सरकारले खर्च बढाउन थालेपछि ब्याजदर थप घट्ने, १५ दिनमै प्रणालीमा थपियो ५० अर्ब

बिजमाण्डू
२०८१ बैशाख २७ गते २१:२० | May 9, 2024
सरकारले खर्च बढाउन थालेपछि ब्याजदर थप घट्ने, १५ दिनमै प्रणालीमा थपियो ५० अर्ब

काठमाडौं। आगामी जेठ महिनामा बैंकहरुले निक्षेपको ब्याजदर थप घटाउने देखिएको छ। आर्थिक गतिविधिमा आएको सुस्ततासँगै कर्जाको माग बढ्न नसक्दा लागत कम गर्न बैंकहरुले निक्षेपको ब्याजदर घटाउने भएका हुन्।

Tata
GBIME
Nepal Life

हाल बैंक तथा वित्तीय संस्थामा साढे ४ खर्ब तरलता थुप्रिएको छ। साथै, सरकारले खर्च बढाउन थालेको छ। सरकारले खर्च बढाउन थालेका कारण पछिल्लो १५ दिनमा प्रणालीमा ५० अर्ब रुपैयाँ तरलता थपिएको राष्ट्र बैंकले जनाएको छ।

निरन्तर तरलता थपिँदै जाँदा कर्जा माग नहुने देखिएपछि जेठ महिनामा अधिकांश बैंकले ब्याजदर घटाउने तयारी गरिरहेका हुन्।

बैंकर्स संघका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका सीइओ सन्तोष कोइराला जेठमा ब्याजदर बढ्ने सम्भावना नभए पनि घटाउने वा स्थिर राख्न बैंकहरुकाे रणनीतिमा भर पर्ने बताउँछन्।

‘ब्याजदर बढ्ने आधार देखिँदैन। बरु, बैंकहरुले आफ्नो रणनीतिमा अनुसार घटाउने वा स्थिर राख्ने भन्ने होला,’ उनले भने, ‘अधिकांश बैंकले स्प्रेड आधार बनाएर घटाउने वा स्थिर राख्ने निर्णय गर्ने देखिन्छ।’

गत चैतमा सरकारले स्थानीय तहमा जाने अनुदानको रकम बैंकहरुलाई निक्षेपको रूपमा गणना गर्न नदिने व्यवस्था गरेको थियो।

त्यसपछि बैंकिङ प्रणालीबाट करिब ९५ अर्ब रुपैयाँ निक्षेप घटेको थियो। तैपनि वैशाखमा अधिकांश बैंकले ब्याजदर घटाए। हाल मुद्दती निक्षेपको औसत ब्याजदर ७.०७ प्रतिशत आएको छ।

एनआईसी एसिया बैंकका डेपुटी सीइओ अर्जुनराज खानिया अपेक्षाजनक रूपमा कर्जाको वृद्धि हुन नसक्दा आगामी महिना ब्याजदर थप घट्ने बताउँछन्।

उनले भने, ‘निक्षेपको तुलनामा कर्जाको वृद्धि हुन सकेको छैन। पर्याप्त तरलता हुँदा ब्याजदर घट्ने देखिन्छ।’ बैंकहरुले पछिल्लो केही महिनायता निक्षेपको ब्याजदर घटाउँदै जाँदा त्यसले उनीहरूको लागत घट्न गई कर्जा समेत सस्तिँदै आइरहेको छ।

पछिल्लो एक वर्षमा कर्जाको ब्याजदर २.२५ प्रतिशत विन्दुले घटिसकेको छ। २०७९ फागुनमा कर्जाको औसत ब्याजदर १३.०३ प्रतिशत रहेकोमा २०८० फागुनसम्म आइपुग्दा १०.७८ प्रतिशतमा झरेको छ।