सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउनुपर्ने कांग्रेसको अडान कायमै, ‘गृहमन्त्रीको संलग्नता पुष्टि भइसक्यो’

बिजमाण्डू
२०८१ बैशाख २८ गते १२:२८ | May 10, 2024
सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउनुपर्ने कांग्रेसको अडान कायमै, ‘गृहमन्त्रीको संलग्नता पुष्टि भइसक्यो’

काठमाडौं। नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा सरकारलाई गम्भीर बन्न आग्रह गरेको छ। शुक्रबार संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए।

Tata
GBIME
Nepal Life

‘लाखौं नेपालीको अरबौ रुपैयाँ सहकारीहरुमा वचत गरिएको थियो। ती रकम अपचलन र ठगी भएको छ। यो नेपाली कांग्रेसकोमा चासोको विषय नभएर सम्पूर्ण नेपालीको चासो चिन्ताको विषय भइसकेको छ। नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पनि संलग्नता रहेको तथ्य प्रमाण देखिसकिएको छ,’ बैठकपछि लेखकले भने, ‘यो छानबिन स्वतन्त्र तरिकाले होस् भनेर हामीले संसदीय छानबिन समिति माग गरेका थियौ। पछिल्ला घटनाले यो माग ठीक थियो भन्ने पुनर्पुष्टि भएको छ।’

कांग्रेसले यस विषयमा सरकारलाई संवेदनशील बन्नसमेत चेतावनी दिएको छ। ‘हामी सरकालाई चेतावनी दिन चाहन्छौ। राज्यको अंगहरुलाई दुरुपयोग गर्ने काम नगरौं,’ लेखकले भने। संसदीय समिति कांग्रेसको बटमलाइन भएको उल्लेख गर्दै लेखकले सदन अवरोध भए सरकार जिम्मेवार हुनुपर्ने लेखकले बताए।