मुद्दतीको रकम घट्न थाल्यो, छोटो अवधिको निक्षेप भएन नवीकरण, कर्जा सस्तिने

आकाश बोगटी
२०८१ जेठ २ गते १७:२७ | May 15, 2024
मुद्दतीको रकम घट्न थाल्यो, छोटो अवधिको निक्षेप भएन नवीकरण, कर्जा सस्तिने

काठमाडौं। बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेप घट्न थालेको छ। गत वर्ष तरलता अभाव हुँदा महँगोमा उठाएको निक्षेप परिपक्व हुन थालेसँग मुद्दतीको रकम घट्न थालेको हो।

Tata
GBIME
Nepal Life

फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थामा ३६ खर्ब १० अर्ब रुपैयाँ मुद्दती निक्षेप रहेकोमा चैतमा ७ अर्बले घटेर ३६ खर्ब ३ अर्ब कायम भएको छ। छोटो अवधिका निक्षेप परिपक्व भएपछि नवीकरण नगरिएका कारण वैशाखमा त्यस्तै रकम अझै कम भएको बैंकरहरुले बताएका छन्।

मुद्दती निक्षेप घट्दा साधारण बचत भने बढेको छ। फागुनमा १७ खर्ब १७ अर्ब रुपैयाँ रहेको साधारण बचत खाताको रकम चैतमा १७ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ।

प्रभु बैंकका डेपुटी सीइओ मनिराम पोखरेल छोटो अवधिको निक्षेप परिपक्व हुन थालेकाले मुद्दतीको रकम घट्न थालेको बताए। अधिक तरलता भएको बेलामा मुद्दती निक्षेप घट्दा त्यसले कर्जाको ब्याजदर कम गर्न मद्दत मिल्ने उनको भनाइ छ।

मुद्दती निक्षेप घट्दा बैंक तथा वित्तीय संस्थाको लागत कम हुन्छ। निक्षेपको लागत घटेपछि त्यसले बैंक तथा वित्तीय संस्थाको आधार दर परिवर्तन हुन्छ। आधार दर कम भएपछि कर्जाको ब्याजदर सस्तो हुन्छ।

विगतमा बचतको तुलनामा मुद्दती निक्षेपको वृद्धिदर धेरै हुँदा निक्षेपको ब्याजदर उच्च दरले घट्दा समेत कर्जा अपेक्षाजनक रूपमा सस्तिन सकेको थिएन।

हाल बैंक तथा वित्तीय संस्थाहरुमा साढे ४ खर्ब तरलता छ। गत वर्ष तरलता अभाव हुँदा बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर बढाएर १२ प्रतिशत पुर्‍याएका थिए। ब्याजदर बढाइएपछि तरलता सहज भएपनि कर्जा अपेक्षा अनुसार बढ्न नसकेपछि बैंक तथा वित्तीय संस्थाको लागत महँगो हुन पुगेको थियो।

नेपाल राष्ट बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा मुद्दती निक्षेपको हिस्सा घट्दै गएपछि बैंक तथा वित्तीय संस्थाको लागत कम भइ कर्जाको ब्याजदर सस्तिने बताउँछन्।

‘तरलता थुप्रिएसँगै पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाउँदै आएका छन्,’ उनले भने, ‘एकातिर निक्षेपको ब्याजदर घटिरहेको छ अर्कातिर पोहोर एक वर्ष अवधिका लागि लिएको मुद्दती परिपक्व भइरहेको छ। परिपक्व भएको मुद्दती ब्याजदर घटेका कारण नवीकरण नभएको हो। अब कर्जा सस्तिन्छ।’