
पर्वत। कृषि उत्पादनबाट पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले विहादी गाउँपालिकाले किसानलाई अनुदान दिन थालेको छ। व्यावसायिक रूपमा कृषि कर्म गर्ने किसानलाई प्रोत्साहनस्वरुप तरकारी, फलफूल र दूध उत्पादकका निम्ति कुल लागतको ७५ प्रतिशतसम्म अनुदान दिन थालिएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भुसालले बताए।
उनका अनुसार पालिकाले टनेलमा तरकारीखेती गर्ने किसानलाई प्रति टनेल ७५ प्रतिशत अनुदान उपलब्ध गराउने छ। पालिकाका ६ वटा वडामा मौसमी तथा बेमौसमी तरकारीखेती गर्ने किसानलाई प्लाष्टिक टनेल वितरण गर्न चालु आवमा चार लाख रुपैयाँ विनियोजन गरिएको छ।
विहादीले फलफूलका बिरुवा पनि ७५ प्रतिशत अनुदानमा उपलब्ध गराउने भएको छ। व्यावसायिक रूपमा फलफूलखेतीतर्फ आकर्षण गर्ने उद्देश्यले गाउँपालिकाले किसानलाई सुन्तला, कागती, आँप, लिचीका बिरुवा वितरण पनि गर्न थालेको छ। विहादीमा आँप, लिची र कागती राम्रो उत्पादन हुने गरेको छ। यसका लागि किसानले न्यूनतम सुन्तला र कागती १५ बोट, आँप पाँच बोट र लिचीका सात बोट लगाउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए।
पालिकाको दूध ढुवानीमा अनुदान कार्यक्रमअन्तर्गत प्रतिलिटरको ५ रुपैयाँका दरले अनुदान वितरण गरिने भएको छ। गाउँमा सञ्चालित कृषि फार्म वा व्यावसायिक किसानलाई प्रोत्साहन गरी कृषि पेसाबाटै आत्मनिर्भर बनाउन अनुदानमूलक कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष परबीन गुरुङले बताए।
उनका अनुसार कृषिमा नै रहन मद्दत पुगोस् भनेर उक्त कार्यक्रम ल्याइएको हो। पूरै अनुदान उपलब्ध गराउँदा किसानले बेवास्ता गर्ने आकलन गर्दै किसानको २५ प्रतिशत र पालिकाको ७५ प्रतिशत लगानी हुनेगरि अनुदान दिन थालिएको हो। रासस