युरोपबाट लगानी भित्र्याउन जेठमा काठमाडौंमा ‘इयू-नेपाल व्यापार मञ्च’को बैठक हुने

बिजमाण्डू
२०८१ बैशाख २८ गते ११:१८ | May 10, 2024
युरोपबाट लगानी भित्र्याउन जेठमा काठमाडौंमा ‘इयू-नेपाल व्यापार मञ्च’को बैठक हुने

काठमाडौं । नेपालमा युरोपेली लगानी भित्र्याउन युरोपेली संघले सघाउने बताएको छ। नेपालका लागि संघका राजदूत भेरोनिक लोरेञ्जोले युरोपेली लगानी ल्याउन आगामी साता काठमाडौंमा ‘इयू–नेपाल व्यापार मञ्च’को बैठक हुन लागेको बताइन्।

Tata
GBIME
Nepal Life

नेपाल र युरोपेली संघबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वार्षिकोत्सव तथा युरोप दिवसका अवसरमा बिहीबार आयोजित समारोहमा लोरेञ्जोले नेपालको वैदेशिक लगानी अभाव परिपूति गर्ने उद्देश्यले आगामी जेठ २ र ३ गते काठमाडौंमा मञ्चको दोस्रो बैठक आयोजना गरिने जानकारी दिएकी हुन्।

बैठकमा नेपालका लगानीका सम्भावित क्षेत्रमा छलफल गर्न युरोपेली संघमा आबद्ध मुलुकका कम्पनीले भाग लिने उनले बताइन्। लोरेञ्जोले सन् २०२६ मा नेपाल अतिकमविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुनुपर्ने लक्ष्यका साथ अघि बढेकाले त्यसनिम्ति आर्थिक विकास र रोजगारीका अवसर सिर्जना गर्न आवश्यक भएको बताइन्। त्यसैले संघमा आबद्ध सदस्य देश र विकासका लागि युरोपेली वित्तीय संस्थाबाट नेपाललाई प्रदान गरिने सहायता ‘ग्लोबल गेट वे’मार्फत प्रवाह हुने उनले बताइन्।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपसभामुख इन्दिरा राना, सांसद, काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीका साथै नेपाल सरकारका अधिकारीहरूको उपस्थिति थियो।