प्रोपर्टी इन्स्योरेन्सतिर सिफ्ट हुँदै कम्पनी, सम्पत्ति बीमा अनिवार्य गराउन प्राधिकरणको लबिङ

सुनिल कुँवर
२०८१ बैशाख २७ गते ०६:१३ | May 9, 2024
प्रोपर्टी इन्स्योरेन्सतिर सिफ्ट हुँदै कम्पनी, सम्पत्ति बीमा अनिवार्य गराउन प्राधिकरणको लबिङ

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरु व्यवसाय बढाउन सम्पत्ति बीमा (प्रोपर्टी इन्स्योरेन्स)तिर केन्द्रित भएका छन्।

Tata
GBIME
Nepal Life

प्रिमियमको तुलनामा दाबी भुक्तानी न्यून भएका कारण व्यावसायिक हिसाबले लाभ देखेर कम्पनीहरु सम्पत्ति बीमा पोलिसी बिक्रीमा केन्दित भएका हुन्। अधिकांश बीमा कम्पनीले घर बीमा योजना ल्याइ पोलिसी बेचिरहेका छन्।

विगतमा मोटर बीमामा केन्द्रित रहेको निर्जीवन बीमा व्यवसायलाई कम्पनीहरुले अब प्रोपर्टी इन्स्योरेन्सतिर सिफ्ट गर्न थालेका हुन्।

मोटर तथा सवारीले धानेको निर्जीवन बीमा बजारमा प्रोपर्टी इन्स्योरेन्सको हिस्सा बढ्दै गएको नेपाल बीमा प्राधिकरणको तथ्यांकले देखाउँछ।

प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष ९ महिनामा कम्पनीहरुले सम्पत्ति बीमा व्यवसाय ११.१५ प्रतिशतले बढाएका छन्। यो अवधिमा निर्जीवन बीमा व्यवसायमा सम्पत्ति बीमाको हिस्सा २४.६३ प्रतिशत पुगेको छ। इन्स्योरेन्स कम्पनीहरुले यो वर्ष ९ महिनामा सम्पत्ति बीमाबापत ७ अर्ब ४२ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन्।

पोहोर ९ महिनामा निर्जीवन बीमा व्यवसायमा सम्पत्ति बीमाको हिस्सा २२.२६ प्रतिशत थियो। त्यतिखेर कम्पनीहरुले सम्पत्ति बीमाबापत ६ अर्ब ६८ करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए।

मोटर बीमाको व्यवसाय र हिस्सा घट्न पुगेको छ। यो व्यवसाय ६ प्रतिशतले खस्किएको छ। गत आर्थिक वर्ष चैतसम्म निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा ३२.९४ प्रतिशत रहेकामा अहिले ३०.८० प्रतिशतमा झरेको छ।

यो वर्ष चैतसम्म मोटर बीमाको प्रिमियमबापत ९ अर्ब २८ करोड रुपैयाँ उठाएका कम्पनीले पोहोर ९ महिनामा ९ अर्ब ८८ करोड रुपैयाँ संकलन गरेका थिए।

बीमकहरुका अनुसार मोटर बीमामा उच्च दाबीका कारण कम्पनीहरुलाई व्यावसायिक रुपमा धेरै लाभ छैन। त्यही कारण व्यावसायिक रुपमा लामो अवधिसम्म टिक्नतिर ध्यान केन्द्रित गरेको उनीहरुको भनाइ छ।

सानिमा जीआईसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले प्रोपर्टी इन्स्योरेन्स कम्पनीहरुका लागि अहिले राम्रो बिजनेस भएको बताए।

‘होम इन्स्योरेन्समा दाबी अनुपात न्यून छ। भूकम्प वा अन्य ठूलो जोखिम भए धेरै पर्ने हो,’ उनले भने, ‘कम्पनीहरुका लागि राम्रो बिजनेस भएकै कारण यो प्रडक्ट सबैले बिक्री गरिरहेका छन्।’

हाल १४ निर्जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनी छन्। ती अधिकांश कम्पनीको रोजाइमा घर बीमा योजना पर्न थालेको छ।

एनएलजी इन्स्योरेन्सले एनएलजी घर सुरक्षा बीमा योजना ल्याएको छ। शिखरले घर बीमा, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सम्पत्ति बीमा, सानिमा जीआईसीले प्रोपर्टी बीमा र आइजीआई प्रुडेन्सियलले सम्पत्ति बीमा योजनाको पोलिसी बिक्री गरिरहेका छन्।

समयअनुसार नयाँ प्रडक्टसहित आफूलाई रुपान्तरण गरे मात्रै व्यावसायिक रुपमा सस्टेन गर्न सकिने बीमक बताउँछन्।

‘व्यवसाय सस्टेन गर्न पहिले कम्पनी टिक्न सक्ने हुनुपर्छ। सीमित प्रडक्ट बेचेर मात्रै रिस्क कभर गर्न सकिंदैन। त्यसैले कम्पनीहरु जहिले पनि बजार र माग अनुसारको प्रडक्टतिर जानुपर्छ भन्ने सिद्धान्त हो,’ एक कम्पनीका सीइओले भने,  ‘अहिले घर तथा सम्पत्तिलाई बीमाको दायरामा ल्याउन उपयुक्त समय छ। यो व्यावसायिक दृष्टिले कम्पनीका लागि ठूलो हिस्सा समेत हो।’

नियामक प्राधिकरण कम्पनीहरुलाई घर तथा सम्पत्ति बीमा अनिवार्य बनाउनुपर्ने नीतिमा छ। ‘जलवायु परिवर्तन र प्राकृतिक विपद्‍का कारण घर तथा सम्पत्तिको जोखिम बढ्दै गइरहेकाले अनिवार्य रुपमा बीमा गर्ने व्यवस्था गराउनुपर्छ भन्ने प्राधिकरणको धारणा छ,’ प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘बीमा कम्पनीलाई पनि त्यसै अनुसारका प्रडक्ट ल्याउन प्रोत्साहन भइरहेको छ। सरकारले अब यसलाई प्राथमिकतामा राख्नु पर्छ।’

प्राधिकरणले गत असोजमा सम्पत्ति बीमा निर्देशन जारी गरी बीमादर तय गरेको छ। निर्देशन अनुसार कम्पनीहरुलाई सम्पत्ति र जोखिमको प्रकृति अनुसार बीमा शुल्क दर निर्धारण गरिएको छ। विपद्‍को जोखिम बढ्दै गएको भन्दै प्राधिकरण घर तथा सम्पत्तिको अनिवार्य बीमा गराउनुपर्ने व्यवस्था गर्नतिर लागेको छ।

प्राधिकरणले आगामी आर्थिक वर्षको बजेटमार्फत घर तथा सम्पत्तिको अनिवार्य बीमा गराउनुपर्ने घोषणा गर्न अर्थ मन्त्रालयमा सुझाव पेस गरिसकेको छ। उसले यसका लागि आवश्यक कानुन निर्माण तथा संशोधनको माग गरेको छ।