
काठमाडौं। सिम्रिक एयरका क्याप्टेन रानेश डंगोलले मौसमी प्रतिकूलताका कारण हेलिकोप्टर रुट बाहिर उडान गरेको स्पष्टीकरण दिएका छन्।
उनले लुक्लाबाट काठमाडौं उडान गरेको हेलिकोप्टर मौसमी प्रतिकूलताका कारण दक्षिण पश्चिमतर्फबाट अवतरण गर्न खोजेको स्पष्टीकरण नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा बुझाएका छन्।
क्यानका एक अधिकृतले क्याप्टेन डंगोलले बुझाएको स्पष्टीकरणमा मौसमलाई कारण देखाइएको जानकारी दिए।
क्याप्टेन डंगोलले गत वैशाख १८ गते लुक्लाबाट काठमाडौं फर्किने क्रममा हेलिकोप्टर पूर्वतिरबाट ल्याउनुपर्नेमा दक्षिण पश्चिमबाट ल्याएका थिए। जसका कारण हेलिकोप्टरसँग कतार एयरवेजको जहाज झण्डै ठोक्किन पुगेको थियो।
सिम्रिक एयरले भने हेलिकोप्टर पाँच यात्रु लिएर काठमाडौं आउने क्रममा मौसम प्रतिकूल भएको र अवतरणपछि मात्र अर्को रुटमा उडान गरेको विषयमा थाहा पाएको जवाफ दिएको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।
कम्पनी र क्याप्टेन दुवैले स्पष्टीकरण बुझाए पनि क्यानले कारबाहीको निर्णय गरेको छैन।
ठूलो दुर्घटनाको जोखिम निम्त्याएका कारण क्याप्टेन डंगोललाई ३ देखि ६ महिना ग्राउण्डेड गर्न सकिने भुलले जानकारी दिए। यसैगरी अधिकतम २० हजार रुपैयाँ जरिवानाको निर्णय हुनसक्छ। क्याप्टेन डंगोल अहिले निलम्बनमा छन्।