
काठमाडौं। गत फागुन २१ गते नेप्सेमा दुई पटक पोजेटिभ सर्किट लाग्यो। त्यो दिन नप्से परिसूचक १९६० अंकबाट २०७८ विन्दुमा पुग्यो। सर्किटका कारण त्यो दिन पूरा समय कारोबार हुन पाएन।
बियरिस ट्रेन्डमा रहेको बजारमा एकाएक उत्साह देखिनुको कारण थियो- सत्ता गठबन्धनमा फेरबदल र अर्थमन्त्रीमा एमालेका विष्णु पौडेल आउने चर्चा।
पौडेललाई बजारले सकारात्मक रुपमा लिने गरेको छ। उनले अर्थ मन्त्रालयको नेतृत्व गर्दाको समयमा नेप्से बढेको इतिहास छ।
गत फागुन २१ मा बजारले बुलिस ट्रेन्ड समात्नुको मुख्य कारण हो- अर्थ मन्त्रालय सम्हालेपछि नेपाल राष्ट्र बैंकले सेयर बजारमा लगाएका नीतिगत अंकुश पौडेलले हटाउन लगाउँछन् भन्ने लगानीकर्ताको बुझाइ।
गभर्नर महाप्रसाद अधिकारी एमाले निकट मानिन्छन्। उनी एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला २०७६ चैतमा गभर्नर नियुक्त भएका थिए।
तर, गभर्नरलाई बजारमैत्री नीति अवलम्बन गर्न लगाउने ठानिएका पौडेल अर्थमन्त्री बनेनन्। उनी नआउने निश्चित भएपछि नेप्से भोलिपल्टै ७०.३१ अंकले घट्यो। अर्थ मन्त्रालयको नेतृत्वमा फागुन २३ गते माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आए।
अर्थमा पुनको रि इन्ट्रीपछि नेप्से ४ दिन उकालो लागेर २१११ विन्दुसम्म पुग्यो। उनले जिम्मेवारी सम्हाल्ने वित्तिकै लगानीकर्ताको हित हुने कदम चाल्ने अभिव्यक्ति दिए। तर, काम भने गरेनन्। जसका कारण वैशाख २४ मा आइपुग्दा नेप्से १९५८.७५ को विन्दुसम्म झर्यो।
राष्ट्र बैंकले जेठ ४ गते मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंकले बेच्न पाउने सेयरको सीमा १ प्रतिशतबाट वृद्धि गरेर २० प्रतिशत पुर्याउने व्यवस्था गर्यो।
लगानीकर्ताको आकर्षण नै देखिन छोडेको वाणिज्य बैंकको सेयर मूल्य त्यही कारण पछिल्लो २ दिनमा सर्वाधिक बढेको छ। आइतबार २.६३ प्रतिशतले बढेको बैंकिङ उपसमूहले सोमबार ४.१८ प्रतिशतको छलाङ हानेको छ। दुई दिनमा नेप्से ७३.२३ अंकले वृद्धि हुँदा सबै वाणिज्य बैंकको सेयर मूल्य बढेको छ।
सोमबार एनआईसी एसिया बैंकको सेयर मूल्य सर्वाधिक ९.०६ प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा बैंकहरु शीर्ष ४० कम्पनीको सूचीमै अटाउन छोडेकामा सोमबार १० वटाले स्थान बनाएका छन्। ११ करोड २९ लाख रुपैयाँको सेयर किनबेचसहित एनआईसी एसिया शीर्ष ५ कम्पनीको सूचीमा परेको छ।
आइतबार ५ अर्ब २५ करोडको सेयर खरिद बिक्री हुँदा सोमबार ५ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको छ।
यो स्थिति आउनुलाई शुक्रबारको मौद्रिक समीक्षालाई मुख्य कारण मानिएको छ।
लगानीकर्तादेखि विश्लेषकहरुले आफूमाथि अनुदार भएको आरोप लगाइरहँदा राष्ट्र बैंकले दुई वर्षअघि सेयर बजारमा गरेको नीतिगत कडाइ किस्ता-किस्तामा खुकुलो बनाउन थालेको छ।
हुन पनि राष्ट्र बैंकले २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जाको जोखिमभार चालु वर्षको मौद्रिक नीतिमार्फत १५० प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गर्यो।
पहिलो त्रैमासिक समीक्षाबाट ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतमा झारियो। सेयर धितो कर्जाको सीमा नहटाए पनि बढाइएको छ। १२ करोड सेयर धितो कर्जाको सीमा बढाएर व्यक्तिको हकमा १५ करोड र संस्थाको हकमा २० करोड रुपैयाँ कायम गरिएको छ।
राष्ट्र बैंकले २०७८/७९ को मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा ४/१२ करोडको सीमा लगाएर नीतिगत कडाइ गरेको थियो।
ऋण प्रवाह नभएर बैंकिङ प्रणालीमा तरलता थुप्रिएको र सेयर धितो कर्जामा लगाइएको सीमा नहटाएकै कारण बजारमा असर परेको बुझाइका कारण राष्ट्र बैंकमाथि दबाब छ।
अर्थमन्त्री पुन पनि राष्ट्र बैंकले खुकुलो नीति लिनुपर्ने पक्षमा छन्। उनले सार्वजनिक मञ्चहरुबाटै अर्थतन्त्र चलायमान हुने गरी वित्त र मौद्रिक नीति आउने बताउँदै आएका छन्।
सेयर बजारका लागि अनुकूल मानिने सूचकहरु ब्याजदर न्यून विन्दुमा आएको छ भने बैंकहरुसँग पर्याप्त तरलता छ। तर, बजारले उचाइ लिन सकिरहेको छैन। गत माघ २ गते २१७५ विन्दुमा पुगेको नेप्सेले त्यसयता उक्त विन्दु पार गर्न सकेको छैन।
२०७८ भदौ २ गते कायम गरेको ३१९८ विन्दुलाई आधार मान्ने हो भने त्यसयता नेप्से निरन्तर ओरालो लागेको छ। पछिल्लो अढाइ वर्षयता बजार १८००-२२०० विन्दुमा घुमिरहेको छ।
राष्ट्र बैंकले नीतिगत व्यवस्था किस्ताबन्दीमा भए पनि खुकुलो बनाउन थालेकाले अब बजार ओरालो लाग्नुपर्ने कारण नरहेको जानकारहरु बताउँछन्। ‘राष्ट्र बैंकले नीतिगत कडाइ क्रमश: हटाइरहेको छ। नीतिगत अंकुश कायमै राखे बजार माथि जाँदैन भन्ने उसले बुझिसकेको छ,’ एक विश्लेषकले भने, ‘तरलता, ब्याजदर लगायत सूचक पनि अनुकूल छन्। लगानीकर्ताले अहिले खोजेको कन्फिडेन्स हो।’