प्रधानमन्त्री दाहालले भने- वित्त र मौद्रिक नीति नियन्त्रणमुखी होइन, प्रवर्द्धनमुखी हुनुपर्छ

बिजमाण्डू
२०८१ बैशाख २८ गते १२:३९ | May 10, 2024
प्रधानमन्त्री दाहालले भने- वित्त र मौद्रिक नीति नियन्त्रणमुखी होइन, प्रवर्द्धनमुखी हुनुपर्छ
पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रको लगानीविना आर्थिक विकास सम्भव नहुने बताएका छन्।

Tata
GBIME
Nepal Life

उनले शुक्रबार नवलपरासीमा लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट’ शुभारम्भ गर्दै निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताए। उनले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्‍याए।

‘निजी क्षेत्रको लगानीबिना अर्थतन्त्र सवल हुन सक्दैन। उत्पादकत्व वृद्धि हुन सक्दैन। रोजगारीका अवसरहरू सिर्जना हुन सक्दैनन्,’ उनले भने, ‘देशभित्र लगानीको वातावरण निर्माण गर्न, निजी क्षेत्रलाई प्रवर्धन गर्न, लगानीका क्षेत्रहरूको सुरक्षा र सहजीकरणका निम्ति सरकार हरदम साथमा छ।’

उनले आर्थिक विकासका लागि उद्योगी व्यवसायीको मनोबल उच्च राख्ने प्रतिबद्धता जनाए।

नेपालमा नै एसेम्बलिङ गर्दा उपभोक्ताले सहुलियत मूल्यमा सवारीसाधन खरिद गर्न पाउनुका साथै आन्तरिक स्रोत एवं विद्युत्को खपत, स्थानीय विकासमा साझेदारी र कुल ग्रार्हस्थ उत्पादनमा समेत सकारात्मक योगदान पुग्ने प्रधानमन्त्रीले भन्नुभयो ।

उनले वित्त र मौद्रिक नीति व्यवसाय प्रवर्धनमा सघाउ पुर्‍याउने खालका हुनुपर्ने बताए। ‘हाम्रा वित्त र मौद्रिक नीति नियन्त्रणमुखी होइन, प्रवर्द्धनमुखी हुनुपर्छ। नीति नियमले उत्पादन र रोजगारी प्रवर्धनमा योगदान गर्न सक्नुपर्छ,’ उनले भने।