घट्टेकुलोदेखि जय नेपाल हलसम्मको त्यो अपरेसन, फलफूलको कार्टुनमा कसले राख्यो करोड रुपैयाँ?

सविन ढकाल
२०८१ बैशाख २८ गते १५:५४ | May 10, 2024
घट्टेकुलोदेखि जय नेपाल हलसम्मको त्यो अपरेसन, फलफूलको कार्टुनमा कसले राख्यो करोड रुपैयाँ?

काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहिबार काठमाडौंमा स्रोत नखुलेको रकमको कारोबार भइरहेको सूचना पायो। प्रहरीको तल्तो तहबाट आएको सूचना पुष्टी हुने आधार देखिए। त्यसपछि प्रहरीको एउटा टोलीले ‘खबरी’को सूचनालाई आधार बनाएर अपरेसन गर्‍यो।

Tata
GBIME
Nepal Life

दिउँसोको समय काठमाडौंको घट्टेकुलोमा कसैले रकम दिने अनि त्यही रकम कतै जाने सूचना प्रहरीले पाएको थियो। प्रहरी ‘खबरी’ घट्टेकुलोमै थिए। नभन्दै बा १३ च ४८५८ नम्बरको इको सपोर्ट कार घट्टेकुलो आइपुग्यो।

प्रहरी एक्कासी एक्सनमा जाने पक्षमा थिएन, घटनाक्रम नियाल्नतिर लाग्यो। एक जना मानिसले फलफूलको कार्टुन ल्याएर गाडीमा राखिदिए। प्रहरीलाई कार्टुनमा पैसा भएको अनुमान थियो।

सामान राखेपछि गाडी हुइँकिएर गयो। प्रहरीले गाडीको पिछा गर्‍यो। दरबारमार्ग निजकै पुरानो जय नेपाल हल अगाडि पुगेपछि प्रहरीले गाडी रोक्यो। गाडीमा दुई युवक थिए। साथमा घट्टेकुलोमा राखिएको कार्टुन पनि।

फलफूलको कार्टुनमा पैसा

दिउँसोको समयमा मानिसको आवतजावत रहेकाले प्रहरीले गाडीको कार्टुन त्यहाँ खोल्न उपयुक्त देखेन। त्यसपछि गाडीसहित प्रहरी टोली मालिगाउँस्थित चौकीमा पुग्यो। त्यहाँ कार्टुन खोल्दा भेटियो एक हजार दरका नोटका ९८ वटा बिटा पैसा।

गाडीमा रहेका रुपन्देहीको सियारी गाउँपालिका-७ घर भएका २८ वर्षीय समीर सुनार र २९ वर्षीय मिलन विकले पैसाको स्रोत खुलाउन सकेनन्। त्यसपछि दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थाल्यो।

यसमा कति पैसा छ? एक प्रहरी अधिकृतले सोधे। मिलनले उत्तर दिए- ९८ लाख ८० हजार ५०० रुपैयाँ।

तर प्रहरीले पटक पटक गन्दा पनि ८० हजार ५०० रुपैयाँ पुगेन। त्यसपछि ८० हजार खोइ? भन्दै सोधे। एक जना व्यक्तिले नदिएको जवाफ आयो। उनीहरूको मोबाइलबाट ती व्यक्तिलाई फोन गरियो। त्यतिकैमा पैसा दिने व्यक्तिले ८० हजार ५०० रुपैयाँ आफूसँग रहेको बताउँदै न्युरोडमा लिन आउन भने।

प्रहरी ती व्यक्ति लाई पक्राउ गर्ने तयारीमा थियो। एक टोली न्युरोड पुग्यो। तर प्रहरीले दुई युवालाई समातेको सुइँको पाएका ती व्यक्ति फोन नै अफ गरेर सम्पर्कविहीन भए। ‘उ आउँदै आएन। फोन समेत अफ गरेर फरार भयो,’ एक अनुसन्धान अधिकृतले सुनाए।

सुनदेखि हुन्डीसम्मका कारोबारी

प्रहरीले पक्राउ गरेका दुई व्यक्ति सुनदेखि हुन्डीसम्मको रकम र सुनका ‘क्यारियर’ भएको खुलेको छ। उनीहरूले अवैध रकम एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउने गरेको देखिएको हो। प्रहरीले मिलनको मोबाइलबाट पाएको कागजपत्र अनुसार उनी यसअघि सुन प्रकरणमा फरार भएको खुल्यो।

उनी गत असोज १० गते दोलखामा बरामद साढे ११ किलो सुन तस्करी प्रकरणका मुख्य व्यक्तिमध्येका एक भएको खुलेको हो। दोलखा प्रहरीसँग सम्पर्क गर्दा उनी फरार सूचीमा रहेको जानकारी आयो।

‘मिलन यसअघि पनि सुन तस्करीमा जोडिएका व्यक्ति हुन्। अरु थप कुन के प्रकरणमा छन् भन्ने खोज्दै छौँ,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले भने।

प्रहरीले बरामद गरेको रकम

मिलनले हुन्डीको रकम र तस्करीको सुन एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउने गरेको देखिएको छ। प्रहरीसँगको प्रारम्भिक बयानमा मिलनले यसअघि काठमाडौंको गोपीकृष्ण हल नजिकैबाट तस्करीको सुन अर्को ठाउँमा सप्लाई गरेको बताएका छन्।

समीर भने सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भएका व्यक्ति हुन्। उनीहरुको साथबाट बरामद् गरिएको ९८ लाख रुपैयाँ तस्करीको सुन कारोबारको हुनसक्ने प्रहरीको अनुमान छ। भारतमा सुन सप्लाई भइसकेपछि रकम बुझाएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ।

‘सुनको पैसा दिएको हुनुपर्छ भन्ने हो। त्यसैले उनीहरू केही रकम बैंक खातामा र बाँकी रकम बुटवल पुर्‍याउने योजनामा थिए,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले दरबारमार्गमा गाडी बा १३ च ४८५८ नम्बरको गाडीबाट रकम फेला परेको थियो। रकमसँगै उनीहरुको साथबाट डायरी पनि बरामद भएको उनले बताए।

‘डायरीमा कसलाई पैसा दिने र को सँग लिने भन्ने उल्लेख छ। त्यसमा कोड भाषाको प्रयोग गरिएको छ। यसबारेमा हामी थप अनुसन्धान गरिरहेका छौं,’ उनले भने।