गर्मी लागेसँगै भरिभराउ पर्यटकीय गन्तव्य, आफ्नै सवारी लिएर नेपाल आउँछन् भारतीय र चिनियाँ

वसन्तराज उप्रेती
२०८१ जेठ ७ गते ०६:३६ | May 20, 2024
गर्मी लागेसँगै भरिभराउ पर्यटकीय गन्तव्य, आफ्नै सवारी लिएर नेपाल आउँछन् भारतीय र चिनियाँ


काठमाडौं। गर्मी मौसम सुरु भएसँगै मुलुकका विभिन्‍न पर्यटकीय गन्तव्यमा संचालित होटलहरू धमाधम पर्यटकले भरिन थालेका छन्।

Tata
GBIME

यतिबेला पोखरा, चितवन, काठमाडौं, भैरहवा, रारा लगायतका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन उल्लेख्य मात्रामा वृद्धि भएको व्यवसायीले जनाएका छन्। चिनियाँ पर्यटकहरू पनि रसुवा नाका हुँदै नेपाल भ्रमणमा आउन थालेको व्यवसायीले जनाएका छन्।

पोखराका होटलमा यतिखेर चिनियाँ र भारतीय पर्यटकको आवागमन उल्लेख्य रुपमा वृद्धि भएको क्षेत्रीय होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए। उनका अनुसार असारसम्म होटलहरूको अकुपेन्सी ४० प्रतिशत कायम रहनेछ।

जसअन्तर्गत १५ प्रतिशत भारतीय, १० प्रतिशत आन्तरिक र १५ प्रतिशत अन्य मुलुकका पर्यटक छन्।

‘वर्षौँदेखि भारतीय पर्यटक आइरहेको अवस्था हो। यसपाली पर्यटन बोर्डको विभिन्‍न कारणले ७ प्रतिशतले वृद्धि भएको छ,’ अध्यक्ष सुवेदीले भने, ‘अहिलेको अवस्थामा भारतीय पर्यटकको आवागमन राम्रो भइरहेको छ।’

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले यतिखेर सौराहाका होटलमा ६५ प्रतिशत अकुपेन्सी कायम भएको बताए। सौराहामा यतिखेर नेपाली, चिनीयाँ, भारतीय र अन्य मुलुकका पर्यटकहरू आइरहेको उनले जानकारी दिए। असार-साउन-भदौमा भने वर्खाका कारण पर्यटकको आवागमन कम हुने उनले बताए।

रारा एड्भेन्चरका संचालक देवी कृष्ण रोकायाले यतिखेर रारामा नेपाली पर्यटकको आवागमन राम्रो भइरहेको बताए। लुक्ला उडान गर्ने वायुसेवाले केही दिनमै नेपालगञ्जबाट उडान सेवा पुनः सुरु गरेसँगै भारतीय पर्यटकको आवागमनमा पनि वृद्धि हुने उनले जानकारी दिए।

‘अहिले रारामा रिसोर्टहरू संचालनमा आएसँगै पर्यटकलाई खान बस्नको समस्या छैन। भारतीय बोर्डरमा थप प्रवर्धन भएको अवस्थामा भारतीय पर्यटकको आवागमन उल्लेख्य हुने थियो,’ उनले भने।

उनका अनुसार यतिखेर रारामा दैनिक २०० जनाको चहलपहल भइरहेको छ।

भारतमा अहिले स्कुल कलेज बिदा भएसँगै भारतीय पर्यटकको चहलपहल वृद्धि हुँदै गएको होटल संघ नेपालका अध्यक्ष विनायक शाहले बताए।

‘अहिले पोखरामा भारतीय नम्बर प्‍लेटका गाडीहरू आइरहेका छन्। जुन जोमसोम, मुक्तिनाथसम्म गइरहेका छन्। ‘गर्मीसे बेहाल, चलो नेपाल’ नाराले गर्दा यो समय भारतीय पर्यटकको आवागमन वृद्धि भएको हो,’ अध्यक्ष शाहले भने।

उनले चितवन र भैरहवासँगै नगरकोट, काभ्रे, चन्द्रागिरी लगायतका गन्तव्यमा गर्मी लागेसँगै भारतीय र चिनियाँ  पर्यटकको आवागमन उल्लेख्य रुपमा वृद्धि हुँदै गएको बताए। भैरहवा र चितवनका लक्जरी रिसोर्टहरू यतिखेर वेडिङ डेस्टिनेसनको रुपमा संचालनमा आएको उनले जानकारी दिए।

‘अहिले वेडिङ र क्यासिनोकै लागि आइरहेका पर्यटकका लागि २५ हजार आइसीको दायरा राखिएको छ। विवाहका लागि आउने पर्यटकलाई सुन, नगद लगायत सामाग्री ल्याउनमा सहज वातावरण कायम गर्न आवश्यक छ।’

यसैगरी, चिनियाँ पर्यटक पनि भारतीय जस्तै गरी अहिले रसुवा हुँदै आफ्नै निजी सवारीसाधन लिएर आउन थालेको उनले जानकारी दिए। चिनियाँ र भारतीय पर्यटकले भ्यालु फर मनी अनुसारको उत्कृष्ट सेवा पाउने भएका कारण दुवै मुलुकका पर्यटकलाई लक्षित गर्दै सहजता कायम गर्न आवश्यक रहेको उनले बताए।