चेम्बरको टोलीले ओलीलाई भेटेर भन्यो- अर्थतन्त्र चलायमान बनाउने खालको बजेट चाहियो

बिजमाण्डू
२०८१ बैशाख २८ गते १३:४७ | May 10, 2024
चेम्बरको टोलीले ओलीलाई भेटेर भन्यो- अर्थतन्त्र चलायमान बनाउने खालको बजेट चाहियो
नेपाल चेम्बर अफ कमर्सको टोली एमाले अध्यक्ष केपी शर्मा ओलीसँग

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर अर्थतन्त्र चलायमान बनाउने खालको बजेट ल्याउनका लागि पहल गर्न आग्रह गरेको छ।

Tata
GBIME
Nepal Life

चेम्बरको टोलीले शुक्रबार बालकोट पुगेर ओलीलाई भेटी अर्थतन्त्र शिथिलता अवस्थामा रहेको भन्दै सुधार हुने खालको वित्त र मौद्रिक नीति ल्याउनका लागि पहल गर्न आग्रह गरेको हो।

चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत समस्या सम्वोधन गरिनुपर्ने बताए। उनले अर्थतन्त्रमा शिथिलताले निजी क्षेत्रको सम्पत्तिमा ५० प्रतिशतसम्म गिरावट आएको बताए।

शिथिल अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन आर्थिक र वित्तीय नीतिमा सहजीकरण गर्नुपर्ने उनको भनाइ छ। ‘‘विगतमा लिइएका संकुचित नीतिका कारण अर्थतन्त्र शिथिल अवस्थामा पुगेको हो, उनले भने, ‘निजी क्षेत्रको मनोबल उकास्ने खालको बजेट नल्याए अवस्था झनै बिग्रेर जान्छ। वित्त र मौद्रिक नीति परस्परविरोधी हुनुभएन। निजी क्षेत्रमैत्री हुनुपर्‍यो।’

ओलीले राष्ट्रिय हितलाई सर्वोपरी ठानेर सरकारले नीति तथा कार्यक्रम ल्याउने भन्दै निजी क्षेत्रको समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएको चेम्बरले शुक्रबार जारि गरेको प्रेस विज्ञप्‍तिमा उल्लेख छ।