अधिक तरलताका बेलामा पनि बैंकले किन बढी ब्याज दिएर लामाे अवधिको निक्षेप लिइरहेका छन्?

आकाश बोगटी
२०८१ बैशाख १८ गते ०६:०४ | Apr 30, 2024
अधिक तरलताका बेलामा पनि बैंकले किन बढी ब्याज दिएर लामाे अवधिको निक्षेप लिइरहेका छन्?

काठमाडौं। व्यवसाय बढाउन नसकेर तरलता थुप्रिएका बेला बैंकहरुबीच लामो अवधिको निक्षेपका लागि प्रतिस्पर्धा भइरहेको देखिएको छ।

Tata
GBIME
Nepal Life

कर्जा लगानी हुन नसकेर प्रणालीमा पैसा थुप्रिएपछि निरन्तर ब्याजदर घटाइरहेका बैंकले लामो अवधिको निक्षेपका लागि भने धेरै ब्याज दिएको पाइएको छ।

तरलता थुप्रिएपछि लागत घटाउन भन्दै बैंकहरुले केही महिनायता बचतसँगै छोटो अवधिको मुद्दतीको ब्याजदर घटाइरहेकामा लामो अवधिको मुद्दतीको ब्याज भने बढेको पाइएको हो। पछिल्लो ८ महिनामा २ वर्ष लामो अवधिको मुद्दती निक्षेपको औसत ब्याजदर ०.२० प्रतिशत विन्दुले बढेको छ।

फागुनसम्म वाणिज्य बैंकहरुमा २ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेप ८ खर्ब १० अर्ब रुपैयाँ छ। त्यसमध्ये १९ अर्ब ४ महिनामा थपिएको हो। गत असोजमा यस्तो निक्षेप ७ खर्ब ९१ अर्ब थियो।

निक्षेपकर्ताले १ देखि २ वर्षे मुद्दतीमा सबैभन्दा धेरै पैसा राखिरहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ। पछिल्लो ८ महिनामा १ देखि २ वर्ष अवधिको निक्षेप २ खर्ब ६७ अर्ब रुपैयाँ थपिएको छ।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक त्रिलोचन पंगेनी बैंकहरुले बढी ब्याज दिएर लामो अवधिको निक्षेप लिनुलाई दीर्घकालमा पैसाको समस्या नहोस् भन्ने चाहनाका रुपमा अर्थ्याउँछन्।

‘लामो अवधिको निक्षेपले लगानीको सुनिश्चिता हुने भयो। साथै, तत्कालै पैसा फिर्ता गर्न पनि परेन,’ उनले भने, ‘त्यसकारण बैंकहरुले लङ टर्म प्रोजेक्टमा लगानी रणनीति बनाउन सक्छन्।’

ब्याज केही महँगो भए पनि लामो अवधिको मुद्दती निक्षेपले दीर्घकालीन लगानी गर्न सहयोग पुग्ने उनको भनाइ छ।

‘परिस्थिति परिवर्तन भइरहने हुँदा बैंकहरुलाई लामो अवधिका लागि लिएको निक्षेपले पुँजी उपयोग गर्न र लङ टर्म प्रोजेक्टमा लगानी गर्न सहज हुन्छ,’ पंगेनीले भने।

फागुन मसान्तसम्म वाणिज्य बैंकहरुमा कूल ५३ खर्ब ४७ अर्ब निक्षेप छ। जसममध्ये साधारण बचत १५ खर्ब ३१ अर्ब र मुद्दती निक्षेप ३० खर्ब ८२ अर्ब रुपैयाँ हो।

‘बैंकहरुले एक बर्ष वा त्यसभन्दा कम अवधिको मुद्दति निक्षेप लिएर लामो अवधिको कर्जा लगानी गरेकाले पटक पटक तरलता अभाव हुँदा समस्या भोग्नु परेको थियो’ बैंकिङ विज्ञ बीएन घर्तीले भने, ‘बैंकहरुले अहिलेको अवस्थालाई मात्र नहेरेर भबिष्य पनि हेर्न थालेको देखिन्छ।’

घर्तीले आफ्नो किताव ‘बैंकिङ अनुशासन दिगो विकासका लागि’ मा पनि बैंकहरुले लामो अवधिको निक्षेप उठाउनु पर्छ भनेर विश्लेषण पनि गरेका छन्।

पछिल्लो ८ महिनामा निक्षेपको औसत ब्याजदर १.२६ प्रतिशत विन्दुले घटेको छ। साधारण बचतको औसत ब्याजदर १.३० प्रतिशत र मुद्दती निक्षेपको ०.७६ प्रतिशत विन्दुले घटेको हो।

३ देखि ६ महिना अवधिको मुद्दती निक्षेपको १.३९, ६ देखि १२ महिना अवधिको १.२ र १ देखि २ वर्षे अवधिको निक्षेपको ०.४२ प्रतिशत विन्दुले घटेको छ।

ग्लोबल आइएमई बैंकका डेपुटी सीइओ सुमन पोखरेल सम्पत्ति र दायित्व मिलाउन बैंकहरुले डिपोजिटको कम्पोजिसन मिलाउनुपर्ने बताउँछन्।

‘सम्पत्ति र दायित्व मिलाउन लङ टर्म डिपोजिट लिनुपर्ने हुन्छ। लङ टर्मको डिपोजिटको ब्याजदर केही बढी हुन्छ। लङ टर्म डिपोजिटलाई बढी ब्याज दिनुपर्ने प्रिन्सिपल पनि हो,’ उनले भने। लामो अवधिको पुँजीले बैंकहरुलाई दीर्घकालीन लगानीको योजना बनाउन सहयोग पुग्ने पोखरेलको भनाई छ।