कुरा छ। यस्तै जहाजका क्याप्टेनले पनि टिकासले समस्या देखाउँदा पनि जहाज अगाडि बढाएको सुनिएको छ,’ एक हेलिकोप्टर कम्पनीका पाइलटले भने, ‘कुरा सुन्दा यसमा तीनै पक्षको दोष देखिन्छ। सत्यतथ्य त छानबिनबाट पत्ता लाग्ला।’