९८ लाखसहित पक्राउ विक सुन काण्डमा फरार व्यक्ति, डायरीमा ‘कोड’ भाषामा लेनदेन गर्नेको नाम

बिजमाण्डू
२०८१ बैशाख २८ गते १२:२४ | May 10, 2024
९८ लाखसहित पक्राउ विक सुन काण्डमा फरार व्यक्ति, डायरीमा ‘कोड’ भाषामा लेनदेन गर्नेको नाम

काठमाडौं । काठमाडौंको दरबारमार्गबाट ९८ लाख रुपैयाँसहित पक्राउ गरेका दुई व्यक्ति यसअघि विभिन्न कसुरुमा जोडिएको खुलेको छ। प्रहरीले आज बिहान स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित मिलन विक र समीर सुनुवारलाई दरबारमार्गबाट पक्राउ गरेको थियो।

Tata
GBIME
Nepal Life

प्रहरीका अनुसार पकाउ परेका मिलन विक दोलखाबाट सुन तस्करीमा संलग्न फरार अभियुक्त रहेको अनुसन्धानका क्रममा फेला परेको छ। गत असोज १० गते दोलखामा बरामद साढे ११ किलो सुन प्रकरणमा मुछिएका उनी फरार थिए।

यस्तै, विकसँगै पक्राउ परेका समिर सुनवारमाथि सम्पति शुद्धीकरणको अनुसन्धान भइरहेको देखिएको छ।

तस्बिर : रासस।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले दरबारमार्गमा गाडी बा १३ च ४८५८ नम्बरको गाडीबाट रकम फेला परेको थियो। रकमसँगै उनीहरुको साथबाट डायरी पनि बरामद भएको उनले बताए।

‘डायरीमा कसलाई पैसा दिने र को सँग लिने भन्ने उल्लेख छ। त्यसमा कोड भाषाको प्रयोग गरिएको छ। यसबारेमा हामी थप अनुसन्धान गरिरहेका छौं,’ उनले भने।

आज उनीहरुको साथबाट बरामद् ९८ लाख रुपैयाँ सुन तस्करी र हुन्डी दुवै सँग जोडिएको हुन सक्ने प्रहरीको अनुमान छ। त्यसैले पक्राउ परेकाहरुसँग सबै कोणबाट सोधपुछ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।