वेस्ट इण्डिज ‘ए’लाई हराउँदै सिरिजमा नेपालको विजयी सुरुवात, रोहितको सानदार शतक

बिजमाण्डू
२०८१ बैशाख १५ गते १६:२६ | Apr 27, 2024
वेस्ट इण्डिज ‘ए’लाई हराउँदै सिरिजमा नेपालको विजयी सुरुवात, रोहितको सानदार शतक
वेस्ट इण्डिज 'ए' विरुद्ध ब्याटिङ गर्दै नेपालका कप्तान रोहितकुमार पौडेल। तस्बिर: क्यान

काठमाडौं। नेपाली क्रिकेट टोलीले वेस्ट इण्डिज ‘ए’लाई हराएको छ। ५ खेलको टी-२० सिरिज खेल्न नेपाल आएको वेस्ट इण्डिज ‘ए’लाई पहिलो खेलमा नेपालले ४ विकेटले हराएको हो।

Tata
GBIME
Nepal Life

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर नेपालका कप्तान रोहित पौडेलले पाहुना टोलीलाई ब्याटिङको निम्ता दिएका थिए।

सुरुवाती ब्याटिङमा उत्रिएको वेस्ट इण्डिज टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ४ रनको विशाल स्कोर खडा गर्‍यो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले २ बल बाँकी छँदा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो।

नेपाल र वेस्टइण्डिज ‘ए’ बीचको खेल हेर्न पुगेका समर्थक। तस्बिर: क्यान

विशाल लक्ष्य पछ्याएको नेपालले ब्याटिङमा सुरुवात भने औशत मात्र गरेको थियो। २.१ ओभरमा पहिलो विकेटका रुपमा अनिल कुमार साह ५ रन बनाएर पभेलियन फर्किँदा अर्का ओपनर कुशल भुर्तेल ४.५ ओभरमा १६ रन बनाउँदै जोखिमपूर्ण सर्ट खेल्ने सुरमा आउट भए।

तेस्रो नम्बरमा आएका कप्तान रोहितकुमार पौडेलले नेपाललाई लक्ष्यसम्म पुर्‍याउन सबैभन्दा महत्त्वपूर्ण भूमिका खेले। कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, विवेक यादव र गुल्सन झासँग साझेदारी गर्दै उनले ११२ रनको शतकीय इनिङ्स खेले। यसक्रममा उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गरे।

वेस्ट इण्डिजविरुद्ध ब्याटिङ गर्दै दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेल। तस्बिर: क्यान

रोहित बाहेक दीपेन्द्रसिंह ऐरीले २४ रन बनाउँदा कुशल भुर्तेल र कुशल मल्लले समान १६ रन बनाए। त्यस्तै, गुल्सन झा ९ र प्रतिस जिसी ५ रनमा अविजित रहे। बलिङतर्फ वेस्ट इण्डिजका म्याथ्यु फोर्डे र ओबेड म्याकोइले समान २ विकेट लिँदा किमो पलले १ विकेट लिए।

वेस्ट इण्डिजको इनिङ्स

त्यसअघि सुरुवाती ब्याटिङ गरेको वेस्ट इण्डिज ‘ए’ले नेपालसामू विशाल स्कोर बनाउन सफल भएको थियो। ५ खेलको टी-२० सिरिज खेल्न पहिलो पटक नेपाल आएको वेस्ट इण्डिजले आज २०४ रनको विशाल स्कोर खडा गरेको थियो।

टसका क्रममा नेपाल र वेस्ट इण्डिज ‘ए’ का कप्तान। तस्बिर: क्यान

कीर्तिपुरस्थित त्रिभुवन विश्‍वविद्याल क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेको थिए। सुरुवाती ब्याटिङ गरेको वेस्ट इण्डिज ‘ए’ले ५ विकेट गुमाउँदै २०४ रन बनाएको हो।

पहिलो ओभरमै कमल सिंह ऐरीले नेपाललाई पहिलो सफलता दिलाएका थिए। उनले जोन्सन चार्सलाई डकआउट गराएका थिए। त्यस्तै दोस्रो विकेटका रुपमा १३ रन बनाएका आन्द्रे फ्लेचर ३.३ ओभरमा रन आउट हुन पुगे।

विकेट सेलिब्रेट गर्दै नेपालका खेलाडी। तस्बिर: क्यान

वेस्ट इण्डिजका लागि सर्वाधिक रन रोस्टन चेजले बनाए। उनले ४६ बलमा ७४ रन बनाउँदा केसी कार्टीले ३८ तथा एलिक अथानाजीले ४७ रन बनाए।

बलिङतर्फ नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अभिनास बोहराले समान १ विकेट लिए।

सिरिजअन्तर्गतको अर्को खेल भोलि नै हुनेछ।