एमालेसँग सरकार गठनको वार्तामा रहेको कांग्रेसको स्पष्ट संकेत, रवि अत्तिँदा एकै ठाउँमा शीर्ष नेता

नेत्र तामाङ
२०८१ बैशाख २६ गते २१:०७ | May 8, 2024
एमालेसँग सरकार गठनको वार्तामा रहेको कांग्रेसको स्पष्ट संकेत, रवि अत्तिँदा एकै ठाउँमा शीर्ष नेता
फाइल फोटो

काठमाडौं। प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल भएर पनि सत्ताको नेतृत्व गर्न नपाएर छटपटाएको कांग्रेस एमालेसँग मिलेरै भए पनि नेतृत्व परिवर्तन गराउने योजनामा लागेको छ।

Tata
GBIME
Nepal Life

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बनाएर सरकार ढलाउने योजना असफल भएपछि कांग्रेस अर्को योजनामा लागेको हो।

उपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी- (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई गलाएरै भए पनि नयाँ सरकार निर्माणको वातावरण तयार गर्न कांग्रेस लागिपरेको छ।

बुधबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आफैंले डाकेको पत्रकार भेटघाटमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेसले चाँडै सरकारको नेतृत्व लिने संकेत गरेका हुन्।

‘जनताको अपेक्षा कांग्रेस र एमाले मिलेर सरकार बनाओस् भन्ने छ। एमाले र कांग्रेसका केही नेताको चाहना पनि देखिएको छ,’ लेखकले भने।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक

कांग्रेस संस्थापन इतरका नेता डा शेखर कोइरालाले धेरै अघिबाट स्थिर सरकारका लागि कांग्रेस र एमाले मिल्नुपर्ने धारणा राख्दै आएका छन्। पछिल्लो दिनहरूमा डा शेखर कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटमा समेत यस विषयमा छलफल भएको बताइन्छ।

सार्वजनिक कार्यक्रमहरूमा संविधान निर्माणको प्रसंग उल्लेख गर्दै एमाले र कांग्रेस मिल्नुपर्नेमा जोड दिन्छन्। ‘२०७० को दोस्रो संविधान सभामा जब कांग्रेस र एमाले पहिलो र दोस्रो पार्टी भए, कांग्रेस र एमाले एकै ठाउँमा उभिए अनि संविधान जारी भयो। अहिले पनि कांग्रेस र एमाले एक ठाउँमा उभिनुपर्छ,’ कोइराला भन्छन्।

कांग्रेसका प्रमुख सचेतक लेखक पनि कुनै पार्टीको बहुमत नपुगेको अवस्थामा साना दलहरूलाई भागबण्डा पुर्‍याउनुपर्दा सत्ता फेरबदल भइरहने अवस्था आएको बताउँछन्। यस्तो अवस्थामा दुई ठूला दल मिल्दा स्थिरता आउने उनको भनाई रह्यो।

लामिछानेको आत्तिँदा एक ठाउँमा उभिँदै कांग्रेस

कांग्रेसमा संस्थापन पक्ष र संस्थापनइतरबीच सत्तामा जाने विषयमा मारमुङ्ग्री हुने गर्छ। अहिलेको अवस्थामा बालुवाटारतिर हेर्नै नहुने महामन्त्री गगन थापा बताउँछन्। ‘२०८१ साल एक वर्ष नेपाली कांग्रेसले बालुवाटारतिर हेर्दै नहेरोस्। बालुवाटार आयो कि आँखा चिम्म गरेर अघि गइहाल्ने। सिंहदरबारतिर पनि हेर्दै नहेर्ने। एक वर्ष २०८१ माओवादी, एमाले साथी मिलेर सरकार चलाउनुस्,’ कैलाली पुगेर वैशाख पहिलो हप्ता गगनले भनेका थिए।

संस्थापन इतरका नेता डा कोइराला पनि कांग्रेसले प्रतिपक्षमै बसेर जनताको सेवा गर्नुपर्ने बताउँछन्।

तर गृहमन्त्री लामिछाने सहकारी प्रकरणमा मुछिएको विषयले भने कांग्रेसका यी दुई समूह एक ठाउँमा उभिएको छ।

कांग्रेसले यस प्रकरणमा लामिछानेमाथि छानबिन आवश्यक देखिएको भन्दै संसदीय समितिको माग जारी राखेको छ। बजेट अधिवेशनमा पनि कांग्रेसले यो माग जारी राख्ने देखिएपछि सभामुख देवराज घिमिरेले मंगलबार परिस्थिति सहज बनाउन बैठक डाकेको थियो। उक्त बैठकमा कांग्रेसले समिति बनाउन माग गरे पनि रास्वपाले अस्वीकार गरेको थियो।

सभामुख देवराज घिमिरेद्वारा आह्वान भएको सर्वदलीय बैठक

‘एकै पटक मान्छेलाई थुनेर ढ्यामढुम गरेर कहीँ बोल्नै नदिने सफाइको मौका त मृत्युदण्ड दिएर फाँसीमा झुन्डाएको मान्छेले पनि पाउँछ होला नि त,’ बैठकपछि गृहमन्त्री लामिछानेले भनेका थिए, ‘प्रहरीमा निवेदन छैन।

महान्यायाधिवक्ता कार्यालयबाट बुझ्दा कुनै अदालतमा प्रतिवादी बनाइएको छैन। कहीँ कसैले बयानमा पोलेको छैन। उठायो, ढ्यामढुम उठ्यो। एकै पटक छेकियो । बोल्न, स्पष्टीकरण आफ्ना कुराहरू राख्न कहीँ पनि पाइएन। सिधै समिति चाहियो। यस्तो हुन्छ र? संसदीय अभ्यास यो हो र?’

कांग्रेसको मागको संसदीय समिति बेकारको कुरा भएको गृहमन्त्री लामिछानेको तर्क रह्यो।

‘अदालतले भ्रष्टाचार गरेको प्रमाणित गरेको मान्छे सदनमा आउने अनि कुनै उजुरी नै नपरेको मान्छेको नाममा समिति बनाउनुपर्ने यही हो नजिर?’ सर्वदलीय बैठकपछि लामिछानेले प्रश्न गरे।

गृहमन्त्री रवि लामिछाने

यति मात्र हैन लामिछानेले आफू सहकारी प्रकरणमा नमुछिएको भन्दै महान्यायाधिवक्ताको कार्यालयबाट ‘क्लिन चिट’ बनाउन लगाएर सभामुखसामु सदनमा बोल्न पाउन माग गरेका छन्।

लामिछानेको पछिल्लो क्रियाकलापले उनी आत्तिएको देखिएको कांग्रेसका नेताहरू बताउँछन्। कांग्रेसमा अहिले सत्ता गुमेको पीडा संस्थापन पक्षलाई छ भने सत्ता खोसेको आरोप संस्थापन इतरलाई। महामन्त्री गगन थापामाथि धेरैजसो कांग्रेस नेताले गठबन्धन भत्काएर अहिले कांग्रेस रित्तो हात बस्नुपरेको दोष थोपरेका छन्।

यस कारण पनि सत्तामा जाने वातावरण बनाउन गगनलाई समेत प्रेसर बढेको उनी पक्षीय नेताहरू बताउँछन्। सहकारी प्रकरणमा लामिछानेको संलग्नतालाई लिएर दुई गुटको मिलन र सत्ता प्राप्तिको विषयमा दुवै गुट सहमतिनजिक पुगिसकेको नेताहरू बताउँछन्।

कांग्रेस उपसभापति धनराज गुरुङले संसदीय समिति बन्नै पर्नेमा जोड दिए।

‘संसदीय छानबिन समिति बन्नै पर्छ। अबको अधिवेशन सरकारले चलाउने गरी आउँछ आउँदैन यो सरकारको हातमा छ,’ बुधबार पदाधिकारी बैठकपछि उपसभापति गुरुङले भने।

बजेट अधिवेशन पूर्व कांग्रेसको तयारीबारे छलफल गर्न बुधबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो निवास बुढानिलकण्ठमा पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक डाकेका थिए।

यस विषयमा कांग्रेसले संसदीय समितिमा लामो समय छलफल गर्ने तयारीसमेत गरेको छ। हरेक सांसदको राय बुझ्न कांग्रेसले बिहीबार दिउँसो २ बजेबाट साँझ ७ बजेसम्मै संसदीय समितिमा छलफल चलाउने प्रमुख सचेतक लेखकले बताए।

‘बिहीबार ल्होत्से हलमा कांग्रेसको संसदीय समिति छ। सांसदहरूले पछिल्लो राजनीतिक अवस्था र कांग्रेसले गर्नुपर्ने भूमिकाबारे आफ्नो राय राख्न प्रशस्त समय पाउनुहुनेछ,’ लेखकले भने।

यसअघि कांग्रेसले बिहीबार नै संसदीय दलको कार्यसम्पादन समिति बैठक डाकेको छ।