
काठमाडौं। विदेशबाट अवैधरुपमा ल्याएको सुन हत्याउन अपहरणको नाटक गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले इलाम सूर्योदय नगरपालिका घर भएका ३८ वर्षीय सूर्यबहादुर समाल मगरलाई नियन्त्रणमा लिएको हो। उनलेले कतारबाट ल्याएको सुन हत्याउन अपहरणको नाटक गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।
सूर्यबहादुरले सुरुमा आफूलाई ट्याक्सीमा राखेर अपहरण गरिएको प्रहरीसामु बताए। सुँघ्ने पदार्थबाट बेहोस बनाइएको भने। तर विमानस्थलबाट निस्किंदाको सीसीटिभी फुटेज, मगरले प्रयोग गरेको ट्याक्सी र त्यसका चालकसँगको बयान तथा उनले लगाएका लुगाको अनुसन्धानबाट अपहरण ‘ड्रामा’ भएको खुल्यो। त्यसपछि प्रहरी अनुसन्धान सूर्यबहादुरतिर नै सोझियो।
यसरी भयो नाटक मञ्चन
बुधबार बिहान जिल्ला प्रहरी परिसर ललितपुरको कन्ट्रोल रुपमा एक अपरिचित व्यक्तिले फोन गर्छन्। बिहान ९ बजेको समयमा गोदावरी नगरपालिका-६ स्थित सडक किनारको नालीमा अपरिचित व्यक्ति घाइते अवस्थामा लडी रहेको भन्ने जानकारी आउँछ।
त्यसपछि प्रहरी टोली सोही स्थानमा पुग्दा एक व्यक्ति हातगोडा बाँधिएको, शरीरमा चोट लागेको र अर्धनग्न अवस्थामा फेला पर्छन्। प्रहरीले ती व्यक्तिलाई उद्धार गरेर ललितपुरको मेट्रो अस्पताल पुर्याउँछ। त्यतिखेरसम्म प्रहरीले घटनाको खासै मेलो पाएको हुँदैन। सामान्य उपचारपछि प्रहरीले सोधिखोजी गर्न थाल्छ।

सूर्यबहादुरले आफूलाई अपहरण गरिएको भन्छन्। अपहरणको कारण कतारबाट ल्याएको ७० ग्राम सुन भएको सुनाउँछन्। पछिल्लो समय वैदेशिक रोजगारीमा गएका युवाहरूलाई तस्कर समूहले यसरी नै सुन पठाउने र काठमाडौंमा ओर्लिएपछि कतारबाट भनिए बमोजिमको मानिसलाई दिने प्रवृत्ति बढेको छ। यसबापत सुन ल्याउनेले केही रकम पाउँछन्। तर सूर्यबहादुरले आफूले ल्याएको सुन अपहरण गरेर लुटिएको दाबी गर्छन्।
प्रहरीले घटनाको अनुसन्धान थाल्छ। तर सूर्यबहादुरले दिएको जानकारी र प्रहरीले सङ्कलन गरेको प्रमाणले मेल नै खाँदैन। त्यसपछि प्रहरीको अनुसन्धान सूर्यबहादुरतिर नै फर्किन्छ। अन्ततः उनले सुन हत्याउन अपहरणको नाटक गरेको खुल्छ।
‘हामीले सीसी क्यामराको फुटेज हेरेर ट्याक्सी चालक पत्ता लगाएर बुझ्दा सूर्यबहादुरले भनेको कुरा गलत देखियो,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने।
सूर्यबहादुर मंगलबार बिहान कतारबाट आएको खुल्छ। उनले आफूले ल्याएको सुन विमानस्थलमा ओर्लिएपछि तस्कर समूहलाई बुझाउँदैनन्। उनी दिउँसो १ बजे सूर्य एयरलाइन्सबाट झापाको भद्रपुर पुग्छन्।

इलाम घरका उनी आफ्नी पत्नी बस्दै आएको झापाको बिर्तामोडस्थित डेरामा पुग्छन्। सुन कोठामा राखेर सोही दिन बेलुका साढे ६ बजेको विमानबाट काठमाडौं फर्किन्छन्।
काठमाडौं फर्किएपछि उनले गोदावरीको सडक किनारमा पुगेर आफैंलाई घाइते तुल्याए र हात खुट्टा बाँधेर पल्टिए। उनले सुन पचाउने योजनामा यो ‘ड्रामा’ काठमाडौं ओर्लिनु अगाडि नै बनाएको खुलेको छ।
प्रहरीले सूर्यबहादुरको बिर्तामोडस्थित कोठाबाट ५० ग्राम सुनको ब्रासलेट एक थान र २० ग्रामको औँठी बरामद गरेको छ। ‘विदेशबाट ल्याएको सुन हत्याउन योजनाबद्ध रुपमा गतिविधि गरेको देखियो,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले भने।